site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कोसी लगानी सम्मेलनको फितलो तयारीबारे सांसदले उठाए प्रश्न !

विराटनगर । कोसी प्रदेश सरकारले आयोजना गर्ने तय भएको लगानी सम्मेलनलाई लिएर विवाद भइरहेका बेला प्रदेशसभाको सुशासन तथा योजना समितिले मुख्यमन्त्री हिक्मत कार्की र प्रदेश लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सरोज कोइरालासँग जानकारी लिएको छ ।

बिहीबार समितिको बैठकमा सहभागी मुख्यमन्त्री कार्कीले सरकारको तयारीबारे सांसदहरूलाई जानकारी गराएका छन् । त्यसक्रममा जनस्तर र सञ्चारमाध्यममा लगानी सम्मेलनबारे आएका टीकाटिप्पणीबारे मुख्यमन्त्रीले स्पष्ट बनाउने प्रयास गरे ।

कोसी सरकारले माघ ११ गतेदेखि तीन दिनसम्म विराटनगरमा लगानी सम्मेलन आयोजना गर्ने तयारी गरेको छ । तर, यसमा विवाद देखिएपछि अघिल्लोपटक बसेको बैठकले लगानी प्राधिकरण र मुख्यमन्त्रीबाट तयारीबारे जानकारी दिन पत्राचार गरेको थियो ।

Dabur Nepal
NIC Asia

बैठकमा सहभागी मुख्यमन्त्री कार्कीले बाहिर चर्चा गरेजस्तो विवाद नरहेको दाबी गरे । “सम्मेलन सम्पन्न गर्न तीन करोड ३० लाख रुपैयाँ विनियोजन भएको छ । यो लगानी बोर्डलाई पठाइएको छ । बजेट बाँडफाँट गरेर बोर्डले पास गरेको छ । खरिद प्रक्रियाको विधि र प्रक्रियाअनुसार नै सरकार अघि बढ्ने हो,” उनले भने ।

कार्कीले राजनीतिक दल, नेपाल सरकारका माथिल्ला निकाय, संसदीय दल, लगानी बोर्ड तथा योजना आयोग आदिको सल्लाह सुझाव लिने काम भएको सुनाए ।

“कुनै एउटा संगठनको ब्यानरमा नभए सम्मेलन सरकारले गर्ने हो । तयारी पूरा भएपछि एउटा ‘ग्रान्ड’ पत्रकार सम्मेलन गरेर थप जानकारी गराउने तयारी छ, सरकार मूल आयोजक हुन्छन् । पूर्णप्रस्ताव बनेपछि थप छलफल हुनेछ,” मुख्यमन्त्री कार्कीले भने, “मलेसियाका पूर्वअर्थमन्त्री आउने प्रतिबद्धता जनाउनुभएको छ । विश्व बैंकका पूर्वसीईओ पनि आउने सम्भावना छ । प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरू पनि सहभागी हुनुहुनेछ । यो, साझा लगानी सम्मेलन हो । मिस इन्सफरमेसन नपाल्न आग्रह गर्न चाहन्छु ।”

उनले तयारी पूरा नभई छलफल हुँदा अपूर्ण हुन सक्ने भन्दै पुस २० गतेभित्र सबै तयारी पूरा गर्ने बताए । 

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले लगानी सम्मेलनबारे गरेका केही निर्णय सार्वजनिक भएपछि समितिले चासो दिएको बताए । सरकारसँग अग्रह लिइएको नभई निजी क्षेत्रलाई विश्वासमा लिएर सम्मेलन गर्नुपर्ने सुझाव दिए । निजी क्षेत्र नै विभाजित भई दलको नेताका कार्यालय–कार्यालय जाने अवस्था आएको देखिएपछि समितिले यसबारे छलफल गरेको उनले बताए ।

“अन्ततः सरकारले गरेको निर्णय नै प्रमुख हुन्छ । सम्मेलनको सामान्य ट्रेन्ड हेर्दा हरेक वर्ष सम्मेलन हुन्छन् । प्रतिबद्धता हुन्छ । तर कार्यान्वयन भएको देखिएको छैन,” उनले भने ।

कोसीमा सरकारको नीति तथा कार्यक्रम र बजेटमा आउने सम्मेलन गर्ने उल्लेख हुने गरेको भन्दै उनले 'सोकेस' गरिएका आयोजना हेर्दा तयारी फितलो र कमजोर देखिएको बताए ।

“भर्खरैमात्र सोकेस गरिएका योजना सुन्न पाइयो । केन्द्रले गरेको र निजी क्षेत्रले गरेका आयोजना यहाँ सरकारले गर्दा समेत हेरेर सोकेस गर्दा राम्रो हुन्छ । गौरवको लगानी सम्मेलनलाई प्रभावकारी बनाइनुपर्छ । कोसी प्रदेशको भूगोललाई केन्द्रमा राखेर अघि सारिएका परियोजना मागेर अघि सार्दा बेस हुन्छ,” उनले भने, “एक–डेढ सय परियोजना सोकेस गर्दा उचित हुन्छ । पच्चिसदेखि ३० वटा आएभने पनि राम्रो हुन्छ । यतिमात्र आयोजना लिएर लगानी सम्मेलन गर्दा राम्रो हुँदैन । सबै निजी क्षेत्रलाई समेटेर कार्यक्रम गर्नु राम्रो हो ।”

