काठमाडौं । हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले ‘ट्यालेन्ट हन्ट’ कार्तिक ३० गते शुक्रबार गर्ने भएको छ । मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्ल कर्णाली पुगेर त्यहाँका प्रतिभावान खेलाडी छनोट गर्नेछन् । “कर्णाली याक्सले कर्णालीको प्रतिभावान खेलाडी शुक्रबार छनोट गर्दैछ,” प्रशिक्षक मल्लले जानकारी गराए, “हामी कर्णालीमा रहेका र अक्सनबाट छुटेका खेलाडीलाई पनि समेट्ने प्रयास गर्नेछौँ ।”
कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेले ट्यालेन्ट हन्ट विरेन्द्रनगरको कर्णाली रंगशालामा हुने जानकारी गराए । कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका तीव्र गतिका बलर सोमपाल कामी छन् ।
यस्तै, टोलीमा राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्शन झा, देव खनालसहित नन्दन यादव छन् । कर्णाली याक्सले विदेशी तीन खेलाडी पनि अनुबन्ध गरिसकेको छ । वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतले एनपीएपल खेल्ने पक्का भइसकेको छ ।
नेपाली अन्य खेलाडीमा ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् । टिमको हस्पिटालिटी पार्टनरमा हिल्टन होटेल रहेको छ । प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदैछ ।