काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पाँच वर्षमा एक खर्ब सात अर्ब ६६ करोड रुपैयाँ कृषि अनुदानमा खर्च गरेको छ ।
कृषिमन्त्री रामनाथ अधिकारीले आइतबार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट अनुदान लैजाने कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरूका नाम सार्वजनिक गरेका हुन् । उनले पाँच वर्षमा मन्त्रालयबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई प्रकारका अनुदान प्रवाह भएको बताए ।
त्यसमध्ये प्रत्यक्षतर्फ कृषि सहकारी र समूहले लगेको २० अर्ब ३० करोड र अप्रत्यक्षतर्फ अनुदानित रासायनिक मल ८७ अर्ब ३५ करोड ९७ लाख ७३ हजार रुपैयाँ अनुदानमा वितरण भएको मन्त्री अधिकारीले जानकारी दिए । मन्त्री अधिकारीले कृषि अनुदानको रकम दुरुपयोग भएको आशंका व्यक्त गर्दै अनुदान लिनेको नाम सार्वजनिक गर्ने बताए ।
कृषि अनुदान लगेर दुरुपयोग गरिएको छ भने कारबाही हुने उल्लेख गरे । कृषि सहकारी, कृषि समूह तथा कृषि फार्ममार्फत पछिल्लो पाँच वर्षमा १० अर्ब ५८ करोड ७६ लाख ४६ हजार रुपैयाँ अनुदान प्रवाह भएको जानकारी दिए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ६ अर्ब ६१ करोड ९५ लाख ३१ हजार रुपैयाँ रकम प्रवाह भएको र उक्त रकम एक लाख ४१ हजार ६७० कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरूले लगेको कृषिमन्त्री अधिकारीले जानकारी दिए ।
रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाईबाट १८ करोड ४८ लाख ६१ हजार रुपैयाँ प्रवाह भएको छ भने त्यसबाट २१ हजार ४५० कृषि सहकारी, समूह, फार्महरूले रकम लगेको बताए । कृषि क्षेत्र विकास कार्यक्रमबाट ८० करोड १९ लाख रुपैयाँ रकम प्रवाह भएको भन्दै त्यसमा २७ हजार ६ सय ५० कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरूले रकम लगेको जानकारी दिए ।
मन्त्री अधिकारीले उखु कृषक प्रोत्साहन अनुदानमार्फत चार अर्ब सात करोड २४ लाख २० हजार रुपैयाँ वितरण भएको जानकारी दिए । कृषि बिमाको प्रिमियम अनुदानतर्फ ५० करोड ४८ लाख ८२ हजार, पशुपंक्षी तथा मत्स्य बिमाको प्रिमियम अनुदानतर्फ पाँच अर्ब १३ करोड ८० लाख ६६ हजार रुपैयाँ प्रवाह भएको बताए ।