site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मतपरिणाम दुई दिनभित्र आउँछ : निर्वाचन आयोग

काठमाडौं । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान सुरु भएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान प्रारम्भ भएको हो ।

निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार अपराह्न ५ः०० बजेसम्म मतदानमा दुई लाख २६ हजार सात सय ९९ जनाले मताधिकार प्रयोग गर्नेछन् । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

निर्वाचन आयोगले उपनिर्वाचनको मतपरिणाम दुई दिनभित्र सार्वजनिक गर्ने योजना बनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर १७ गतेभित्रै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको बताए ।

“१७ गतेभित्रमा सबै नतिजा प्रकाशन गर्ने गरी आवश्यक तयारी गर्न लगाइएको छ । राजनीतिक दलका उमेदवारका प्रतिनिधिलगायत सबैले सहयोग गरिदिए समयमा नै मतगणना सकिन्छ,” उनले भने ।

आयोगले एउटा मात्रै केन्द्र रहेको वडामा मतदानलगत्तै मतगणना गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । “एउटा मात्रै मतदान केन्द्र रहेका वडामा मतदान सकिनासाथ मतपेटिका अन्यत्र ढुवानी नगरी सोही स्थानमा गणना गर्ने व्यवस्था गर्नू भनेका छौँ,” थपलियाले भने ।

वडामा एकभन्दा बढी मतदान केन्द्र छन् भने मतपेटिका एकै ठाउँमा ल्याउनुपर्ने उनले बताए । “काठमाडौं महानगरपालिकाको १६ नम्बर र कीर्तिपुरका दुई बाहेकका वडाको परिणाम सोही दिन (राति १२ बजे)सम्म नतिजा निकाल्ने गरी तयारी गर्नू भनेका छौँ,” उनले भने ।

उपनिर्वाचन हुन लागेका स्थानका प्रमुख र उप्रमुखको हकमा १७ गते राति १२ बजेसम्ममा मतपरिणाम सार्वजनिक गर्ने गरी व्यवस्था मिलाइएको थपलियाले बताए ।

“गणना टोली, आवश्यक पर्ने रिसोर्स र सुरक्षाको व्यवस्था मिलाएका छौँ,” उनले भने, “एकभन्दा बढी वडा छन् भने जहाँ पालिकाको केन्द्र छ, त्यहीँ मतगणना हुनेछ । पालिका प्रमुख र उपप्रमुखको गणना १७ गते रातिसम्ममा सकिनेछ ।”

प्रमुख वा उप्रमुख र वडाध्यक्षको चुनाव भएका ठाउँमा पहिले वडाको गणना हुनेछ । कीर्तिपुरको नगरपालिका मेयर र वडा नम्बर १ र ४ मा उपनिर्वाचन हुँदै छ । त्यहाँ पहिले वडाको मतगणना हुनेछ ।

उपनिर्वाचन हुन लागेका तीन पदमा एकल उमेदवारी परेपछि सर्वसम्मत भइसकेको छ । ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसकै टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भइसकेका छन् ।

रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

तीन पदमा सर्वसम्मत भएकाले ४१ पदमा मात्रै मतदान हुनेछ । निर्वाचनको मतपरिणाम आयोगको वेबसाइटबाट हेर्न सकिने आयोगले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  ०७:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro