
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारमा रहेका दलका नेताहरूलाई विपक्षीजस्तो व्यवहार नदेखाउन आग्रह गरेका छन् । सोमबार कञ्चनपुरमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले कांग्रेस नेता शेखर कोइरालाको व्यवहार प्रतिपक्षजस्तो भएको बताए ।
“उहाँ (शेखर कोइराला)ले सरकारमा सामेल भएर सरकारकै विपक्षमा लाग्ने कुरा त्यति राम्रो भएन । आफ्नै अनुहारमा छिटा पर्ने खालको अभिव्यक्ति दिनुहुँदैन । सरकारमा सामेल हुने, सरकारप्रति प्रतिपक्षी व्यवहार गर्ने, सरकारमा हिस्साका लागि पनि संस्थापन पक्षसँग बहस, विवाद गर्ने, हिस्सा प्राप्त गर्ने तर सरकारको पक्षमा एक शब्द पनि नबोल्ने कुरा त नैतिक हिसाबले पनि राम्रो होइन,” उनले भने ।
उनले थपे, “भूमिहीन, दलित र सुकुम्वासीलाई जग्गा दिने कुराको समेत शेखर कोइरालाले विरोध गरेको हो भने उहाँ कसको पक्षमा उभिनुभएको छ भन्ने प्रश्न उठेको छ ।”
उनले भूमि आयोगमा ५० प्रतिशतभन्दा बढी कांग्रेसकै नेताहरू भएको नबिर्सन कोइरालालाई आग्रह गरे ।
भारतीय सचिवको प्रधानमन्त्रीसँगको भेटमा बसाइँबारे पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले सम्बन्धित व्यक्तिले आफ्नो व्यवहार र आचरण सुधार गर्नुपर्ने बताए । नेपाल सरकारले सबैको मर्यादा राख्ने बताउँदै उनले बाँकी कुरा व्यक्तिको आचरणमा भर पर्ने स्पष्ट पारे ।
अर्को प्रसंगमा पोखरेलले एमाले पार्टीको विधान महाधिवेशनमा जुटेको जानकारी दिए । उनले नेपालको कम्युनिस्ट आन्दोलनमा एमालेले नीति निर्माणको लागि छुट्टै महाधिवेशन गरेर इतिहास बनाएको बताए ।