काठमाडौं । घर–जग्गा व्यवसायी विक्रम लामामाथि भएको आक्रमण घटनाको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले लामामाथि भएको आक्रमण घटनाको अनुसन्धान प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं बुझाएको हो ।
शुक्रबार मात्रै प्रहरीले लामामाथि आक्रमण गर्ने समूहका एकजनालाई पक्राउ गरेको थियो । पक्राउ परेकासहित केही फरार व्यक्तिलाई प्रतिवादी बनाएर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको हो । लामामाथि आक्रमण गर्ने सिजन अधिकारीलाई प्रहरीले भारतको दिल्लीबाट पक्राउ गरी नेपाल ल्याएको थियो ।
दिल्ली विमानस्थल हुँदै दुबई जाने तयारीमा रहेका उनलाई त्यहीँबाट पक्राउ गरेर ल्याइएको हो । गोरखाको आरूघाट गाउँपालिका–८ का २९ वर्षीय सिजनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दिल्लीस्थित पहाडगञ्जबाट पक्राउ गरेर नेपाल ल्याएको हो ।
यद्यपि, प्रहरीले भने उनलाई नेपाल–भारत सीमाक्षेत्र कञ्चनपुरबाट पक्राउ गरिएको जनाएको छ । दुई देशबीचको सुर्पदगी सन्धि नहुँदा एक देशका अपराधीलाई अर्को देशको प्रहरीले पक्राउ गरेर दिने कानुनी व्यवस्था छैन ।
तर, नेपाल प्रहरी र दिल्ली प्रहरीबीचको आपसी सहयोगमा पक्राउ गरी ल्याएको एक प्रहरी अधिकारीले जानकारी दिए । सिजन आफ्नो वास्तविक नाम परिवर्तत गरी पहाडगञ्जको होटेलमा बस्दै आएका थिए । दुबईको भिसा समेत लगाएका उनी दिल्लीस्थित इन्द्रिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुबई जाने तयारीमा रहेको खुलेको अनुसन्धान खटिएका एक प्रहरी अधिकारीले जानकारी दिए ।
ती अधिकारीले भने, ‘‘विक्रममाथि आक्रमणलगत्तै उनी दिल्लीबाटै दुबई जाने तयारी गरेको देखियो । त्यसका लागि भिसा समेत लगाइसकेका रहेछन् । भारतमा समेत प्रहरीले खोजी गर्छ भनी होटेलमा बस्दा नाम निराजन थापा राखेका थिए ।’’
अधिकारीमाथि थप अनुसन्धान गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंमा प्रतिवेदन बुझाएको कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए ।
विक्रममाथि आक्रमण गर्ने समूहमाथि परिसर काठमाडौंले संगठित अपराध मुद्दामा अनुसन्धान गरेर प्रतिवेदन बुझाएको परिसरका प्रहरी अधिकारीले जानकारी दिए ।
अधिकारीसहित हालसम्म प्रहरीले विक्रममाथि आक्रमण गर्ने र योजनाकार गरी चारजनालाई पक्राउ गर्न सफल भएको थियो ।
यसअघि, काठमाडौं प्रहरी परिसरको टोलीले गण्डकी प्रदेशका तत्कालीन सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)का सहयोगी टीका भण्डारी, नुवाकोटका मार्सस भनिने शैलेन्द्र तामाङ र गोरखाका २९ वर्षीय निश्चल सुनुवारलाई पक्राउ गरेको थियो ।
निश्चललाई समेत उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झापाबाट पक्राउ गरेको थियो । नुवाकोटकै अजय तामाङ, दिपक बरामु र लक्ष्मी राई भने अझै फरार छन् । लक्ष्मी विक्रमकै दाई दिपेशका पूर्वपत्नी समेत हुन् ।
उनकै योजनामा आपराधिक समूहका युवाहरूले विक्रममाथि आक्रमण गरेको खुलेको छ । हाल लक्ष्मी लन्डन रहेको खुलेको छ । उनीसित नेपाल र बेलायत दुवै देशको पासपोर्ट भएको खुलेको छ ।
नुवाकोटका विक्रममाथि कात्तिक ११ गते उनको कार्यालयनजिकै लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा अन्धाधुन्ध रड प्रहार गरिएको थियो ।
जेलका समेत पार्टनर
हाल प्रहरीले पक्राउ गरेका २९ वर्षीय अधिकारी नक्कली सुन लुटपाटको घटनामा चार वर्ष चार महिना जेल बसेर निस्केको खुलेको छ ।
यसरी नै फरार शैलेन्द्र तामाङ पनि तीन वर्ष जेल बसी छुटेको प्रहरीको क्रिमिलन रेकर्ड सिस्टम (सीआरएस)मा देखिएको छ । २०७४ मा नक्कली सुन देखाएर २५ लाख रुपैयाँ लुटपाट गरेको घटनामा जेल बसेर छुटेका थिए ।
उनी २०७८ मा छुटेका थिए । त्यसअघि उनी ०७२ असोजमा सुन लुटपाटमा पक्राउ परेका थिए । यसरी ०७३ माघमा नक्लकी सुन देखाएर ३० लाख रुपैयाँ लुटेका थिए ।
फरार अजय, पक्राउ परेका शैलेन्द्र समेत जेल पुगेका आरोपी हुन् । उनीहरू सुन्धारास्थित केन्द्रीय कारागारमा बसेका थिए । जेल पुग्नुपूर्व उनीहरू चिनजानका साथी हुन् ।
अपराध कर्मपछि पनि सँगै जेलमा बसेका उनीहरूको अपराध कर्म नछुटेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको भनाइ छ । विक्रमको ज्यान मार्ने उद्देश्यका लागि आक्रमण गर्न उनीहरूले सुपारी लिएको प्रहरीको दाबी छ ।
अजयलाई आक्रमण गर्ने चारजना भए पनि योजनाकारहरूमा लक्ष्मी राई, भण्डारी र अधिकारीको समेत संलग्नता रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई समेत संगठित अपराधमा सजाय हुनुपर्ने माग राखेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
विक्रममाथि आक्रमण हुँदा अधिकारीको मोटरसाइकल प्रयोग गरिएको थियो । तर, उक्त मोटोरसाइकलको नम्बरसमेत भएको खुलेको छ । त्यतिबेला बा९६ प ५९७५ नम्बरको मोटरसाइकल प्रयोग थियो । तर, वास्तविक नम्बर बा७९ प ५२९८ रहेको खुलेको छ ।
प्रहरीले आइतबार बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययन गरी जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा अदालत दर्ता गर्नेछ । प्रतिवेदनमा प्रहरीले ज्यान मार्ने उद्योग र संगठित अपराध गरी १५ वर्ष जेल सजाय हुनुपर्ने राय दिएको छ ।