
काठमाडौं । युरोपेली फुटबलको अनुभव लिनु दक्षिण एसियाकै फुटबलरका निम्ति अभूतपूर्व सपना हो । दक्षिण एसियामै पनि औसत फुटबल राष्ट्र नेपाली खेलाडीका निम्ति अझैसम्म पनि यो सपना असम्भवः प्राय छ ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमका दुई सदस्य सावित्रा भण्डारी (साम्बा) र गोलकिपर एन्जिला तुम्बाप्पे सुब्बा नेपालबाट युरोपमा व्यावसायिक फुटबल खेल्ने क्रमशः पहिलो र दोस्रो खेलाडी हुन् । सावित्रा अहिले फ्रान्सकै महिला शीर्ष डिभिजन लिगको क्लब एन एभान्ट ग्वाएग्यापमा अनुबन्धित छिन् । गोलकिपर एन्जिला ग्रीसको निस अट्रोमिटौमा आबद्ध छिन् ।
विश्व फुटबलको मानचित्रमा पछिल्लो समय महिला टोली र फुटबलरले साख जोगाइरहँदा पुरुष फुटबलमा भने यो उपलब्धी शून्य छ । हालसम्म नेपालका कुनै पनि पुरुष फुटबलरले युरोपबाट व्यावसायिक अनुभव लिए सकेका छैन ।
पुरुष फुटबलको यही निराशलाग्दो वास्तविकताबीच नेपालका युवा फुटबलर रेहन शाहले युरोपेली फुटबलमा सनसनीपूर्ण यात्रा तय गरेका छन् । पाल्पा रामपुरका रेहनले फ्रान्सेली लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) को युवा एकेडेमीसम्मको सनसनीपूर्ण यात्रा तय गरिसकेका छन् ।
रेहनको पीएसजी एकेडेमीसम्मको यात्रा
सानैदेखि फुटबलमा औधी रुची । त्यही रुची किशोरवस्थामा पुग्दै गर्दा लगावमा बदलियो । अध्ययनका निम्ति गएको पुषमा मात्रै टर्की (तुर्किया) पुगेका यी युवा विंगर अहिले आफैँले पनि नसोचेको यात्रा तय गर्दै विश्व चर्चित क्लब पीएसजीको युवा एकेडेमीमा छनोट भएका छन् ।
नाम रेहन शाह । उमेरले १५ वर्षमात्रै छुँदै छ । हो, उनै रेहन अहिले फ्रान्स लिगको वानको ‘जायन्ट’ पीएसजीको एकेडेमीमा अनुबन्धित भएका छन् । टर्कीमा अध्ययनरत रेहन शनिबार उनको स्कुल नजिकै भएको छनोट प्रतियोगिताबाट टर्कीस्थित पीएसजीको यू–१८ एकेडेमीमा छनोट भएका हुन् ।
“यहाँ पीएसजीले एकेडेमीका निम्ति छनोट प्रतियोगिता आयोजना गरेको थियो । जसबाट म सबैभन्दा उत्कृष्ट बन्दै एकेडेमीमा छनोट भए,” बाह्रखरीसँगको कुराकानीमा रेहनले भने ।
उनी टर्कीको टेकरदागस्थित इन्टरनेसनल सहिद मुनुर अल्कान अनातोलियन इमाम हातिप हाई स्कूल स्कुलको कक्षा ९ मा अध्ययनरत छन् । आमा राशिदा बेगम र बाबु रेहमान शाहका तीन सन्तामध्येका जेठो छोरा हुन रेहन ।
गएको डिसेम्बरमा मात्रै अध्ययनका निम्ति टर्की पुगेका उनी टेकरदागकै एक होस्टमा बस्छन् । शनिबार छनोटका निम्ति पुग्दा रेहनसँग करिब ६० जना अरु खेलाडी थिए । छनोटमा करिब पाँच दर्जन आफूजस्तै खेलाडी देख्दा रेहनको मनमा पनि ‘डर’ नभएको हैन ।
उनी भन्छन्, “त्यस्तै ६० जनाजति खेलाडी थिए होलान् । डर थियो । तर पनि मैले सबैभन्दा राम्रो गरेको भन्दै त्यहाँका प्रशिक्षकले तारिफ गरे ।”
नेपालमा ६–७ वर्षको हुँदादेखि नै फुटबलको पछि दौडिन लागेको रेहनको स्मरणमा अझै ताजा छ ।
विभिन्न छनोट प्रतियोगितामा पनि उनको सहभागिता रह्यो । त्यही लगावले उनले टर्कीमा पनि निरन्तरता दिए । विङबाट विपक्षीको पोस्टसम्म बल पूर्याउन माहिर रेहनको प्रदर्शनबाट स्कुलका प्रशिक्षक प्रभावित बने । उनैको सल्लाहमा पीएसजीको एकेडेमीमा ट्रायल दिने निर्णयमा पुगेको रेहन बताउँछन् ।
“गाउँमा फुटबल खेल्ने । यहाँ आएर ट्रायल दिन्छु भन्ने मनमा थिए । जे होस् फुटबल चै छोड्दिन भनेर स्कुल र म बस्ने ठाउँ नजिकैको ग्राउन्डमा खेल्थे । स्कुलमा राम्रो खेल्थे । यहाँको एक जना प्रशिक्षकलाई मेरो खेल राम्रो लागेको रहेछ । उहाँकै सहयोगमा ट्रायलमा गए,” उनी भन्छन् ।
प्रदर्शन अब्बल भएकै कारण उनले एकेडेमीमा ७७ प्रतिशत छात्रवृति पाएका छन् । आफू अब्बल बनेका अर्का खेलाडीले ४९ प्रतिशत छात्रवृति पाएको रेहन सुनाउँछन् ।
एकेडेमीका छनोट भएको एक हप्ता पुग्नै लाग्दा अहिले रेहनले दुई दिन प्रशिक्षणमा बिताउँछन् । एकेडेमीले हप्ताको सातै दिन प्रशिक्षण दिने भए पनि आफ्नो अध्ययनका कारण समय व्यवस्थापनमा कठिन भएको रेहनले बताए । फुटबलसँगै पढाईलाई पनि अघि बढाइरहेका रेहन अहिले भने हप्ताको दुई दिन शनिबार र आइतबारमात्रै प्रशिक्षणमा सहभागी हुन्छन् ।
स्पेनिस क्लब बार्सिलोना र सोही क्याटालन क्लबलाई ‘पहिचानसहितको घर’ बनाएका अर्जेन्टिनी फरवार्ड लियोनल मेसीको प्रदर्शनले रेहनलाई लोभ्याउँछ ।
तर, एकेडेमीमा छनोट भएपछि भने पीएसजीका अक्रफ हाकिमी, ओस्मान डेम्बेलेजस्ता स्टार खेलाडीसँग खेल्ने सपना बुनेका छन् रेहनले । तर, त्यहाँसम्म पुग्न अझै धेरै लगावपूर्ण मेहनत आवश्यक रहेको पनि उनले बुझेका छन् ।
“टर्कीमा रहेको पीएसजीको एकेडेमीमा छनोट भए । फ्रान्सकै रहेको पीएसजीको पार्क डे प्रिन्सेससम्म पुग्ने लक्ष्य छ । त्यहाँसम्म पुग्न सजिलो छैन । अझै धेरै मेहनत चाहिन्छ । तर, पनि हाकिमी र डेम्बेलेजस्ता खेलाडीसँग खेल्ने सपना छ,” रेहन भन्छन् ।
उनी परिवारबाट बुवा–आमा दुवैजनाको राम्रो सहयोग र प्रोत्साहन पाएको हुँदा आफ्नो सपना पूरा गर्नेमा दृण छन् । रेहन भन्छन्, “परिवारको सपोर्ट राम्रो छ । परिवारकै कारण यहाँसम्म आइपुगे । ममी–बाबा, भाइहरुले पनि खेल्नुपर्छ भन्नुहुन्छ । सबैजनाले खेल्नुपर्छ भन्ने हुँदा पनि आफ्ना सपनालाई पूरा गर्न सक्छु भन्ने लागेको छ ।”