site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दुईपटक पानी चुहिएको मध्य भोटेकोसीको तेस्रो परीक्षण तयारी

काठमाडौं । अर्बाैंको लगानी, वर्षौंदेखिको प्रतीक्षा र हरेक असफलतासँगै बढ्दो प्रश्नहरूबीच मध्य भोटेकोसी आयोजना तेस्रोपटक सुरुङ परीक्षणमा होमिन लागेको छ ।  २०८० पुस र २०८१ कात्तिकमा दुईपटक सुरुङ परीक्षण भयो, तर दुवैपटक पानी चुहिएपछि उत्पादन मिति पर सर्ने उपक्रममा परेको थियो, १०२ मेगावाटको यो आयोजना ।

अब जेठभित्र परीक्षण गर्ने तयारीमा रहेको मध्य भोटेकोसी जलविद्युत् जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख रामगोपाल शिवाकोटी बताए ।  “हामी जेनेरेसन गर्ने अन्तिम तयारीमा छौं । सुरुङ चुहिएको ठाउँमा ‘रेट्रोफिकेसन’ काम सकियो,” उनले भने, “प्रसारण लाइनका केही काम बाँकी छ । त्यो सकिएपछि उत्पादन सुरु गर्छौं ।”

आयोजना यसअघि २०८० को पुसमा ‘वेट टेस्ट’ का क्रममा सुरुङ चुहिएको थियो । झन्डै नौ महिना लगाएर टालिएको सुरुङमा २०८१ मा परीक्षण गर्दा पुनः पानी चुहिएको थियो । ती ठाउँमा ‘रेट्रोफिट’ गरिएको छ । 

Argakhachi Cement Island Ad

“पानी चुहिए पनि अन्तर्राष्ट्रिय परामर्श दाताले ‘एक्सेप्टेबल’ भनेको थियो,” उनले भने, “तर, पनि त्यसलाई ‘रिट्रोफिकेसन’ गर्ने कार्य भएको छ ।” आयोजनाका बोर्डरल्यान्डभन्दा माथिको सुरुङबाट पानी चुहिएपछि परीक्षण बन्द गरेर ‘रेट्रोफिट’ गरिएको थियो । 

यो आयोजना बन्न १२ वर्ष लागिसकेको छ । आयोजना गुणस्तरीय नभएपछि दोस्रो पटकमा समेत परीक्षण असफल भयो ।  तेस्रो पटकको परीक्षणको तयारीमा रहेको र अब समस्या नआउने शिवाकोटीले विश्वास व्यक्त गरे ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीअन्र्तगतको मध्यभाटेकोसी २०६८ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरेको थियो । पीपीएको १४ वर्षसम्म पनि बिजुली बल्न सकेको छैन । 
आयोजना निर्माण सुरु भएदेखि नै म्याद थप गर्दै आइरहेको थियो । 

पीपीए भएको दुई वर्षपछि २०७० मा आयोजना सुरु गर्दा ४ वर्षमा सक्ने लक्ष्य थियो ।  तर, भुकम्प र नाकाबन्दीको कारण देखाउँदै विद्युत् उत्पादन मिति २०७६ पुर्‍यायो ।  २०७६ पछि कोभिड–१९ तथा आर्थिक मन्दीको असर भन्दै २०७८ पुर्‍याएको थियो । 

२०७९ मै आयोजना अन्तिम तयारीमा भनिएपनि २०८० को पुषमा परीक्षण सुरु गरिएको थियो ।  पहिलोपटकको परीक्षणमा पानी चुहावट भएको सुरुङको मर्मत गर्दा ग्राउन्डेड विधि अपनाएकाले डिफेक्ट आएको थियो । 

लगानी २० अर्ब माथि

आयोजनामा भएको ढिलाइसँगै लागतमा पनि उच्च वृद्धि भएको छ ।  सुरुमा १२ अर्ब २८ करोड रहेको लागत आयोजनामा भएको ढिलाइसँगै २० अर्बको हाराहारीमा पुगेको छ ।  पीपीए भएको १४ वर्ष र आयोजना निर्माण सुरु भएको १२ वर्षसम्म पनि आयोजना सम्पन्न हुन नसक्नुमा आयोजनाले ठेकेदारको गल्ती देखाउने गरेको छ । 

‘वेट टेस्टिङ’ र परीक्षण उत्पादन गरी २०७९ को चैतबाटै व्यवसायिक उत्पादन सुरु गर्ने कम्पनीको तयारी थियो ।  तर, आयोजनाको गुणस्तरमा ध्यान नदिएका कारण ‘वेट टेस्टिङ’ गर्दा सुरुङबाट पानी चुहिएको थियो ।  सुरुङबाट पानी निस्केको विषयमा प्राविधिक विशेषज्ञले अध्ययन गर्न झण्डै ३ महिना लगाएका थिए । 

यसअघि २०८० मा ‘वेट टेस्टिङ’का क्रममा बाँधको संरचना सकेर सुरुङमा माघको तेस्रो साता पानी पठाइएको थियो । त्यसको केही दिनमा सुरुङबाट पानी चुहिएको थियो ।

प्रसारण लाइन निर्माणमा राजनीतिकरण

प्रसारण लाइनमा समेत वर्षौंसम्म समस्यामा परेको आयोजनामा अघिल्लो महिना सहमति भएको थियो । प्रसारण लाइन निर्माण २०७४ मा सुरु भएपनि स्थानीय जनता तथा राजनीतिक दलहरूले अवरोध पुर्‍याएका कारण लामो समय अवरोध भएको थियो ।

आयोजनाको प्रसारण लाइन निर्माणमा लामो समय नेपाली कांग्रेसका सिन्धुपाल्चोकका नेता मोहन बस्नेतले अवरोध पुर्‍याउन लगाएका थिए । कम्पनीले सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको ठूलो रकम उपलब्ध गराउनुपर्ने माग गरे झण्डै डेढ वर्ष प्रसारण लाइनको काम रोकिएको थियो ।

बाह्रबिसे नगरपालिका–५ स्थित आयोजनाको विद्युतगृहको स्विचयार्डबाट सोही नगरपालिका–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा १४ महिनादेखि २ किलोटिर तार तान्नमा अवरोध ०८१ भदौमा सीएसआरअन्तर्गत ११ करोड उपलब्ध गराउने सहमतिपछि प्रसारण लाइनको काम सुरु भएको थियो । 

आयोजनाको खिम्ती–बाह्रबिसे ४०० केभी प्रसारण लाइनका काम सकिएपछि परीक्षणको तयारीमा रहेको शिवाकोटीले जनाए । “आयोजनाको प्रसारण लाइन २२० केभी हो । बाह्रबिसे–खिम्ती ४०० केभीको हो,” उनले भने, “२२० केभीबाट ४०० लैजान केही बाइपासको काम बाँकी छ । ४०० को जिआइएस ट्रान्सफर्मरहरू जोड्ने काम सकिएका छैनन् । बाह्रबिसे र खिम्तीमा केही काम बाँकी छ ।”

४०० केभीको जिआइएस बाइपास गरी २२० केभीको जिआइएसबाट काम चलाउने तयारीमा रहेको शिवाकोटीले जानकारी दिए । 

बाह्रबिसे नगरपालिकामा २२०/१३२ केभी सबस्टेसन २०८१ असारमा निर्माण सकिएको थियो । बाह्रबिसे सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, पाँच एमभीएका पावर ट्रान्सफर्मर छन् । ग्याँस इन्सुलेटेड प्रणाली (जीआईएस) प्रविधिमा आधारित सबस्टेसनका सम्पूर्ण उपकरणको परीक्षण सम्पन्न भइसकेको छ । 

मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् यही सबस्टेसनमा जोडिने तयारी छ । मध्यभोटेकोसी जलविद्युत आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि सोही विद्युत् प्रयोग गरी बाह्रबिसे सबस्टेसनलाई चार्ज गर्ने तयारीमा कम्पनी छ । 

सुरु गरेको करिब १२ वर्षसम्म पनि आयोजना नसकिनुमा सिन्धुपाल्चोकको जुरे पहिरो, भारतीय नाकाबन्दी, भुकम्प, कोभिड जस्ता समस्या देखाउने गरेको छ ।

आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकलको काम इञ्जिनीयरिङ, खरीद र निर्माण (इपिसी) ढाँचामा ठेक्का लिएको चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कार्यसम्पादन कमजोर हुँदा पनि आयोजनाको काम निकै ढिला भएको थियो । 

आयोजनाको प्रवद्र्धक मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडमा प्राधिकरणको दश प्रतिशत संस्थापक सेयर छ । 

मध्यभोटेकोसीमा नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीको १ प्रतिशत सेयर छ । नेपाल अरनिको हाइड्रोपावर कम्पनीको एक, सिन्धु इन्भेस्टमेण्ट कम्पनीको एक र सिन्धु भोटेकोसी हाइड्रोपावरको एक प्रतिशत गरी ५१ प्रतिशत संस्थापक सेयरधनी छन् ।

त्यस्तै ४९ प्रतिशत साधारण सेयरधनीमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५, ऋणदाता संस्थाका कर्मचारीको एक, सिन्धुपाल्चोकबासीकोे १० र सर्वसाधारणको १५ प्रतिशत सेयर छ । 

आयोजना बिजुली उत्पादन सुरु गर्न नसक्दा दोस्रो बजारमा सेयर मूल्य समेत निक्कै घटेको छ । यसअघि उच्चतम मूल्य ४३३ रुपैयाँ पुगेको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको सेयर घटेर आइतबार (जेठ ११)मा ३१२ रुपैयाँ प्रतिकित्तामा झरेको छ । दोस्रो बजारमा ६० करोड कित्ता सेयर सूचीकृत छ । 

उत्पादन सुरुपछि आयोजनाले वार्षिकरुपमा ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः ८.४० र ४.८० रुपैयाँमा खरिद गर्नेछ । यसबाट वार्षिक २ अर्ब ८० करोड रुपैयाँ आम्दानी हुने कम्पनीले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  ०९:४७
प्रतिक्रिया दिनुहोस्