काठमाडौं । वर्खायामको संक्रमणको रूपमा परिचित डेंगी पछिल्ला वर्षहरूमा भने जाडोयाममा पनि देखिइरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा डिसेम्बर र जनवरीमा पनि डेंगी केस रिपोर्टिङ भएको छ, त्यो पनि सातामा एकसयभन्दा बढी ।
डिसेम्बरयता एक हजार बढीमा संक्रमण
महाशाखाको अर्लि वार्निङ एण्ड रिपोर्टिङ सिष्टम (इवार्स ) मा पछिल्लो एक प्रत्येक साता एकसयभन्दा बढी डेंगी केस रिपोर्ट भएका छन् । पछिल्लो एक महिनामा देशभर एक हजार बढीमा डेंगी संक्रमण भएको महाशाखाको तथ्यांक छ ।
इवार्समा रिपोर्टिङ भएअनुसार ३ डिसेम्बर २०२४ देखि ६ जनवरी २०२५ सम्म एक हजार १३२ जनामा डेंगी पुष्टि भएको छ । ६ जनवरीमा प्रकाशित रिपोर्टमा सो साता पनि १११ जनामा डेंगी देखिएको छ । जुन अघिल्लो वर्षको यही साताको तुलनामा झन्डै दोब्बर हो ।
अर्थात्, सन् २०२३ को अन्तिम साता ५९ जनामा मात्रै डेंगी पहिचान भएको थियो । यसले वर्षैपिच्छे हिउँदमा डेगी केस बढ्दै गएको पुष्टि गर्छ ।
जाडोयाममा डेंगी देखिनेमा तराईसहित पहाडी जिल्ला पनि छन् । काठमाडौं, झापा, कास्की, सुनसरी, मोरङ, काभ्रे लगायतका जिल्लामा संक्रमण देखिइरहेको महाशखाको तथ्यांक छ ।
गत वर्ष ३५ हजार बढी संक्रमित
महाशाखा सन् २०२४ मा वर्षभरी संक्रमित भएकाको अन्तिम तथ्यांक अझै संकलनकै क्रममा छ । महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार सो वर्ष ३५ हजार बढी संक्रमित भइ १५ जनाको मृत्यु भएको थियो । सो वर्ष अक्टोबरमा सबैभन्दा धेरै १० हजार ९३६ जना संक्रमित भएका थिए । सन् २०२४ मा कास्कीमा सबैभन्दा धेरै सात हजार ६६७ जना संक्रमित भएको महाशाखाको तथ्यांक छ ।
तीन वर्षयता बाह्रै महिना डेंगी
नेपालमा पहिलोपटक सन् २००४ मा एकजनामा डेंगी केस पुष्टि भएकोे थियो । त्यसयता २००६ मा ३२, २००७ मा २७, २००८ मा १०, २००९ मा ३०, २०१० मा ९१७, २०११ मा ७९, २०१२ मा १८३, २०१३ मा ६८६, २०१४ मा ३५६, २०१५ मा १३ जना संक्रमित भए ।
सन् २०१६ देखि भने संक्रमितको संख्या हजारमा देखिन थाल्यो । सन् २०२६ मा एक हजार ५२७, २०१७ मा दुई हजार १११, २०१८ मा ८११, २०१९ मा १७ हजार ९९२, २०२० मा ५३०, २०२१ मा ५४० र २०२२ मा ५४ हजार ७८४ जना संक्रमित भएको ईडीसीडीको तथ्यांक छ । सन् २०२२ मा पछिल्लो १८ वर्षयताकै सबैभन्दा धेरै संक्रमित भइ ८८ जनाको डेंगीका कारण मृत्यु भएको थियो ।
सन् २०२३ मा ५२ हजार ७९० जना संक्रमित भइ २० जनाको मृत्यु भएको थियो । नेपालमा सन् २०२२ यता कुनै पनि वर्ष डेंगी केस शून्य नभएको ईडीसीडीका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहाल बताउँछन् ।
“सन् २०२२ यता बाह्रै महिना डेंगी केस देखिइरहेको छ, मनसुन र पोष्ट मनसुनमा बढी भए पनि हिउँदका महिनामा पनि शून्य भएको छैन,” डा. दाहाल भन्छन् ।
यो वर्ष पनि कतिपय अस्पतालले ढिलो रिपोर्टिङ गर्दा हिउँदका सातामा केही बढी केस देखिए पनि संक्रमण शून्य भने नभएको उनको भनाइ छ । पछिल्ला साताहरूमा अस्पताल भर्ना भइ सिकस्त हुने केस भने नभएको डा. दाहालले जानकारी दिए ।
किन बढ्दै छ बाह्रै महिना डेंगीको जोखिम ?
सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि विकास हुन्छ । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार डेंगी भाइरस फैलाउर्ने एडीस एजिप्टी’ र ’एडिस एल्बोपिक्टस’ प्रजातिका पोथी लामखुट्टेका लागि भने २२ देखि ३४ डिग्रीसम्मको तापक्रम निकै अनुकूल हुन्छ ।
पोष्ट मनसुनसम्म नै काठमाडौंसहित केही जिल्लामा लामखुट्टेको वृद्धि विकासका लागि उपयुक्त तापक्रम र ह्युमिडिटी रहँदा थप जोखिम बढ्ने उनी बताउँछन् ।
यस्तै, लामखुट्टे फैलिनुमा १०० दिनको सिद्धान्त लागु हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी बताउँछन् । उनका अनुसार कुनै पनि पहाडी वा हिमाली जिल्लाको तापक्रम मात्रै लगातार १०० दिनसम्म १५ डिग्री सेन्टिगे्रटभन्दा बढी भएमा त्यहाँ लामखुट्टेका लागि प्रजननमैत्री वातावरण बन्दछ ।
यस्तै, डेंगी सार्ने लामख्ट्टेको अण्डा महिनौँसम्म पानीमा तैरिइरहने र अनुकूल तापक्रम पाए प्रजनन् हुनसक्ने तथ्य विश्व स्वास्थ्य संगठनले पुष्टि गरिसकेको छ । यी विविध कारणले लामखुट्टेजन्य रोग विशेषगरी डेंगीको जोखिम बाह्रै महिना बढ्दै गएको विज्ञहरूको तर्क छ ।