site stats
बाह्रखरी :: Baahrakhari
देश
दैनिक ३२ सय प्रहरी कसरी खटिन्छन् काठमाडौंमा ?
फाइल तस्बिर

काठमाडौं । दैनिक लाखौं मानिसको भिडभाड तथा लाखौं सवारी साधन एकसाथ गुडिरहेका हुन्छन्, राजधानीमा काठमाडौंमा । संघीय राजधानी, प्रशासनिक केन्द्र हुनु र देशभरका मानिसको रोजाइ काठमाडौं हुनु स्वाभाविक हो ।

त्यसो त, सुविधाका कारण पनि देशभरका मानिसको रोजाइ काठमाडौं पर्नु अस्वाभाविक होइन । तर, सुविधाका लागि मात्र नभई अन्यत्र अपराध गरेर काठमाडौंलाई ‘सेल्टर’ बनाउनेहरूको संख्या पनि उच्च छ ।

अझ देशभर मात्र होइन, अन्यत्र अपराध गरेर काठमाडौं लुक्ने गरेका आपराधिक पृष्ठभूमिका मानिसका कारण पनि काठमाडौं स्वाभाविक रूपमा उच्च सुरक्षा जोखिममा हुन्छ ।

त्यसबाहेक राजधानी भएकै कारण अनेक माग राख्दै हुने प्रदर्शन व्यवस्थापन गर्नु प्रहरीका लागि अर्को चुनौती हो । त्यसैले प्रहरी संगठनको उच्च तहमा पुग्ने अधिकारीलाई काठमाडौंको कमाण्ड गरेर क्षमता प्रदर्शन गर्ने लालसा पनि उच्च हुन्छ तै ।

उसो त, काठमाडौं प्रहरीको कमाण्ड सम्हाल्ने एसएसपीलाई भावी प्रहरी प्रमुखको रूपमा हेरिन्छ । तर, काठमाडौंमा हुने आकस्मिक घटनाका कारण कतिपय सक्षम र अन्य क्षेत्रमा उच्च कमाण्ड क्षमता प्रदर्शन गरेका अधिकारीहरू नै असफल भएको उदाहरण पनि छन् ।

जोखिमका कारण काठमाडौंको कमाण्ड सम्हाल्न प्रहरी अधिकारीहरू शक्ति केन्द्रमा तीव्र दौडमा हुन्छन् । काठमाडौं प्रहरी प्रमुखले एक वर्षसम्म पूरा कमाण्ड सम्हालेका उदाहरण विरलै छन् । यद्यपि प्रहरी अधिकारीको सरुवा अवधि एक वर्षलाई मानिन्छ ।

पछिल्लो समय काठमाडौं प्रहरीको कमाण्ड एसएसपी विश्व अधिकारीले सम्हालेका छन् ।

कसरी ड्युटीमा खटाइन्छन् काठमाडौंका प्रहरी ?

काठमाडौंको सुरक्षा तथा अपराध अनुसन्धान हेर्नेगरी छुट्टाछुट्टै युनिट राखिएका छन् । जिल्ला प्रहरी परिसरबाहेक १४ युनिटमार्फत अपराध अनुसन्धानसम्बन्धी मुद्दा चल्ने गर्छन् । काठमाडौंमा १२९ वटा प्रहरी कार्यालय छन् ।

त्यसमध्ये ५६ वटा स्थायी कार्यालय र ७३ अस्थायी प्रहरी बिट छन् । काठमाडौंको सुरक्षाका लागि मात्र चार हजार १६ जनाको दरबन्दी तोकिएको छ । तर, हाल तीन हजार दुई सय ३३ जना प्रहरी कर्मचारी कार्यरत रहेको एसएसपी अधिकारीले जानकारी दिए ।

यसरी खटिएका प्रहरीमध्ये कन्ट्रोल रुम सर्भिस (सीआरभी) को टोली दैनिक ७१ पटक परिचालन हुन्छ । प्रहरीको सीआरभी भ्यानबाहेक १०८ पटक मोटरसाइकल गस्ती, ४२ पटक पैदल गस्ती, ७३ स्थानमा प्रहरी चेकिङ, ७४ पिकेट र ३८ पटक अनुगमनमा प्रहरी परिचालन हुने गरेको एसएसपी अधिकारीले बताए ।

यसबाहेक आवश्यकता परे थप टोलीसमेत मद्दतका लागि खटाइने र परिस्थितिअनुसार ड्युटी तालिका हेरफेर हुने गरेको छ । यसरी काठमाडौंमा दैनिक नौ सय २४ टोली परिचालन हुने र ती टोलीमा दुई हजार पाँच सय २१ जना प्रहरी फिल्डमा खटिने गरेका छन् ।

यसबाहेक अपराध अनुसन्धान गर्ने छुट्टै टोली पनि हुन्छ । उपत्यकाभित्रका जघन्य अपराधको अनुसन्धान गर्न अर्को छुट्टै अपराध अनुसन्धान कार्यालयसमेत छ । उक्त कार्यालयको कमाण्ड पनि एसएसपीकै जिम्मामा हुन्छ । हाल उक्त कार्यालयको कमाण्ड एसएसपी रमेश बस्नेतले सम्हालेका छन् ।

यसरी सूचना संकलन गर्छ प्रहरी

अपराध अनुसन्धानका लागि सूचना नै प्रहरीको पहिलो आवश्यकता हो । प्रहरी कार्यालयमै पुगेर नागरिकले निवेदन दिनुबाहेक दैनिक अवैध गतिविधि भइरहेको ठाउँमा प्रहरीको टोली पुग्ने गरेको हुन्छ । अपराध हुनुभन्दा अपराध हुन नदिनु नै प्रहरीको प्राथमिकता भएकाले प्रहरीले विभिन्न स्रोतमार्फत सूचना संकलन गर्ने गरेको छ ।

काठमाडौं प्रहरीले हटलाइन नम्बर १००, फोन, सामाजिक सञ्जाल, प्रहरी कार्यालयका नम्बरहरूमा आउने सूचना, सीसीटीभी फुटेज आदिबाट सूचना संकलन गर्ने गरेको छ । तर, प्रहरीका लागि सबैभन्दा ठूलो सूचनाको स्रोत भने हटलाइन १०० नै रहेको अधिकारीहरूले बताउँछन् ।

प्रहरीको हटलाइनमा दैनिक हजारौं कल आउने गर्छन् । ती फोनमार्फत आएको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिन्छ । गएको आर्थिक वर्ष २०८१/८२ मा मात्र काठमाडौं उपत्यकाको हटलाइनमा चार लाख २८ हजार ९६ कल आएको थियो ।
 

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  ०९:३७
प्रतिक्रिया दिनुहोस्