
काठमाडौं । अनलाइन बेटिङ (सट्टेबाजी)मा संलग्न आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । सोमबार (जेठ १९) राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँच भारतीय नागरिकसहित १७ जनालाई पक्राउ गरेको हो ।
उनीहरूले ललितपुरको नख्खुस्थित सनराइज अपार्टमेन्टको फ्ल्याट र धापाखेलमा एउटा घर नै भाडामा लिएर सट्टेबाजी खेलाउने गरेका प्रहरीले जनाएको छ । उनीहरूले विगत पाँच महिनादेखि घर र फ्ल्याट भाडामा लिएर सट्टेबाजी खेलाउने गरेको देखिएको कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए ।
सट्टेबाजी सञ्चालक भारतीय नागरिक रहेको खुलेको छ । पक्राउ परेका नेपाली विभिन्न मितिमा भिजिट भिसामा दुबई पुगेका र त्यहाँ कामको खोजीमा अलपत्र परेपछि अनलाइन बेटिङ गराउने समूहमा संलग्न भएका प्रहरीले जनाएको छ ।
नेपालीलाई मासिक तलब दिएर अनलाइन बेटिङको धन्दामा लगाइएको खुलेको छ । अछामका डायमण्ड कुँवरसहित १२ नेपाली पक्राउ परेका छन् ।
उनीहरूले बेटिङमार्फत सबै रकम भारतीय बैंक खातामा ट्रान्सफर गर्ने गरेको खुलेको छ । उनीहरूले ८० करोड रुपैयाँबराबरको कारोबार गरेको प्रहरी अनुसन्धानका क्रममा देखिएको छ । सट्टेबाजीका निम्ति उनीहरूले सेभेन बेट, ३६५ बेट साइट प्रयोग गर्ने गरेका थिए ।