site stats
बाह्रखरी :: Baahrakhari
देश
भुटानका राजा–रानी निजी भ्रमणका क्रममा शुक्रबार काठमाडौं आउँदै 

काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक र रानी जेट्सुन पेमा वाङ्चुक शुक्रबार निजी भ्रमणको सिलसिलामा नेपाल आउने भएका छन् ।

उनीहरू भारत भ्रमण सकेर फर्कने क्रममा काठमाडौं आउन लागेका हुन् । काठमाडौंमा तीनदेखि चार घण्टा बिताउने कार्यक्रम छ । 

“भुटानको राजा–रानी शुक्रबार बिहान काठमाडौं आउँदै हुनुहुन्छ । यो उहाँहरूको निजी भ्रमण हो । उहाँहरूले तीनदेखि चार घण्टा काठमाडौंमा बिताउने कार्यक्रम छ,” परराष्ट्र मन्त्रालय स्रोतले बाह्रखरीसँग भन्यो ।

Argakhachi Cement Island Ad

भुटानका राजा–रानीले मंसिर २० देखि २१ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने कार्यक्रम छ । 

भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार भुटानका राजा–रानी स्थानीय समयअनुसार बिहीबार बिहान ९ः१० बजे नयाँदिल्ली पुग्नेछन् । सोही दिन बिहान ११ः३० बजे उनीहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । 

बिहीबार दिउँसो ३ः३० बजे भारतका विदेशमन्त्री डा. एस जयशंकरले नयाँदिल्लीको होटेल ताज प्यालेसमा भुटानका राजा–रानीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । 

स्थानीय समयअनुसार शुक्रबार बिहान ८ बजे भुटानका राजा–रानी नयाँदिल्लीबाट नेपालतर्फ लाग्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ । भुटानका राजा–रानी शुक्रबार बिहान साढे ९ बजेतिर काठमाडौं आइपुग्ने कार्यक्रम छ । 

“प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण जानुअगावै राजा–रानीको निजी भ्रमणको निम्ति आवश्यक तारतम्य मिलाइदिन भुटानले हामीसँग अनुरोध गरेको थियो,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, “सोहीअनुसार हामीले निजी भ्रमणको लागि आवश्यक पर्ने गाडी, सुरक्षा व्यवस्था मिलाएका छौँ ।” 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भुटानका राजा–रानी खासगरी तीर्थाटनको लागि नेपाल आउन लागेका हुन् । स्वयम्भु र बौद्धनाथ दर्शन गर्न आवश्यक तयारी भइरहेको छ । 

निजी भ्रमण भएका कारण हालसम्म राजनीतिक भेटवार्ताको कुनै तयार गरिएको छैन । छोटो अवधिको लागि नेपाल आउन लागेका कारण राजनीतिक भेटवार्ता नमिलाइएको स्रोतले बतायो । 

“अहिलेसम्म राजनीतिक भेटवार्ताको कार्यक्रम बनेको छैन,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । 

काठमाडौंमा तीनदेखि चार घण्टा बिताएपछि भुटानका राजा–रानी स्वदेश फर्किने कार्यक्रम छ । केही साताअघि नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह निजी भ्रमणको सिलसिलामा भुटान गएका थिए । भुटानका राजा–रानीले उक्त समयमा पूर्वराजा ज्ञानेन्द्रलाई उच्च सम्मान दिएका थिए । 

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १६:५६
प्रतिक्रिया दिनुहोस्