site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौं । मर्स्याङ्दी नदीमा एम.ए. पावरले निर्माण गर्ने जलविद्युत् आयोजनामा कुमारी बैंक लिमिटेडले वित्तीय व्यवस्थापनको अगुवाइ गरेको छ । 

गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राइनास नगरपालिका र तनहुँ जिल्लाको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दीमा ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त आयोजना बन्न लागेको हो । यो परियोजनामा लगानी सम्बन्धी सम्झौता बुधबार (वैशाख ३१ गते) सम्पन्न भएको हो ।

लगानी सम्झौता एम.ए. पावरका अध्यक्ष अनुप आचार्य र कुमारी बैंकका प्रमुख व्यवसाय अधिकृत क्षितिज खड्काको उपस्थितिमा कुमारी बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, सानिमा बैंक, कर्मचारी सञ्चय कोष, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक तथा सांग्रिला डेभलपमेन्ट बैंकको १५ अर्ब १८ करोड ७५ लाख रुपैयाँको संयुक्त लगानीमा आयोजना निमार्ण हुने गरी ऋण सम्झौता भएको छ ।

स्वपुँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दीपक बरालको हुने बताइएको छ । साथै डोल्मा इम्पाक्ट फन्डले पनि कम्पनीमा संस्थापक सेयरको ४९ प्रतिशतसम्म स्वपुँजी लगानी रहने कम्पनीका अध्यक्ष आचार्यले बताए । 

यही समूहबाट हाल सेतीखोला हाइड्रोपावरमार्फत सेतीखोला जलविद्युत् आयोजना २२ मे.वा. निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग ०८० साल कार्तिक १ गते विद्युत् खरिदबिक्री सम्झौता सम्पन्न भई व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति ०८६ साल वैशाख २२ रहेको छ ।

आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृतिका लागि सम्बन्धित निकायमा अन्तिम चरणमा रहेको कम्पनीका अध्यक्ष आचार्यले बताए । 

आयोजनाबाट उत्पादित विद्युत् विद्युत्‌गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल विद्युत् प्राधिकरणको मार्किचोक सब–स्टेसनमा २२०/१३२ केभीमा जोडिने बताइएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १९:१८
प्रतिक्रिया दिनुहोस्