
काठमाडौं । सप्तकोसी नदीमा बेपत्ता गोताखोरको आज बिहानैबाट खोजी कार्य सुरु भएको छ ।
सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोसी नदीमा मनसुनजन्य विपद्को पूर्वतयारीको अभ्यासका क्रममा सशस्त्र प्रहरी हरदेव राजबंशी र सुरज साउद कोसी नदीमा बिहीबार दिउँसो सवा १ बजे बेपत्ता भएका थिए ।
उनीहरूको खोजी कार्यलाइ तीव्र बनाइएको सशस्त्र प्रहरीका सह प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीबाट डीएसपीको कमान्डमा चारजना गोताखोरसहित ३५ जना र नं. ६ गण सप्तरीबाट विपद् ब्यबस्थापन तालिम प्राप्तसहित डीएसपीको कमान्डमा २० जना सुरक्षा फौज परिचालन गरिएको थापाले जानकारी दिए ।
थप खोजी तथा उद्दारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरका अनुभवी प्रशिक्षक डीएसपी पुरुषोत्तम भण्डारीको कमान्डमा पाँचजना गोताखोरलाई बिहीबार राति नै घटनास्थलतर्फ पठाइएको छ ।
२०६९ सालमा बंगलादेशबाट गोताखोर तालिम लिएका भण्डारी त्यसयता नेपालमा संचालित गोताखोर तालिमका प्रशिक्षक हुन् ।