site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Global Ime bankGlobal Ime bank
आफैँ न्यायिक अन्यायको नियति खेप्ने न्यायाधीश

यो भौतिक संसारमा मानिससँग घरबार हुन्छ । जग्गा, जमिन सम्पत्ति, पद हुन्छ । जहान, परिवार, छोरा–छोरी, सन्तान, नाति–नातिनाहरू वरिपरि हुन्छन् । 

तिनले बाँचुन्जेल त यस्ता विषय गौरव मान्छन् । तर एक दिन ती सबै मात्र होइन यो नाश्वर शरीर छाडेर मानिसले भित्तामा झुन्डाइने तस्बिरसम्म आफ्नो छवि सीमित गर्नुपर्ने दिन आइपुग्छ । 

हामीले यसको कल्पनासम्म नगरे पनि यो भने शाश्वत हो । उमेरले मभन्दा कनिष्ठ प्रकाश वस्तीजीले यो संसार छाडेर यसरी बिदा हुनुहोला, फगत एउटा तस्बिरमा यति छिट्टै सीमित रहनुहोला भन्ने मैले कल्पनासम्म गरेकी थिइनँ ।

गत कात्तिक महिनातिरको कुरा हो, एउटा कार्यक्रममा उहाँसँग मेरो भेट भएको थियो । हामीले एउटै टेबुलमा रहेर धेरैबेरसम्म भलाकुसारी गरेका थियौं । प्रकाशजी आफ्नो गोर्खाको पैत्रिक जग्गाको आसपास भएका विकास, बाटोघाटो बनेकामा अत्यन्त खुसी हुनुहुन्थ्यो । त्यसदिन पुस्तैनी जग्गाको सदुपयोग गर्ने योजनाबारे पनि बताइरहनु भएको थियो । 

एकोहोरो शरीर, स्वस्थ र उमेरले पाको नदेखिने प्रकाश वस्तीजीले यो संसार छाड्नुभयो भन्दा एकपटक त पत्याउन गाह्रो परेको थियो ।

स्वर्गीय प्रकाश वस्ती, स्वर्गीय भरतराज उप्रेती र म २०६५ सालको माघ ९ गते एकैदिन सर्वोच्च अदालतमा अस्थायी न्यायाधीशका रूपमा नियुक्त हुँदै सपथ लिएका थियौँ । हामीलाई च्याम्बर दिँदा पनि सर्वोच्च अदालतको पुरानो भवनको पूर्वउत्तरको लङ्गमा क्रमशः लहरै तीन कोठा दिइएको थियो ।

हामी तीनैजना कानुन व्यवसायी पृष्ठभूमिका भएको हुँदा चिरपरिचित थियौँ ।  भरतजीले कानुन व्यवसायी रहँदा आफू सम्वद्ध संस्थामा कार्यक्रम गर्दा मलाई सहभागीका रूपमा बराबर निम्त्याउने गर्नुभएको थियो ।  उहाँले संविधान विषयमा जति पुस्तक लेख्नुभएको थियो, मैले उहाँबाट सबै उपहारका रूपमा पाएकी थिएँ । 

प्रकाशजीसँग मैले मुद्दाहरूमा सँगै बहस गर्ने अवसर पनि पाएकी थिएँ ।  न्यायाधीश भएपछि हामी तीनैजना चियाको समयमा गफ गर्ने गरेका थियौँ ।  चाहे बेञ्चमा बसेको बखतमा होस् वा मुद्दाको छलफल हुँदा होस् प्रायः हाम्रो विचार मिल्ने गर्दथ्यो । 

कतिपय गम्भीर विषयमा छलफल हुने र आपसी राय सल्लाह लिने–दिने काम हुने गरेको पनि थियो । प्रकाश वस्तीजी बिलक्षण प्रतिभाका मात्र नभइ परिश्रम गर्न नथाक्ने एक कर्तव्यनिष्ठ न्यायाधीश हुनुहुन्थ्यो ।  उहाँमा अत्यन्त लगनशीलता थियो र ज्यादै इमान्दार पनि हुनुहुन्थ्यो । कानुनको ज्ञान पनि त्यति नै धेरै थियो । उहाँमा शुद्ध नेपाली भाषा मात्र होइन, कानुनी शब्द र भाषाको भण्डार थियो ।

न्यायालयमा सेवारत रहँदा अनेकन बिचौलिया, माफिया र दलालहरूको प्रलोभन आउने गरेकामा उहाँ सरलैसँग तिनलाई कठोरताको साथ जवाफ दिने गर्नुहुन्थ्यो ।  कसै–कसैले काम गरी दिएवापत बास्मती चामल, तोरीको तेल र घिऊको प्रलोभन सेवामा रहेसम्म निरन्तर दिने शर्त राखेका कुरा पनि उहाँले सुनाउनु भएको थियो । 

उहाँले तिनले भनेका काम नगरेपछि औँलो ठाडो पारेर धम्की दिँदै भन्ने गर्दथे, ‘हेरौँला, हाम्रो सहयोगबेगर सर्वोच्च अदालतको प्रधानन्यायाधीश अब कसरी बन्लास् ।’  इन्साफ गर्ने क्रममा न उहाँले कसैको भनसुन सुन्ने गर्नुभएको थियो न मुलाहिजा राख्ने गरेको देखियो ।


प्रकाशजीले आफ्नो जीवनकालमा जुन हैसियत प्राप्त गर्न सफल हुनुभयो, उहाँलाई नजिकबाट हेर्ने परममित्रहरूको कथनअनुसार त्यो उहाँको व्यक्तिगत परिश्रमबाटै भएको हो । उहाँले पढ्दाकै बखत वकालत गर्ने काम र कानुनको अध्यापन गर्ने गराउने सम्पूर्ण लक्ष्य हासिल उहाँको निजी परिश्रमको प्राप्ति हो ।

प्रकाशजीलाई जब २०७० साल चैत २९ गते न्यायाधीश पदमा थमौती नगरी निष्कासन गर्ने काम भयो, म त्यसैदिन उहाँको सामाखुसीस्थित घरमा भेट गर्न गएकी थिएँ । त्यहाँ त्यसदिन उहाँको आमासँग भेट भएको थियो । 

वृद्धा आमाले मसँग भन्नुभएको थियो, ‘नानी, मैले छोरालाई बडो कष्टले पाली बढाइ हुक्र्याएकी हुँ । छोराले पनि काठमाडौंमा ठूला–ठालुका छोरा–छोरीलाई ट्यूसन पढाएर वा काम गर्दै पढेको हो । साइकल चलाएर काममा जाने गर्दथ्यो ।’

न्यायाधीश पदबाट छोरा बाहिरिनु परेकामा आमा त्यसदिन अत्यन्त दुःखी हुनुहुन्थ्यो । 

क्याम्पसमा अध्यापन गरी वकालतमा उचाइ हासिल मात्र गर्नु भएन, आफ्नो सन्तानलाई प्रचूर शिक्षा दिलाउँदै आत्मनिर्भर बनाउनुभयो ।  प्रकाशजी एक आदर्श पुत्र, पिता, पति र मुलुकको क्षमतावान नागरिक हुनुहुन्थ्यो ।

उहाँ वकिल हुँदा न्यायापालिकाभित्रका विकृति–विसंगतिकाबारेमा अध्ययन अनुसन्धान गरी कमीकमजोरी उजागर गर्नुभयो भने न्यायाधीश भएपछि पनि बिचौलिया प्रवृत्ति नियन्त्रण गर्न अध्ययन गराउनु भएको हो । 

यस्ता क्षमतावान व्यक्तिलाई आपसी दाउपेचमा पार्दै प्रधानन्यायाधीशको पंक्तिमा भएकामा त्यसबखत न्यायापालिकाबाट बहिर्गमन गराइयो । उहाँलाई जालसाजीपूर्वक अन्यायमा पारियो ।

जब हामी न्यायापालिकामा नियुक्त भएका थियौँ ।  त्यसबखत मेरो नाम न्यायाधीशको हाजिरी कपीमा सबभन्दा अन्तिममा राखिएको रहेछ । प्रकाशजीले नै दिदीको क्रमसंख्या म र भरतराज उप्रेतीजीको भन्दा पनि माथि आउँछ भनी केही समयपछि सच्याउन लगाउनु भएको थियो ।

उहाँले त्यसबेला मसँग भन्नुभएको थियो, ‘दिदी, आखिर हामी दुवै प्रधानन्यायाधीशका दावेदार हौँ । सवाल यति हो, हामी अगाडि–पछाडि को हुने त्यतिसम्म मात्र हो ।’  त्यो हाजिरी कपी सच्चियो । प्रकाश वस्तीजी मपछिको प्रधानन्यायाधीश भएमा मैले आफ्नो कार्यकालमा काम गर्न ठूलो सहयोग मिल्ने आशा राखेकी थिएँ । 

२०६८ सालतिर हुनुपर्छ एकपटक प्रकाशजीको हकमा म्याद नथप्ने र स्थायी पनि नगर्ने हल्ला चल्यो ।  पछि २०७० सालको चैतसम्म मात्र समय थप्ने काम भएको थियो ।  भरतराज उप्रेतीजीले अगाडि राजीनामा दिइसक्नु भएको थियो । 

प्रकाशजीलाई स्थायी न्यायाधीश नबनाइ, प्रधानन्यायाधीश बन्न नदिने षडयन्त्रमा एउटा वर्ग लाग्यो ।  त्यो वर्ग भनेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको पालामा कानुनी सल्लाहाकार रहेर काम गरेकामा प्रतिशोध लिनु थियो । 

त्यसरी प्रतिशोध लिन एउटा राजनीतिक दलको दबाब थियो भन्ने टीकाटिप्पणी त्यतिखेर आएकै हुन् । दोस्रो न्यायपालिकाभित्र क्षमतावान, कर्मठ, निष्ठावान, र इमान्दार न्यायाधीशहरूको उपस्थिति नरुचाउने एउटा अर्को न्यायाधीशहरूको समूह थियो, जसले प्रकाशजीविरुद्ध षडयन्त्र गरे । 

त्यस्तै नेपालका राजनीतिक दलहरूले यो प्रकृति र स्वभावको न्यायाधीशलाई भन्दा त्वमशरणम गर्ने वा आफूले भने भनेको मान्नेहरूको उपस्थितिलाई नै रुचाउँछन् ।  अर्को कानुन व्यवसायीहरूको एउटा संख्या पनि छ जो न्यायापालिकामा भ्रष्टाचार मौलाएको हेर्न चाहन्छ, त्यो वर्ग प्रकाश वस्ती जस्ताका पछाडि हात धोएर लाग्नु स्वाभाविक हो ।

पुस १३ गते साँझ प्रकाशजी बितिसक्नुभएको रहेछ । म उहाँको पुस्तक हाम्रो कानुनी इतिहासको नालीबेली केही दिनदेखि क्रमशः पढदै थिएँ । पुस्तक पढ्दा प्रकाशजीले नै बोलीरहेको जस्तो अनुभूति भइरहेको थियो । 

एउटा नौलो रोचक पुस्तक जसमा नेपालको कानुनको विकासको इतिहासको क्रमगत हिसाबले उल्लेख छ ।  लेखकको यसमा ठूलो परिश्रम छ भन्ने प्रष्ट छ । मैले आफ्ना श्रीमानलाई त्यसै १३ गतेको साँझमा भनेकी थिएँ, ‘प्रकाशजीसँग भेटौँ, यति राम्रो पुस्तक लेखेकामा धन्यवाद र बधाई दिऊँ ।’

तर, हामीले भेट गर्ने योजना बनाउँदासम्म उहाँले संसार छाडेर परलोकवासी भइ सक्नुभएको रहेछ ।  प्रकाशजीलाई नजिकबाट हेर्ने चिन्ने अवसर मिल्यो, एउटा दृढ इच्छाशक्ति भएको व्यक्तित्व जसले प्रधानन्यायाधीश भएर काम गर्न अवसर पाएको भए, न्यायालयले शुद्धताको हकमा फड्को मार्न सक्ने सम्भावना थियो ।

उहाँले अन्तिमसम्म पनि मुलुकको निम्ति दुःख गरेर अनुसन्धात्मक पुस्तकहरू लेख्नु भएर आमजनताको जिज्ञासा पूर्ति गर्नुभएको छ ।  उहाँका ती प्रकाशित पुस्तकहरू उत्कृष्ट छन् । यसरी असामयिक निधन नभएको भए, उहाँले यस्ता कैयौँ पुस्तकको रचना गरी मुलुकको सेवा गर्नुहुने थियो ।

उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारलाई यस दुःखद घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछु ।  

(कार्की पूर्वप्रधानन्यायाधीश हुन् )

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  ०९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro