site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अन्तर्राष्ट्रिय विमानस्थलको बन्द अवधि घटाउने तयारी !

काठमाडौं । हवाइ उडान प्रभावित भएपछि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत समय छोट्याउने तयारी गरेको छ । कात्तिक २३ गतेदेखि १० घण्टा बन्द गरेर सुरू गरिएको समानान्तर ‘ट्याक्सी वे’, ‘इन्टरनेशनल एप्रोन’ ‘ह्यांगर एप्रोन’ लगायत काम भइरहेको छ । 

मुख्य विमानस्थल १० घण्टा बन्द गरेर उडान भैरहवा र पोखरातर्फ पठाए पनि विमान कम्पनीहरू जान नमानेका कारण विमानस्थलको निर्माण समय दुई घण्टा छोट्याउने तयारी गरेको हो । 

‘ट्याक्सी वे’ निर्माणका लागि भन्दै कात्तिक २३ गतेदेखि बेलुका १० देखि बिहान ८ बजेसम्म बन्द भइरहेको छ । विमानस्थल बन्द गर्दा यसले उडान तालिका फेरबदल भएका कारण भाडादर उच्च छ । विमानको संख्या कम भएको बाहनामा अधिकांश गन्तव्यको भाडादर दोब्बर/तेब्बरसम्म पुगेको छ । उच्च भाडादर नियन्त्रण गर्न नसकेको र पर्यटकीय मौसममा विमानस्थल १० घण्टा बन्द गरेपछि सरकारको चौतर्फी विरोध भइरहेको छ ।

Dabur Nepal
NIC Asia

उडान कटौतीको बहाना बनाएर एयरलायन्स कम्पनीले भाडादर उच्च पारेपछि सरकारले ट्राभल एजेन्सीहरूको अग्रिम टिकट खरिद प्रणाली (टु बी अनाउन्स्ड–टीबीए) समेत खारेज गरेको थियो । तर पनि अन्तर्राष्ट्रिय विमान कम्पनीहरूको भाडादर उस्तै छ । ‘ट्याक्सी वे’ निर्माणका कारण १० घण्टा विमानस्थल बन्द हुँदा क्यानले ३० प्रतिशत उडान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तर्फ जान ‘सर्कुलर’ गरेको थियो । 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३० कम्पनीले अन्तर्राष्ट्रिय उडान गरेपनि पाँच मात्रै भैरहवातर्फ गएका थिए । गौतमबुद्धतर्फ नेपाल एयरलायन्ससहित पाँच विमान कम्पनीले उडान गरेपनि अन्य गएनन् । 

यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि कम्पनी गएका छैनन् ।

भैरहवा उडान सुरू गरेको कतार एयरवेजले मंसिर १५ देखि उडान रोकेको छ । अन्य विमान कम्पनीलाई पनि भैरहवामा टिकाउन अप्ठ्यारो पर्ने देखेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण समय दुई घण्टा कम गर्न लागेको हो । 

१७ गते राति विमानस्थल मर्मतको निरीक्षणमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको निरीक्षणपछि विमानस्थलको निर्माण अवधि केही कम गर्ने विषयमा छलफल भएको क्यानका प्रवक्ता हंसराज पाण्डेले जनाए । 

“समय घटाउने विषयमा ठ्याक्कै निर्णय भइसकेको छैन । तर, हामी यसमा केही कम गर्न सकिन्छ कि भनेर छलफलमा छौं,” उनले भने, “तराईमा हुस्सुका कारण डोमेस्टिक एयरलायन्सको चाप रातिसम्म प¥यो, त्यसकारण यस विषयमा छलफल भइरहेको हो । निर्णय भएको छैन ।”

पाण्डेका अनुसार, जनशक्ति र उपकरण थप गरेर समय दुई घण्टा घटाउने विषयमा क्यानले छलफल गरिरको छ । विमानस्थलको स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता बढ्नेछ भने एयर ट्राफिक व्यवस्थापन सहज हुने उनको भनाइ छ ।

त्रिभुवन विमानस्थलको ट्राफिकलाई भैरहवा र पोखरातर्फ लैजान सरकारले सहुलियतसहितका कार्ययोजना ल्याएको थियो । दुई वर्षदेखि अलपत्र भएका भैरहवा र पोखरा विमानस्थल सञ्चालनको २७ बुँदे कार्ययोजना  साउन २८ गते मन्त्रिपरिषदले पास गरेको थियो । तर, अन्य मन्त्रालयले भरपूर सहयोग नगरेका कारण उक्त कार्ययोजना प्रभावकारी छैन । 

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न हवाइ टिकटमा रहेको भ्याट छुट वा फिर्ता, इन्धनमा सहुलियत, भिसा सेन्टर स्थापना, हवाइ सेवा शुल्कमा लाग्ने तीन हजार यात्रु सेवा शुल्क छुट, पार्किङ, ल्याण्डिङ, नेभिगेशन शुल्क छुट दिने, एक हजार पर्यटन शुल्क पूर्ण छुट, ग्राउण्ड ह्याण्डलिङमा ७५ प्रतिशत छुटलगायतका कार्ययोजना मन्त्रिपरिषदबाट स्वीकृत छ । 

विभिन्न प्याकेज ल्याए पनि त्यसमा विमान कम्पनीहरू निर्धक्क हुन सकेका छैनन् । भैरहवाबाट उड्ने यात्रुहरू नै नपाएपछि कतारले भैरहवाको अनुमति नवीकरण गरेन । 

जजिरा, थाई एयर एशिया, कतार एयरवेज, फ्लाई दुवई र नेपाल एयरलाइन्स समेत गरी पाँच कम्पनीले अन्तर्राष्ट्रिय उडान सुरू गरेपनि कतारले निरन्तरता दिएन । यसरी भैरहवामा समेत अन्तर्राष्ट्रिय उडान दीर्घकालीन हुने नदेखेपछि क्यानले काठमाडौंको मर्मत घटाएर काठमाडौकौ उडान समय थप गर्न लागेको हो ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आन्तरिकतर्फ ११ हेलिकोप्टर कम्पनीसहित १९ हवाई कम्पनी र अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान गर्दै आएका छन् ।  काठमाडौं विमानस्थलमा आन्तरिकमा दुईतर्फी तीन सयभन्दा बढी र अन्तर्राष्ट्रियतर्फ एक सय हाराहारी उडान हुने गरेका छन् ।   

यस्तै पाँच कम्पनीले उडान गरेको भैरहवातर्फ सातामा २४ उडान भइरहे पनि कतारले निरन्तरता नदिएपछि १७ वटामा झरेको छ ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro