काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार २०४८ सालदेखि लगातार चुनाव जित्दै आएका छन्् । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीलाई पराजित गर्दै उनले आफ्नो अपराजित यात्रा अघि बढाएका छन् ।
कांग्रेस नेता गच्छदारले ३२१ मतले चौधरीलाई पराजित गरेका हुन् । गच्छदार ३८ हजार ९७२ मत ल्याएर विजयी हुँदा उनकी निकटतम प्रतिस्पर्धी एमालेकी चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरेकी छन् । यसअघि उनले दोस्रो संविधान सभा निर्वाचनमा पनि यिनै चौधरीलाई ६६२ मतले पराजित गरेका थिए । त्यो बेला उनी मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष थिए ।
मंसिर १० र २१ गते निर्धारण गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्तासाझेदार नेकपा माओवादी केन्द्र र प्रतिपक्षी नेकपा एमालेले कम्युनिष्ट गठबन्धन बनाएपछि उनले फोरम (लोकतान्त्रिक) लाई कांग्रेसमा विलय गराएका थिए । असोज ३० गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पार्टी एकीकरण समारोहमा गच्छदारले कम्युनिष्टहरुबाट मुलुकमा जनवादी संविधान ल्याउने प्रयास भएकाले लोकतनत्रको रक्षा गर्न कांग्रेससँग पार्टी एकीकरण गर्नुपरेको प्रतिक्रिया दिएका थिए ।
नेता गच्छदारले २०४८ सालको आम निर्वाचन, २०५१ को मध्यावधी निर्वाचन र ५६ को आम निर्वाचन कांग्रेसबाट जितेका थिए । उनले २०६४ को पहिलो संविधानसभा निर्वाचन मधेसी जनअधिकार फोरमबाट र २०७० को दोस्रो संविधानसभा निर्वाचन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट आफ्नो अपराजित यात्रा यथावत राखे ।
२०४८ सालबाट लागातार चुनाव जित्दै आएका नेता गच्छदार सधैं सत्ताको केन्द्रविन्दुमा रहे । २०४८ पछि गिरिजाप्रसाद कोइरालाको निकट भई उनले छवि प्रभावशाली मन्त्रीका रूपमा स्थापित गरेका थिए । कोइरालाको अवसानपछि पनि उनी कहिल्यै सत्ताबाट बाहिर भएका छैनन् ।
पहिलो संविधानसभा निर्वाचन भन्दा केही समय अघि आफ्ना केही मान्छेले टिकट नपाएको विरोधमा गच्छदारले तत्कालीन पार्टी सभापति कोइरालासँग विद्रोह गरेर कांग्रेस छाडेका थिए । तर कांग्रेससँगको पार्टी एकीकरणमा उनले मधेसी जनताको हक–अधिकार स्थापित गर्न पार्टी परित्याग गरेको बताएका थिए ।
पहिलो संविधानसभा निर्वाचन जितेका गच्छदारले माओवादी नेतृत्वको सरकार सात महिनामै ढलेपछि फोरमलाई फुटाएर आप्mनै नेतृत्वमा फोरम लोकतान्त्रिक गठन गरेका थिए । त्यस पछि फोरम लोकतान्त्रिकका अध्यक्ष बनेका गच्छदार एमाले नेता माधवकुमार नेपालको नेतृत्व गठन भएको सरकारमा सहभागि बनेका थिए ।
गच्छदार पाँच पटक उपप्रधानमन्त्रीका रूपमा र १३ पटक मन्त्रीका रूपमा सत्तामा पुगिसकेका छन् । भर्खरै सम्पन्न निर्वाचनमा उनले मतदातासँग आगामी दिनमा आफु प्रधानमन्त्री हुने भन्दै मत मागेका छन् । यसअघि २०७० को संविधानसभा निर्वाचनमा पनि ‘थारूको छोरोलाई प्रधानमन्त्री बनाउनुहोस्’ भन्दै मत मागेका थिए ।