काठमाडौं । नेकपा एमालेले बुधबार पार्टीका तीन नेतालाई कारबाही गर्यो । बुधबार बसेको एमाले सचिवालय बैठकले केन्द्रीय सदस्यद्वय विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको थियो भने पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाटै निष्कासन गरेको थियो ।
सो कारबाहीका बारेमा एमाले पार्टीभित्रै छिटपुट रूपमा विरोधका स्वर सुनिन थालेको छ । राष्ट्रिय सभाकी सांसद एवं पूर्वपराराष्ट्रमन्त्री विमला राई पौड्यालले मनका कुरा खुल्ला जनमानसमा राख्दा कारबाहीमा पर्न नहुने बताएकी छिन् ।
‘‘...गलत भयो। नेकपा एमाले बनाउने इमानदार पिलरको नाम हो, बिन्दा पाण्डे,’’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘बच्चैदेखि पार्टीको सिपाही उषाकिरण। मनका कुरा खुल्ला जनमानसमा राख्दा कारबाहीमा पर्नुहुँदैन।
विन्दा पाण्डे र उषाकिरणको जिम्मेवारी ६ महिनाका लागि खोसिएको भन्दै असन्तुष्टि जनाएकी पौड्याल पूर्वउपाध्यक्ष रावलमाथिको कारबाहीबारे भने मौन बसेकी छिन् ।