काठमाडौं । हङकङको क्याथे प्यासिफिक एयरलाइन्सको खानाका कारण यात्रुलाई 'फुड पोइजनिङ' भएको घटनाबारे छानबिन गर्न नेपालका तर्फबाट समिति गठन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको इन्फोसान सचिवालयका शाखा प्रमुख सुमन धितालको संयोजकत्वमा आइतबार चार सदस्यीय समिति गठन गरिएको हो ।
खाद्य स्वच्छता नियामक निकायहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्फोसानसम्बन्धी बैठकले सात दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरेको हो ।
क्याथे प्यासिफिक एयरलाइन्समार्फत काठमाडौंबाट हङकङका लागि जनवरी ८ र ९ मा उडान भरेका १८ यात्रुलाई 'फुड पोइजनिङ' भएको थियो । घटनाबारे इन्फोसानको सचिवालयले चासो राख्दै इमेल पठाएपछि विभागले अनुसन्धान थालेको हो ।
उडानको दुई दिनसम्म अस्वस्थ भएपछि यात्रुलाई हङकङकै नर्थ लन्ताउ हस्पिटलमा उपचार गरिएको थियो ।
हङकङको ध्जवाबाहक कम्पनी क्याथे प्यासिफक एयरलाइन्सले विज्ञप्ति जारी गरेर माफी मागिसकेको छ ।
हेर्नुहोस् प्रेस नोट
नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग
बबरमहल, काठमाडौं
मितिः २०८१।०९।२८
काठमाडौं - हङकङ उडान भएको Cathay Pacific Airlines को यात्रुहरुलाई खाद्य विषाक्तता भएको सम्वन्धमा प्रेस नोट
विश्व खाद्य कार्यक्रम (FAO) तथा विश्व स्वास्थ्य संगठन (WHO) वाट संयुक्त रुपमा खाद्य स्वच्छता नियामक निकायहरुको अन्तराष्ट्रिय संजाल International Food safety authority Network (IFOSAN) संचालनमा रहेको र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उक्त INFOSAN को इमरजेन्सी कन्ट्याक्ट पोइन्टको रुपमा कार्य गरिरहेको छ।
मिति २०२५ जनवरी ११ मा IFOSAN Secretariat वाट प्राप्त इमेल जानकारी अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंवाट हङकङ उडान भएको Cathay Pacific Airlines को मिति २०२४ जनवरी ०८ गते उडानमा रहेको १० जना र २०२४ जनवारी ०९ गते उडानमा रहेको १८ जना यात्रुहरुलाई खाद्य विषाक्तता (Food Poisoning) भएको जानकारी प्राप्त भएको छ। सो सम्वन्धमा विभागका महानिर्देशक श्री संजीव कुमार कर्णज्यूको अध्यक्षतामा मिति २०८१ पौष २८ गते बसेको इन्फोसान सम्वन्धी बैठकको निर्णयानुसार विस्तृत विवरण सहितको अध्ययन प्रतिवेदन ७ दिन भित्र विभागलाई बुझाउन विभागका ब. खा. अ. अ. एवं कोडेक्स तथा इन्फोसान सचिवालयका शाखा प्रमुख श्री सुमन धितालको संयोजकत्वमा चार सदस्यीय समित गठन गरी कार्यादेश दिएको व्यहोरा सबैमा जानकारीका लागि यो प्रेस नोट जारी गरिएको छ।
साथै विमानस्थल परिसर भित्र संचालन गर्ने खाद्य व्यवसायल तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायकले यात्रुहरुको लागि उपलब्ध गराइने खाद्य पदार्थको स्वच्छता र गुणस्तरीयता सुनिश्चितता गरी सेवा प्रदान गर्न गराउन सम्वन्धीत सबैमा जानकारी गराइन्छ।
मोहन कृष्ण महर्जन
प्रवक्ता
२०८१/०९/२८