site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
त्रिपाठीमाथि आक्रमण : रास्वपाले भन्यो– पक्राउ परेका एकजना मात्र पार्टी सदस्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गरी पक्राउ परेका मध्ये महेन्द्र पाण्डे भनिने महानन्द जैसी मात्र आफ्नो सदस्य भएको जनाएको छ । ललितकुमार केसी र शीतल उर्फ सीता राई भने पार्टी सदस्य नभएको रास्वपाले स्पष्ट पारेको छ ।

रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आक्रमणमा संलग्न भएको प्रमाणित भए तत्काल पार्टीले कारबाही गर्ने बताए । महेन्द्र भनिने महानन्द घटनास्थलमा उपस्थित भए पनि आक्रमणमा संलग्न नभएको उनले जिकिर गरे । त्यही कारण उनलाई पार्टीको कारबाही नगरिएको बुर्लाकोटीले बाह्रखरीलाई जानकारी दिए ।

पक्राउ परेका महानन्द रास्वपा हुम्लाको संस्थापक उपसभापति हुन् । रास्वपाको संगठन विस्तार नहुँदै स्वस्फूर्त घोषणा गरिएको रास्वपा जिल्ला कार्यसमितिमा महानन्द उपसभापति थिए । हाल उनी रास्वपाका सक्रिय सदस्य हुन् ।

पछिल्लो समय उनी रास्वपा केन्द्रीय कार्यालयमा नियमित आउनेजाने गरेका थिए । सभापति रवि लामिछानेविरुद्ध कसैले तर्क गरेमा उनी आक्रामक हुने गरेको रास्वपा नेताहरूको भनाइ छ ।

बुर्लाकोटीका अनुसार, पक्राउ परेका अर्का व्यक्ति दोलखाको तामाकोसी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसीले रास्वपा सदस्यताका निम्ति आवेदन दिएका छन् । तर, उनको सदस्यता पार्टीले स्वीकृत गरेको छैन ।

झापाकी सीतादेवी राई भने रास्वपाको सदस्य नभएको बुर्लाकोटीले जानकारी दिए ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेविरुद्धको मुद्दामा जाहेरवाला (सहकारीपीडित)का तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरिएको थियो । यही माघ २ गते गरिएको आक्रमणविरुद्ध त्रिपाठीले प्रहरीमा उजुरी दिएपछि अनुसन्धान जारी छ ।

अनुसन्धानका क्रममा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । उनीहरूविरुद्ध मुद्दा चलाउने/नचलाउने निर्णय भइसकेको छैन ।

रास्वपाले आक्रमणमा संलग्न व्यक्ति पार्टीको सदस्य भए कारबाही गर्ने भनेर त्यसै दिन विज्ञप्ति जारी गरेको थियो । पार्टीको अनुसन्धान आयोगको समेत ध्यानाकर्षण भएको भन्दै रास्वपाले दोषी देखिएकालाई तत्काल कारबाही गर्ने भनेको थियो ।

अनुसन्धान आयोगका अध्यक्ष भरत देवकोटाका अनुसार, दोषी किटानीका निम्ति आयोगले अझसम्म अनुसन्धान गरिसकेको छैन । अनुसन्धानबाट ठहर भएबमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १३:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro