site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘ग्रेटर इजरायल’ नक्सा जारी गरेपछि अरब राष्ट्रमा खलबली 

काठमाडौं । इजरायलले ‘ग्रेटर इजरायल’को विवादास्पद नक्सा जारी गरेपछि अरब (खाडी) राष्ट्रमा खलबली मच्चिएको छ । 

केही दिनअघि इजरायली सरकारले सामाजिक सञ्जाल एक्समा ‘ग्रेटर इजरायल’ को नक्सा जारी गरेको थियो । उक्त कार्यको साउदी अरेबिया, प्यालेस्टाइन, युनाइटेड अरब इमिरेट्स (यूएई) र अरब लिगले निन्दा गरेका छन् ।

जनवरी ६, २०२५ मा इजरायलको आधिकारिक सामाजिक सञ्जाल एक्स खातामा जारी गरिएको नक्सामा प्यालेस्टाइन, सिरिया, लेबनान र जोर्डनका केही भागहरू इजरायलको भागका रूपमा देखाइएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

साउदी अरेबियाले यसलाई ‘अतिवादी कदम’को संज्ञा दिएको छ । इजरायलको यो कदमले अन्य देशहरूको सार्वभौमिकतामाथि खुला आक्रमण जारी राख्ने र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्ने महत्वाकांक्षा देखाएको साउदी अरेबियाले जनाएको छ । प्यालेस्टाइन र जोर्डनले विवादास्पद नक्साको निन्दा गरेका छन् ।

साउदी विदेश मन्त्रालय र प्यालेस्टिनी अधिकारीहरूले इजरायललाई यस्ता कदम चाल्नबाट रोक्न अन्तर्राष्ट्रिय समुदायलाई अपील समेत गरेका छन् ।

अरब लिगका महासचिव अहमद अबु अल–घेटले यस्ता ‘उत्तेजक कार्यहरू’ लाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदाय असफल भएमा ‘अतिवादमा वृद्धि’ हुने चेतावनी दिएका छन् । 

इजरायलको दाबी 

इजरायलले जारी गरेको ‘ग्रेटर इजरायल’ नक्सामा इजरायल राज्य लगभग ३ हजार वर्ष पहिले स्थापित भएको दाबी गरिएको छ । इजरायलका प्रथम तीन राजाहरूमा शाऊल, डेविड र सोलोमन थिए । यी तीन जनाले कुल १२० वर्ष शासन गरेका थिए । उनीहरुको शासनकालमा यहुदी संस्कृति, धर्म र अर्थतन्त्र फस्टाएको दाबी इजरायलको छ । 

इजरायली सरकारले गरेको पोस्टमा दाबी गरिएको छ– ९३१ ईसा पूर्वमा राजा सोलोमनको मृत्युपछि आन्तरिक द्वन्द्वका कारण साम्राज्य दुई भागमा विभाजित भयो । उत्तरमा इजरायल राज्य र दक्षिणमा यहुदी राज्यको स्थापना भयो ।

२०९ वर्षपछि (७२२ ईसा पूर्व) इजरायलको उत्तरी राज्य अश्शूरहरूको हातमा पर्‍यो । ३४५ वर्षपछि बेबिलोनका राजा नेबुचादनेजर (५६८ ईसा पूर्व) को हातमा यहुदीको दक्षिणी राज्य पर्‍यो ।

इजरायलको दाबी छ, “यो विभाजनले शताब्दीयौंसम्म राजनीतिक संघर्ष भयो, तर निर्वासनमा रहेका यहुदी जनताले आफ्नो राज्यको पुनस्र्थापनाको माग गरे । यो माग पूरा भएपछि १९४८ मा इजरायल एक देशको रूपमा स्थापित भएको थियो । इजरायल आज मध्यपूर्वको एक मात्र लोकतान्त्रिक देश हो ।”

ग्रेटर इजरायलको सपना

ग्रेटर इजरायलको अवधारणा कुनै नयाँ विचार होइन । तर यो अवधारणा कहाँबाट आयो र ‘द प्रमिस्ड ल्याण्ड’ मा कुन क्षेत्रहरू समावेश छन् भनी जान्न सयौं वर्ष पछाडि जानुपर्छ । वास्तवमा इजरायलका धेरै यहुदीहरूले यो क्षेत्रलाई ‘एरेट्ज इजरायल’ वा ‘इजरायलको भूमि’ भनी चिन्छन् । यो इजरायलको हालको सिमाना भन्दा धेरै ठूलो भौगोलिक क्षेत्र हो ।

‘ग्रेटर इजरायल’ को अवधारणा नाइल नदीदेखि युफ्रेटिस नदीसम्म फैलिएको छ । यस विचार अनुसार– एक दिन इजरायलको सिमाना लेबनानदेखि साउदी अरबको विशाल मरुभूमिसम्म, भूमध्यसागरदेखि युफ्रेटिस नदी (इराक) सम्म फैलिनेछ ।

जनवरी २०२४ मा इजरायली लेखक एवी लिपकिनको एक अन्तर्वार्ता भाइरल भएको थियो । यसमा उनले ग्रेटर इजरायलको अवधारणा बारेमा चर्चा गरेका थिए ।

त्यो अन्तर्वार्तामा उनले भनेका थिए, “युफ्रेटिस (नदी) को अर्कोपट्टि कुर्दहरू छन् । उनीहरू हाम्रा साथी हुन् । हाम्रो पछाडि भूमध्यसागर छ र हाम्रो अगाडि कुर्दिस्तान छ । म ढुक्क छु, हामी मक्का, मदिना र सिनाईमाथि पनि कब्जा गर्नेछौं र हामी यी ठाउँहरूलाई ‘पवित्र’ बनाउनेछौं ।”

गाजा युद्धपछि इजरायलले लेबनानमा सैन्य कारबाही गर्यो । त्यसबेलादेखि ‘ग्रेटर इजरायल’ को अवधारणा फेरि एक पटक सामाजिक सञ्जालमा सलबलाएको छ । 

यसको एउटा कारण गाजामा भएको स्थल कारबाहीको क्रममा केही सामाजिक सञ्जाल पोस्टहरूमा गरिएको दाबी थियो । ती पोष्टमा उल्लेख गरिएको थियो– केही इजरायली सैनिकहरूले आफ्नो पोशाकमा ‘ग्रेटर इजरायल’ को नक्सा भएको ब्याज लगाएका छन् ।

अति दक्षिणपन्थी इजरायली मन्त्रीहरूले पनि विगतमा यो अवधारणाबारे आफ्ना विचार राखेका थिए । ‘द प्रमिस्ड ल्याण्ड’ को नक्सामा जोर्डन, प्यालेस्टाइन, लेबनान, सिरिया, इराक र इजिप्टका केही भागहरू समावेश भएको छ । यसबारे सामाजिक सञ्जालका अरब प्रयोगकर्ताहरूले चिन्ता व्यक्त गरेका छन् । 

अक्टोबर ७, २०२३ मा इजरायलमा हमासको आक्रमणपछि छिमेकी देशहरूमा इजरायली कारबाही बढेको छ । पछिल्ला केही महिनाहरूमा इजरायली सेनाले इरान, सिरिया र लेबनानमा पनि आक्रमण गरेको छ ।

यहूदी राष्ट्रवाद (जियोनिज्म) का संस्थापक थियोडोर हर्जलका अनुसार ‘द प्रमिस्ड ल्याण्ड’ वा ग्रेटर इजरायलको नक्सामा इजिप्टको नाइल नदीदेखि इराकको युफ्रेटिस नदीसम्मको क्षेत्र समावेश थियो । उनका अनुसार प्यालेस्टाइन, लेबनान, जोर्डन, इराक, इरान, सिरिया, इजिप्ट, टर्की र साउदी अरेबिया पनि ग्रेटर इजरायलको हिस्सा हुनेछन् ।

संयुक्त राष्ट्र संघले सन् १९४७ मा प्यालेस्टाइनलाई दुई अलग यहूदी र अरब राज्यहरूमा विभाजन गर्न अनुमोदन गर्दै जेरुसेलमलाई एक ‘अन्तर्राष्ट्रिय सहर’ घोषणा गरेको थियो । 

यसपछि इजरायली राजनीतिज्ञ तथा पूर्व प्रधानमन्त्री मेनाचेम बेगिनले भनेका थिए, “प्यालेस्टाइनको विभाजन गैरकानूनी छ । जेरुसेलम हाम्रो राजधानी थियो र सधैं रहनेछ । ग्रेटर इजरायलको सिमाना सधैंको लागि पुनस्र्थापित गरिनेछ ।”

नदीदेखि समुन्द्रसम्म

‘जियोनिज्म २.०ः थिम्स एण्ड प्रपोजल्स अफ रिसेपिङ वल्र्ड सिभिलाइजेसन इन द टाइम्स अफ इजरायल’ पुस्तकका लेखक एड्रियन स्टेन लेख्छन्, “ग्रेटर इजरायलको अर्थ अलग–अलग समूमको लागि अलग–अलग छ ।

स्टेनले आफ्नो पुस्तकमा लेखेका छन्– यहूदीहरूका लागि ग्रेटर इजरायल शब्दले पश्चिमी किनार (जोर्डन नदी) सम्म इजरायली सार्वभौमिकताको स्थापनालाई जनाउँछ । यसमा बाइबलमा आधारित यहूदि, सामरिया, र सम्भवतः १९४८ को युद्ध पछि कब्जा गरिएका क्षेत्रहरू समावेश छन् । यसमा सिनाई, उत्तरी इजरायल र गोलान हाइट्स पनि समावेश छन् ।

वासिङ्टनस्थित राजनीतिक विश्लेषक ताकी नसिरतले मध्य पूर्वको अवस्थालाई नजिकबाट नियाल्दैआएकी छन् । ग्रेटर इजरायलको अवधारणा इजरायली समाजमा भित्रैसम्म जरा गाडेर रहेको बुझाई नसिरतको छ । इजरायली सरकारदेखि सेनासम्म, इजरायली समाजका विभिन्न तप्काले  यसलाई समर्थन गर्दै आएका छन् । 

“इजरायलीहरू विश्वास गर्छन् कि ‘नदीदेखि समुद्रसम्म’ मात्र नभई ‘नदीदेखि नदीसम्म’ फैलिएको भूमिमा इजरायलको ऐतिहासिक अधिकार छ। अर्थात्, युफ्रेटिस नदीदेखि नाइल नदीसम्म र बीचमा पर्ने सबै क्षेत्रमा उनीहरुको अधिकार छ,” नसिरतले भनिन् । 

नसिरत अझ स्पष्ट पार्छिन्, “आजको इजरायलमा अझ यथार्थपरक दृष्टिकोण पनि छ । यस अनुसार, इजरायलले हाल कब्जा गरेका क्षेत्रहरूमा उसको अधिकार छ । यसमा वेस्ट बैंक, गाजा र गोलान हाइट्स समावेश छन् ।”

बेलायतको बर्मिंघम विश्वविद्यालयका मध्य पूर्व मामिलाका विज्ञ ओमर करिमले ग्रेटर इजरायललाई ‘केवल एक मिथक’ मान्छन् ।

करिम भन्छन्– यहूदी धर्म अनुसार ग्रेटर इजरायलको अवधारणामा मध्यपूर्वका सबै प्राचीन क्षेत्रहरू समावेश छन् जुन ओटोमन साम्राज्यको हिस्सा थिए र जहाँ यहूदीहरू बसोबास गर्थे । 

ग्रेटर इजरायल एउटा काल्पनिक कुरा भएको र जुन व्यावहारिक पनि नभएको बुझाई करिमको छ । 

“तर यसको चर्चा यहूदीवादको राजनीतिमा बढी हुन्छ । यो केवल एउटा ‘कल्पना’ हो कि ग्रेटर इजरायलमा आजको साउदी अरेबिया, इराक, जोर्डन र इजिप्ट पनि पर्छन्,” उनले भने ।

ग्रेटर इजरायल एक व्यवहारिक विचार नभएको विश्वास करिमको छ । यसले अहिले कब्जा गरिएका क्षेत्रहरूलाई मात्र जनाउनले बुझाई उनको छ । यसमा वेस्ट बैंक, गोलान हाइट्स र गाजा समावेश छन् । 

बहस फेरि किन सुरु भयो ? 

ताकी नसिरत सन् २०२३ मा दक्षिणपन्थी इजरायली मन्त्री बेजलेल स्मुट्रिचले प्रस्तुत गरेको ‘ग्रेटर इजरायल’ नक्साको सम्झना गर्छिन् । यस नक्सामा जोर्डन पनि समावेश गरिएको थियो । नक्साले कूटनीतिक विवाद निम्त्याएको थियो । 

पेरिसमा भाषण गर्ने क्रममा इजरायली मन्त्रीले ग्रेटर इजरायलको नक्सा प्रस्तुत गरेका थिए । यसले जोर्डन र कब्जा गरिएको वेस्ट बैंकलाई इजरायलको भागको रूपमा देखाएको थियो । जोर्डनले यसको कडा विरोध गर्दै बेजलेलमाथि दुई देशबीचको शान्ति सम्झौताको उल्लंघन गरेको आरोप लगाएको थियो ।

“तथ्य यो हो कि चाहे त्यो स्मुट्रिच होस् वा बेन गुर, जसको उनीहरु प्रतिनिधित्व गर्छन् उनीहरु यो अवधारणालाई इजरायलको वैध भविष्यको रूपमा हेर्छन,” ताकी नसिरत भन्छिन् ।

नेतान्याहूको वर्तमान सरकारको अधिनमा अवैध यहूदीवासीहरुलाई हतियार, समर्थन र सुरक्षा प्रदान गरेर ग्रेटर इजरायलको अवधारणालाई प्रवद्र्धन गर्ने काम भइरहेको विश्वास नसिरतको छ । 

नसिरतका अनुसार अवैध इजरायलीहरूले प्यालेस्टिनीहरूको जैतुनको रूख जबरजस्ती जलाइरहेका छन् र उनीहरूलाई विस्थापित गरिरहेका छन् । यहूदी वासिन्दाले उनीहरूलाई धम्की दिइरहेको, भाग्न बाध्य पारिरहेको र वेस्ट बैंकमा नयाँ बस्तीहरू स्थापना गरिरहेका आरोप नसिरतको छ । 

अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणपछि अवैध हतियारधारी इजरायली बासिन्दाहरु अझ शक्तिशाली भएको बुझाई उनको छ । उनीहरु इजरायली सेना (आईडीएफ) र सरकारको संरक्षणमा यस एजेन्डामा काम गरिरहेको भनाई नसिरतको छ ।

“कुनै पनि देशका अतिवादीहरूको सपना इजरायलका अति–दक्षिणपन्थीहरूको जस्तै हुन्छ,” ओमर करिम भन्छन्, “इजरायल राज्यको स्थापना पछि यहूदीहरूमाझ ‘धार्मिक राज्य’ को अवधारणा पुनः उदय भयो । किनभने यहूदीहरू या त अल्पसंख्यक थिए वा ती देशको नागरिक थिए जहाँ उनीहरु बसेका थिए ।” 

आफूले पहिलो पटक पाकिस्तानमा जस्तै इजरायलको रूपमा पनि धार्मिक राज्यको अवधारणा देखेका उनी बताउँछन, जहाँ धर्म राष्ट्रियताको आधार बनेको हुन्छ ।

ओमर करिम भन्छन्, “राजनीतिक र व्यावहारिक रूपमा ग्रेटर इजरायल स्थापना गर्ने कुरा केवल कल्पना मात्र हो । इजरायलका गम्भीर राजनीतिज्ञ र विश्लेषकहरूले यसबारे कहिल्यै कुरा गर्दैनन् । तर यो कल्पना पक्कै पनि त्यो वर्गको माझमा छ जसले संसारभरी यहूदी पुनर्जागरणको कल्पना गर्छन् ।”

पश्चिमाहरूको प्रतिक्रिया 

अमेरिकाले जमिनको वास्तविकतामा आएको परिवर्तन र इजरायली बस्तीहरूको विस्तारप्रति कुनै विशेष प्रतिक्रिया नदिएको भनाई ताकी नसिरतको छ । 

उनी भन्छिन्, “यस वर्षको सुरुमा, जब इजरायलले केही हिंसात्मक गतविधि गर्नेहरुलाई वस्ती स्थापना गर्न अनुमति दियो, बाइडेन प्रशासनले उनीहरुको स्पष्ट रूपमा निन्दा गरेको थियो ।” 

यस बाहेक इजरायललाई समर्थन गर्ने पश्चिमी देशहरूबाट कुनै गम्भीर प्रतिक्रिया आएको छैन ।

“ग्रेटर इजरायलको योजनालाई अस्वीकार नगरी, पश्चिमी देशहरूले एक तरिकाले इजरायललाई उसको सपना पूरा गर्न मद्दत गरिरहेका छन्,” नसिरतको भनाई छ । 

तर ओमर करिम भने ग्रेटर इजरायलको स्थापना पश्चिम वा पश्चिममा बसोबास गर्ने यहूदीहरूलाई स्वीकार्य नहुने बताउँछन् ।

“जब १९४७ मा यहूदीहरूका लागि यो राज्य स्थापना गरियो त्यतिबेला यो सोचिएको थियो कि उनीहरूले संसारभर शोषणको सामना गरिरहेका छन् र उनीहरुलाई छुट्टै देश आवश्यक छ,” उनले भने ।  

संयुक्त राष्ट्रसंघको बडापत्रमा अझै पनि वेस्ट बैंक र गाजालाई कब्जा गरिएका क्षेत्रहरू भनि उल्लेख गरिएको छ । अमेरिका र बेलायतले यो बडापत्रलाई मान्यता दिन्छन् ।

“ग्रेटर इजरायलको अवधारणाको कुनै कानुनी पक्ष छैन, न त इजरायलसँग भविष्यमा यस्तो योजना कार्यान्वयन गर्ने सैन्य क्षमता छ,” ओमर करिम भन्छन्, “तर मानौं यदि इजरायलले यो प्रयास गर्यो भने पश्चिमाको अनुमति र सैन्य समर्थन बिना यो सम्भव हुँदैन ।”

यसैकारण ‘ग्रेटर इजरायल’को अवधारणलाई करिम केवल एउटा काल्पनिक विषय मान्छन् । तर यहूदी अतिवादी समूहहरुको लागि भने यसले ‘राजनीतिक लाइफ लाइन’को रुपमा काम गर्ने विश्वास उनको छ । 
(बीबीसीबाट भावानुवाद) 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  ०९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro