
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) मा व्यक्तिगत प्रवृत्ति हाबी भएको भन्दै उपाध्यक्षसहित अन्य सात केन्द्रीय सदस्यले असन्तुष्टि व्यक्त गरेका छन् ।
उपाध्यक्ष रोशनकुमार सिंहसँगै सदस्यहरू प्रदीप मजगैया, विक्रम विष्ट, माधव कर्माचार्य, वीरेन्द्र चन्द, अर्जुन पौडेल, जयन्ती भट्ट र दुर्गाराज पाठकले अध्यक्ष चतुरबहादुर चन्दलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
पत्रमा नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको चर्चा सुरु भइसक्दा समेत पहिलो संस्करणको हिसाब पाउन नसकेको, वेस्ट इन्डिजसँग यूएईमा हुने ट्वान्टी–२० शृंखलाका बारेमा बोर्ड बैठकमा जानकारी नदिइएको र अन्य महत्त्वपूर्ण कार्यहरूमा समेत संस्थागत प्रक्रिया, पारदर्शिता र सामूहिक निर्णय प्रणालीमा गम्भीर त्रुटि देखिएका उल्लेख छ ।
ध्यानाकर्षण पत्रलाई वेवास्ता गरी अगाडि बढेमा आगामी दिनमा आउनसक्ने सम्भावित परिस्थितिको जिम्मेवारी क्यानले लिनुपर्ने जनाइएको छ ।
“म पछिल्लो समय क्यानको राजनीतिमा छैन । स्वास्थ्य अवस्थाका कारण पनि म पछिल्लो केही समय सक्रिय हुन सकिन । तर, साथीहरूले हामीलाई वेवास्ता गरियो, एकलपन हाबी भयो भन्ने कुरा आएपछि यसमा मैले उहाँहरूलाई गर्न सक्ने सहयोग गरेको हुँ,” क्यानका केन्द्रीय सदस्य पाठकले बाह्रखरीसँग भने ।