सांसद आङ्बोले खर्च गर्ने निकाय चाहिँ के हो ? भन्ने प्रश्न गर्दै सरकारकै निकायबाट नै खर्च गरिनुपर्ने बताए । समितिले सार्वजनिक खरिद ऐन र नियमावलीभित्र बसेर खर्च गर्न निर्देशन दिएको छ ।

“व्यवस्थापकीय जिम्मा सरकारकै मातहत हुनुपर्छ । जिम्मेवार निकाय सरकार नै हुनुपर्छ । भेन्यूको कुरामा संवेदनशील हुनुपर्छ । अहिले नेपालमा विदेशी भन्दा पनि डायस्पोरा र एनआरएनले चाहे भने ठूलो लगानी हुन सक्छ । दातृ निकायका प्रतिनिधि आउँदा विकेन्द्रित गरेर भेन्यू बनाउनुपर्छ । सहभागिताका लागि योग्य संरचना विराटनगरमै छन्,” आङ्बोले भने ।

कांग्रेस सांसद हिमाल कार्कीले खर्चमा पारदर्शिता गर्न ऐन नियम पालना गर्नुपर्ने सुझाव दिए ।

“केही परियोजना थप गर्न पाए हुने थियो । क्षेत्र फराकिलो पार्न पाए हुने थियो । बढीभन्दा बढी परियोजना सम्झौताको चरणमा लग्न सके सार्थक हुन्छ ।”

लगानी बोर्डका सीईओ कोइराला लगानी बोर्डको खातामा पठाइएको र अब बजेटलगायत प्रक्रिया अघि बढाउने बताउँदै सम्मेलनमा कुल ३७ वटा परियोजना छनोट गरेर सोकेस गर्ने तयारी रहेको सुनाए ।

“निर्देशक समितिको स्वीकृतिका लागि पठाएर फाइनान्सियल पार्ट पनि तयार भइरहेको छ । केन्द्रले जसरी तयारी गरेको थियो त्यहीअनुरूप भएको छ,” उनले भने, “ककसलाई बोलाउनुभएको थियो भनेर केन्द्रसँग सूची माग गरिएको छ । र, यसलाई प्रदेशस्तरमा तयार गर्ने । फाइनल गर्न बाँकी छ । क्रियाकलाप र ढाँचाअन्तर्गत तीन दिने कार्यक्रम छन् । दोस्रो दिनका लागि क्षेत्रगत, प्लानरी र परियोजनागत क्षेत्रहरू छन् । कृषि, पर्यटन, आईटी आदि क्षेत्रमा वार्तालाप र परियोजनामा हस्ताक्षर हुनेछ ।”

Sansadiya-Dall-1734615090.jpg
उनले सबै ३७ परियोजना एक खर्ब चार अर्ब रुपैयाँ लगानी बराबरको रहेको समितिलाई जानकारी गराए । उनले ११७ करोड रुपैयाँ इनर्जी र आईटीका दुई परियोजना ४७ करोड लगानीको प्रस्ताव रहेको सुनाए । 

उनले भने, “परियोजना देखाएर को केमा इच्छुक छन् सोहीअनुरूप एमओयूको चरणमा जाने तयारी छ । एक खर्बको परियोजना छ । अन्तिम दिन अतिथिहरूलाई सम्भावित लगानी गर्ने ठाउँ भ्रमण गर्न चाहे लगिने छ ।”

मुख्यमन्त्री कार्कीले योजना बनाएर निर्देशक समिति हुँदै लगानी बोर्डबाट पनि पास गरिएको छ । उनले स्थानीयस्तरमा नै हुने कच्चा पदार्थको प्रयोग हुन सक्ने र जलवायुमैत्री परियोजनामा जोड दिइएको बताए ।

आन्तरिक मामिला तथा कानुनमन्त्रीको संयोजकत्वमा समिति बनेको र त्यसले लगानीमैत्री कानुन कसरी बन्न सक्छ भनेर अध्ययन गरिएको जानकारी दिए ।

“संघीय सरकारले नीतिगत डिक्लेरेसन लिनका लागि पनि सरकारले इनिसिएसन लिने, तिललाई पहाड बनाउने काम नगरौँ,” उनले भने ।

मुख्यमन्त्री कार्कीले निजी क्षेत्रमा सम्मेलनमा देखिएको विभाजनबारे आफूले सबै संघ संगठनसँग छलफल गरेको समिति समक्ष जानकारी गारए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले लगानी बोर्डको तयारीबारे जानकारी लिएर नै धारणा बनाउन समितिले बैठक राखेको बताए ।

उनले भने, “सरकारले के कसरी काम गरिरहेको छ भन्ने हेर्ने दायित्व संसदीय समितिको हो । तर, नेपाली स्वभाव कान नछामी दौडने प्रवृत्ति छ ।”

सिटौलाले व्यवस्थापकीय र सुरक्षाको प्रबन्ध उचित तवरले हुनुपर्ने र सरकारको तयारी सकारात्मक देखेको बताए ।

एमाले सांसद मीना श्रेष्ठले कोसी प्रदेशमा लगानीको प्रशस्त सम्भावना रहेको बताइन् । “लगानी सम्मेलनको तयारीको सन्दर्भमा छलफल हुनु सकारात्मक हो,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro