
काठमाडौं । प्रस्तावित विश्वकै लामो मुक्तिनाथ केबलकार परियोजनाको लगानी तथा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत हुने भएको छ । बुधबार अपराह्न बस्ने लगानी बोर्डको ६२औँ बैठकले विकासकर्ता मुक्तिनाथ दर्शन लिमिटेडले प्रस्ताव गरेको ५७ अर्ब ६४ करोड रुपैयाँ लगानीका साथै अद्यावधि गरेको डीपीआर स्वीकृति गर्ने भएको हो ।
बैठकमा लगानी र डीपीआर स्वीकृतिका लागि पेस हुने बोर्डका प्रवक्ता तथा सहसचिव प्रध्युम्नप्रसाद उपाध्यायले बाह्रखरीलाई बताए ।
मुक्तिनाथले अद्यावधिक डीपीआर २०८० पुसमा लगानी बोर्डमा बुझाइसकेको थियो । प्रस्तावित केबलकारको लम्बाइ ८१ किलोमिटर लामो हुने भएको छ । मुक्तिनाथ केबलकार बने विश्वकै सबैभन्दा लामो हुनेछ ।
यसअघि, केबलकार बनाउन ५५ अर्ब १८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । मुक्तिनाथले केबलकार परियोजनाको डीपीआर र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन बुझाइसकेको छ ।
लगानी र डीपीआर स्वीकृत भएपछि लगानी बोर्ड र मुक्तिनाथबीच केबलकार परियोजना अघि बढाउन आयोजना लगानी सम्झौता (पीआईए) गर्न बाटो खुल्नेछ । पीआईए भएपछि परियोजना काम अघि बढ्नेछ । काम सुरु गरेको पाँच वर्षभित्र केबलकार सञ्चालन गर्ने योजना मुक्तिनाथको छ ।
भारतको हैदरवादस्थित के एन्ड आर इन्जिनियरिङ लिमिटेडले केबलकार परियोजना बनाउनुका साथै लगानीसमेत गर्ने भएको छ । इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्रयाक्ट र लगानी (ईपीसीएफ) खाकामा केबलकार परियोजना बनाउन विकासकर्ता मुक्तिनाथ र के एन्ड आरबीच २०८० आसोज १७ मा प्रारम्भिक सम्झौता भएको थियो । पूर्ण लगानी सम्झौता हुन बाँकी छ ।
छ महिनाभित्र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र डीपीआर स्वीकृत हुने गरी भारतको के एन्ड आर इन्जिनियरिङसँग प्रारम्भिक सम्झौता भएको थियो । डीपीआर र ईआईए स्वीकृतिमा ढिलाइ भएकाले के एन्ड आरको लगानी होल्ड भएको छ ।
त्यसबेला के एन्ड आरले केबलकार परियोजना बनाउनुका साथै अपरिवर्त्य मुद्रामा लगानी गर्ने विषयमा प्रारम्भिक समझदारी भएको थियो । लगानी सम्झौता हुन अझै बाँकी छ । समझदारीअनुसार, कुल रकमको ८० प्रतिशत अर्थात् ४४ अर्ब रुपैयाँ के एन्ड आर इन्जिनियरिङले लगानी गर्ने भएको छ । दुई प्रतिशत आयोजना प्रभावित स्थानीय, ७ प्रतिशत सर्वसाधारण र ११ प्रतिशत संस्थापकको स्वपुँजी लगानी हुने भएको छ ।
ईपीसीएफ मोडेलबाट बन्न लागेको मुक्तिनाथ मुलुककै पहिलो ठूलो परियोजना हो । यसअघि, १२ सय मेगावाटको बुढीगण्डकी जलाशय आयोजना पनि ईपीसीएफ खाकामा बनाउने तयारी भएको थियो । सरकारले ठूला परियोजना ईपीसीएफ मोडेलबाट बनाउने नयाँ वित्तीय खाका ल्याइसकेको छ । यद्यपि, कार्यान्वयनमा आउन सकेको छैन् ।
केबलकारमा टप टू बटम १९ वटा स्टेसन बनाउन प्रस्ताव गरिएको छ । यीमध्ये आठ स्टेसनमा अनिवार्य ओर्लिनुपर्ने व्यवस्था हुनेछ । पाँच स्टेसनमा अत्यावश्यक भएमात्र ओर्लिन पाइने र अन्य ११ स्टेसनमा बास बसेर जान पाइने कम्पनीले जनाएको छ ।
कास्की वीरेठाँटीदेखि मुक्तिनाथसम्म केबलकारमा ७७६ वटा गोन्डोला राखिने भएको छ । केबलकार परियोजना एक हजारदेखि तीनहजार ७०० मिटर उचाइसम्म पुग्ने बताइएको छ । प्रत्येक स्टेसनमा रिसोर्ट बनाउने भुक्तिनाथले जनाएको छ ।
विकासकर्ता मुक्तिनाथका अनुसार, केबलकारको पहिलो स्टेसन काँस्कीको वीरेठाँटी बनाउने प्रस्ताव गरिएको छ । यस्तै, दोस्रो स्टेसन वीरेठाँटीदेखि घोडेपानी १३.३१ किलोमिटर, तेस्रो घोडेपानी–तातोपानी १२.७३ किलोमिटर, चौथो तातोपानी–लेते १६.४४, पाँचौँ स्टेसन लेते–जोमसोम २३.९२ किलोमिटर, छैठौँ जोमसोम–कागबेनी ८.२४ र सातौँ स्टेसन कागबेनी–रानीपौवा मुक्तिनाथसम्म ९ किलोमिटर रहनेछ ।
वार्षिक ३६ लाखले यात्रा गर्ने अनुमान गरिएको छ । केबलकार सञ्चालनमा १३ मेगावाट बिजुली खपत हुनेछ ।