
काठमाडौं । भारतले खालिस्तानी पृथकतावादी आन्दोलनका सहयोगी कश्मीर सिंह गलबाडीलाई पक्राउ गरेको छ । भारतले उनलाई 'नेपालमा बसेर' खालिस्तानी आतंकवादी नेटवर्क सञ्चालन गरेर बसेका हरविन्दर सिंह सन्धु (रिन्डा)को प्रमुख सहयोगी भनेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार, पन्जाबको लुधियानाका कश्मीर सिंह सन् २०१६ को नाभा जेलब्रेकबाट फरार भएका कडा अपराधीमध्ये एक मानिन्छन् । भारतको गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए)ले उनलाई आइतबार पक्राउ गरेको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार, कश्मीर सिंहलाई बिहारको मोतिहारीमा प्रहरीको समन्वयमा पक्राउ गरिएको हो । तर, उनलाई नेपालबाट पक्राउ गरेर भारतीय प्रहरीलाई बुझाइएको हुन सक्ने आशंका गरिएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी रमेश थापाले भने यसबारे कुनै जानकारी नभएको दाबी गरे ।
सन् २०१६ मा भारतको नाभा जेलब्रेक गरेर फरार भएका उनीमाथि रिन्डाजस्ता खालिस्तानी आतंकवादीसँग सक्रियरूपमा जोडिएर सीमापार अपराधमा संलग्न भएको आरोप लागेको छ ।
बब्बर खाल्सा इन्टरनेसनल (बीकेआई) र नेपालमा रिन्डाको आतंकवादी नेटवर्कको महत्त्वपूर्ण कडी भएको भन्दै एनआईएले कश्मीर सिंहलाई फरार अपराधी घोषणा गरेको थियो ।
उनीमाथि भारतमा विभिन्न आक्रमण भएपछि नेपाल आएर खालिस्तानी आतंकवादीलाई आश्रय, लजिस्टिक्स र आतंकवादी क्रियाकलापका लागि पैसा उपलब्ध गराउने काम गरेको आरोप छ ।
कश्मीर सिंहलाई सन् २०२२ मा एनआईए विशेष अदालतले फरार अपराधी घोषणा गरेको थियो । उनीविरुद्ध जमानत नमिल्ने वारेन्ट जारी भएको थियो । एनआईएले उनीबारे जानकारी दिनेलाई १० लाख रुपैयाँको इनाम पनि घोषणा गरेको थियो ।
सन् २०२३ जुलाईमा एनआईएले रिन्डासहित नौ आरोपितविरुद्ध आरोपपत्र दायर गरेको थियो ।
द इन्डियन एक्सप्रेसबाट ।