काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वैदेशिक सहायतामा दलीय प्रस्टतासहित क्षमता विकासमा काम गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागले बुधबार गरेको कार्यक्रममा महामन्त्री शर्माले क्षमताविहीन वैदेशिक सहायताले परिणाम नदिने बताए ।
हुलाकी राजमार्ग, बुटवल–नारायणगढ सडक, पोखरा विमानस्थलसहितका आयोजनाले देशको निर्णय क्षमता र निर्माण क्षमतामा प्रश्न उठाइरहेको उनको भनाइ थियो । यही कारण राज्यको क्षमता विकासमा काम हुनुपर्ने अवश्यकता देखिएको उनले बताए ।
त्यसबाहेक एउटै वैदेशिक सहयोगमा सरकारमा हुँदा र सरकारबाट बाहिरिएपछि फरक दृष्टिकोण हुने अवस्थाले देशको भविष्य अन्योलमा धकेलेको भन्दै यसमा साझा राजनीतिक समझदारीमा राष्ट्रिय नीति आवश्यक रहेको बताए ।