काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेलाई बाहिर राखेर नेपाली कांग्रेससहित माओवादी, मधेसवादी दलको सरकार बन्न सक्ने आकलन भए पनि नेकपा माओवादी केन्द्रले एमालेबाहेकको सरकार अहिलेका लागि असम्भव भएको बताएको छ ।
“अहिले वाम गठबन्धनलाई प्राप्त भएको मत पार्टी एकता र सरकार सञ्चालनका लागि नै हो,” नेकपा माओवादीका एक प्रभावशाली नेताले बाह्रखरीसँगको अनौपचारिक कुराकानीका क्रममा भने, “अहिले एमाले र माओवादी छुट्टिएर सरकार बनाउने सम्भावना नै छैन ।त्यसो गर्नु पनि हुँदैन ।”
त्यसैले माओवादी केन्द्रले कांग्रेसबाट आएको प्रधानमन्त्रीको अफरलाई पनि अस्वीकार गरिसकेको जनाएको छ । माओवादीका ती नेताले कहिले कांग्रेस त कहिले एमालेसँग तालमेल गरेर ‘जोकर’ बन्न नहुने धारणा राखे ।
माओवादीले अहिले पनि सरकार गठनभन्दा पहिले पार्टी एकतामा जोड दिएको छ । सोमबार बसेको केन्द्रीय कार्यालयको बैठकले पनि यस्तो निर्णय गरेको छ ।
माओवादी केन्द्रले जनताले दिएको मतलाई अहिले अवमूल्यन गर्न नहुने निष्कर्ष निकाल्दै एमालेसँग पार्टी एकताको कामलाई नै तीव्रता दिनुपर्ने धारणा अघि सारेको छ ।
नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्माले पनि कांग्रेसबाट अफर आएको पुष्टि गर्दै अहिले माओवादीले त्यो निर्णय नगर्ने बताए ।
“एमाले र हामीले चुनाव अगाडि नै चुनावी तालमेलसँग पार्टी एकता भनेका छौं, त्यसैले एमालेलाई धोका दिएर कांग्रेसबाट आएको प्रधानमन्त्रीको अफर हामी स्वीकार गर्दैनौं,” नेता शर्माले बाह्रखरीसँग भने,“कांग्रेस सभापति शेरबहादुर देउवाजीले लेखेरै पाँचवर्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउँछौं भनेको कुरा हाम्रो पार्टी अध्यक्ष प्रचण्डजीले हिजो पार्टी कार्यालयमा भएको मिटिङमा समेत भन्नुभएको थियो । त्यसैले विगतमा भएका कमीकमजोरीहरुलार्य पनि सुधार गर्दै पार्टी एकताको विकल्प छैन ।”
उनले अब एकता प्रक्रियाबाट पछि हट्ने अवस्था नरहेको बताए ।
उनले भने,“पार्टी एकताबाट एमाले र माओवादी दुवै पछाडि हट्न मिल्दैन । हामीले सुरुमा नै चुनावी तालमेलसँगै पार्टी एकता पनि भनेका थियौं त्यसकारण हामीले यति धेरै सिट जित्यौं । हामीले चुनावी तालमेलसँग पार्टी एकता नभनेको भए जनताले हामीलाई यति धेरै मत दिँदैनथे होला । जनताले वामपन्थी सरकार निर्माणको लागि दिएको मतको अवमूल्यन गर्नुहुँदैन । पार्टी एकताबाट कुनै एक दल पछाडि हट्यो भने त्यो सकिने बाटोमा जान्छ, त्यो एमाले होस् वा माओवादी ।”
नेता शर्माले पार्टी एकतापछि गुट पनि समाप्त हुने धारणा राखे । उनले पार्टी एकतापछि सबै नेताको सम्मान पनि बढ्ने धारणा राखे । उनले निर्वाचन आयोगको कामले गर्दा सरकार गठनमा ढिलाई भएको भन्दै पार्टी एकतालाई जोड दिएको बताए ।
“निर्वाचन आयोगका अनुसार पनि अझै १५ दिन सरकार बन्ने अवस्था देखिँदैन, त्यो बेलासम्म पार्टी एकता प्रक्रिया अघि बढाए भैहाल्छ,” उनले भने ।
एकतापछि वैद्य, भट्टराई र विप्लव पनि फर्किने !
एमालेसँग एकता भएपछि विभाजित अवस्थामा रहेका डा. बाबुराम भट्टराई, मोहन वैद्य र विप्लव पनि सोही पार्टीमा आउने जिकीर गरे ।
नारायणकाजी र वामदेवको व्यवस्थापन कसरी ?
प्रतिनिधिसभा सदस्यमा गोरखा क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र बर्दिया १ बाट पराजित भएका एमाले नेता वामदेव गौतमको हारको कारण खोज्दै उचित व्यवस्थापनको तयारी भएको उनले बताए ।