site stats
बाह्रखरी :: Baahrakhari
देश
पोखरामा हावाहुरीसहित भीषण असिना पानी

पोखरा । बिहानदेखि नै चर्को घाम । दिउँसो २/३ बजेसम्म चर्को घाम लाग्छ पोखरामा । त्यसपछि अचानक आकाश बादलले कालो हुँदै आउँछ । हावाहुरी, भीषण वर्षा र असिना पानी । त्यसपछिको आधा घण्टासम्म पानी र

असिनाले सडक भरिन्छ । कृषिमा क्षति पुर्‍याउँछ । पार्किङ गरेर राखिएका साना सवारीसाधन बाटोमा नै ढलेका भेटिन्छन् । वर्षा सकिएपछि सडक सफा हुन्छ र मौसम शीतल हुन्छ । यो नियति हरेक वर्षको चैतदेखि वर्षा नहुँदासम्म पोखरामा दोहोरिइरहन्छ ।

बुधबार पनि दिउँसो पोखरा आसपासमा एक्कासी अँध्यारो भएर असिनासहितको पानी पर्‍यो ।  पोखराको सृजनाचोक, सिद्धार्थचोक, नागढुंगा, एयरपोर्ट लगायतका क्षेत्रमा बगेर आएको पानी सिधै सडकमा पस्छ । कहिलेकाहीँ त सवारी आवागमन नै रोकिन्छ । 

asina1-1747223416.JPG
 

२०७८ सालमा आएको असिनापानीले पोखराको सडक नै अवरुद्ध भएको थियो ।  बाटोमा थुप्रिएको उक्त असिना सफा गर्न डोजर नै प्रयोग गर्नुपरेको थियो ।  त्यतिबेलामात्रै असिनाले १३ करोड बराबरको कृषि क्षति पुर्‍याएको थियो ।

अहिले भने त्यतिबेलाको जस्तो भीषण असिनापानी त परेको छैन । तर, दिनहुँ आउने असिनापानीले जनजीवन भने अस्तव्यस्त बनाउने गरेको छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १७:३५
प्रतिक्रिया दिनुहोस्