काठमाडौं । सातौँ संस्करणको वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी फागुनमा हुने भएको छ । प्रतियोगिता वाग्मती गाउँपालिकामा निर्मित सहिद स्मृति रंगशालामा सञ्चालन हुनेछ ।
वाग्मती गाउँपालिका खेलकुद विकास समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सो प्रतियोगिता फागुन १ गतेदेखि १० गतेसम्म वाग्मती–४, झुरझेस्थित रंगशालामा हुने जानकारी दिएको छ ।
यसअघि उक्त प्रतियोगिता जनता मावि फापरबारीको खेल मैदानमा हुँदै आएको थियो । प्रतियोगितामा पहिलो हुने टोलीले १० लाख र दोस्रो हुनेले पाँच लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहरसिंह थिङले जानकारी दिए ।
प्रतियोगितामा ‘ए’ डिभिजनका सात र मोफसलका तीन टोली सहभागी हुनेछन् । प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई एक लाख एक हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार पुरस्कार प्रदान गरिने छ ।
फुटबल खेलको प्रवर्द्धनका लागि पालिकाले निकट भविष्यमा फुटबल एकेडेमी सञ्चालन गर्ने योजना बनाएको वाग्मती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिए । यसअघि छैटौँ संस्करणको उपाधि मछेन्द्र युथ क्लब काठमाडौंले जितेको थियो । प्रतियोगिता सञ्चालन गर्न गाउँपालिकाले ३० लाख सहयोग गरेको छ ।