आइतवार बिहानै सुरु हुने भनिएको इजरायल(हमास युद्धविराम दुई घन्टा विलम्ब हुँदा मध्यपूर्वमा पुनः निराशा र अत्यास सुरु भएको थियो । धन्न हमासले तीन जना बन्धकको नाम सार्वजनिक गरेपछि युद्धविराम विधिवत् आरम्भ भएको छ ।
प्यालेस्टाइनी अर्धसैनिक समूह हमासले सन् २०२३ अक्टोबर ७ मा दक्षिण इजरायलमा एउटा संगीत उत्सवमा आक्रमण गरेर करिब १ हजार २०० को हत्या तथा २५१ जनालाई बन्धक बनाएपछि पछिल्लो युद्ध सुरु भएको थियो । त्यस यता १५ महिनामा करिब ४७ हजार बढीको मृत्यु भएको बताइएको छ ।
युद्धमा विशेषगरी इजरायलको सैनिक कारबाहीमा गाजा पट्टीमा भयावह विध्वंश भएको छ । संयुक्त राष्ट्रसंघको स्थानीय कार्यालयका अनुसार ६९ प्रतिशत भौतिक संरचना र ६८ प्रतिशत सडक क्षतिग्रस्त भएको छ । विस्थापितहरूको सङ्ख्या र अवस्थाको त यकिन विवरण सङ्कलन पनि हुनसकेको छैन ।
इजरायलमा नेपालीको कामदार, विद्यार्थीलगायतको ठूलै सङ्ख्या रहेको छ । त्यसमाथि नेपाली विद्यार्थी विपिन जोशीलाई हमासले बन्धक बनाएकाले नेपाललाई थप चिन्तित बनाएको थियो । पटकपटक बन्धक रिहा गर्दा पनि जोशी हमासको कब्जाबाट मुक्त गरिएका छैनन् । यसैले युद्धविरामले नेपालमा पनि आशाको सञ्चार भएको छ ।
नेपाल सरकारले विपिनको रिहाइका लागि प्रयास गरी त रहेकै थियो । तर, नेपालको कूटनीतिक हैसियतका कारणले हो कि हमासले विपिनको रिहाइ गरेन । इजरायलका राष्ट्रपतिसमक्ष समेत नेपालका राजदूतले विपिनको रिहाइका लागि सहयोग मागेको समाचार हालै सार्वजनिक भएको थियो ।
आशा गरौँ, इजरायल(हमास युद्धविराम स्थायी बनोस् र प्यालेस्टाइनको समस्या शान्तिपूर्णरूपमा समाधान होस् । नेपाल सरकारले युद्धविरामको स्वागत त गरिसकेको छ । विपिनको रिहाइ नहुँदासम्म बढी नै चनाखो पनि रहोस् । कामना गरौँ विपन जोशी सकुशल छिटै नेपाल फर्किउन् ।