
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलमा नेपाली महिला टिमको इतिहासलाई धेरै लामो पनि होइन । तर, सन् १९८६ बाट अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न सुरु गरेको नेपालको करिब ४० वर्षीय इतिहासलाई ‘नयाँ’ पनि भन्न मिल्दैन ।
त्यसो त नेपाली फुटबलको अभिभावक निकाय (एन्फा)ले मिसन महिला विश्वकप २०२७–३१ को लक्ष्य राखेको छ । जसको अर्थ हुन्छ– सन् २०२७ वा २०३१ मा महिला टिमले विश्वकपमा मञ्चमा प्रतिस्पर्धा गर्ने ।
मिसनअनुसार, सन् २०२७ को विश्वकप पुग्ने पहिलो खुड्किलो हो, आगामी वर्ष अस्ट्रेलियामा आयोजना हुने एएफसी महिला एसियन कप–२०२६ । त्यसको अर्को वर्ष ब्राजिलमा आयोजना हुने तालिका रहेको विश्वकपमा एसियाबाट कुल आठ स्लट छन् । जसमध्ये ६ टोली सोझै छनोट हुने हुँदा अन्य दुई टिमले भने अन्तरमहादेशीय प्लेअफ चरण पार गर्नुपर्ने हुन्छ ।
विश्वकप पुग्न आगामी वर्ष मार्च १ देखि २१ सम्म हुने एसिया कपको नकआउट चरणसम्मको यात्रा तय गर्नुपर्ने हुन्छ । १२ देशको सहभागिता रहने प्रतियोगितामा सहभागी टिमलाई तीन समूहमा विभाजन गरिनेछ । जसबाट प्रत्येक समूहका शीर्ष दुई टोली र अन्य दुई उत्कृष्ट तेस्रो टोलीले नकआउट चरणमा स्थान बनाउनेछन् ।
यही नकआउट चरणबाट सन् २०२७ को विश्वकपमा सोझै छनोट हुने ६ टोली र प्लेअफ चरण खेल्ने दुई टोलीको निर्धारण हुनेछ । सोझो हिसाबमा दुई वर्षपछि आयोजना हुने फिफा विश्वकपमा स्थान बनाउन नेपाली टिमले एसियन कपको नकआउट चरणसम्मको यात्रा तय गर्नुपर्ने हुन्छ ।
यो सम्भव छ ?
पक्कै पनि सन् २०२७ को विश्वकपका स्थान बनाउने लक्ष्य नेपाली महिला टिमका निम्ति ‘फलामको च्युरा’ चपाउनुसरह हो । सम्भावनालाई नकार्न नसकिने भए पनि खेल्छ नै भनेर दाबी गर्न सक्ने स्थिति पनि छैन ।
तर, विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३१ मा आयोजना हुने महिला विश्वकपमा सहभागी राष्ट्रको संख्यालाई ३२ बाट बढाएर ४८ पुर्याउने निर्णय गरेको छ । मिसनअनुसारको तयारी अहिलेबाट नै सुरु गर्ने हो भने विश्वकपको उक्त संस्करणमा भने नेपालको सम्भावना देखिन्छ ।
नेपाली महिला टिममा हाल सबैभन्दा सिनियरमध्येकी एक हुन्, मिडफिल्डर रेनुका नगरकोटे । उनी एन्फा विश्वकप खेल्ने मिसन राख्नु राम्रो भएको मान्छिन् । तर, त्योअनुसारको तयारी नदेखिँदा रेनुकाको खिन्न छिन् ।
रेनुका भन्छिन्, “एन्फाले विश्वकप खेल्ने लक्ष्य राख्नु राम्रो हो । लक्ष्य हुँदा हामीले नभ्याए पनि आगामी पुस्ताले खेल्ने वातावरण पाउँछन् । तर, अहिलेको स्थितिमा लक्ष्यसम्म पुग्न निकै गाह्रो छ । २०२७ मै झनै मुस्किल छ । तर, ०३१ सम्म योजनाअनुसार अघि बढियो भने नेपालले विश्वकप खेल्न सक्छ ।”
लक्ष्य विश्वकपको, तर ४० वर्षमा जम्मा १०० अन्तर्राष्ट्रिय खेल
विश्वकप लक्ष्य भए पनि नेपाली महिला टिम अझैसम्म दक्षिण एसियाबाट माथिल्लो स्तरमा उक्लिने सकेको छैन । सन् २०१० देखि सुरु भएको साफ महिला च्याम्पियनसिपको हरेकजसो संस्करणमा नेपाली टिमले फाइनलसम्मको यात्रा तय गरेको छ । तर, सधैँ उपविजेतामा सीमित बन्दा नेपाली टिम अहिलेसम्म दक्षिण एसियाकै च्याम्पियन बन्न सकेको छैन ।
नेपाली टिमले सन् २०१० मा पहिलोपटक दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा प्रतिस्पर्धा गरेको थियो । त्यसयता १५ वर्षे अवधिमा नेपाली टिमले १३ फाइनल खेलिसक्यो । तर, अझै फाइनलको डेडलक तोड्न नसक्दा च्याम्पियनको तक्मा पाउन सकेको छैन ।
अन्तर्राष्ट्रिय फुटबलमा करिब ४० वर्षे इतिहास रहे पनि अहिलेसम्म नेपाली महिला टिमले ९९ खेल खेलेको छ । अर्थात्, जुन २९ मा एएफसी एसियन कप छनोटअन्तर्गत लाओससँग मैदान उत्रिँदा नेपालले अन्तर्राष्ट्रिय फुटबलमा खेलेको खेल संख्यालाई शतकसम्म पुर्याउनेछ ।
सोमबार छनोट खेल्न जाने नेपाली टिमका निम्ति आयोजित बिदाइ कार्यक्रममा कप्तान एन्जिलाले यसबारे खुलेरै असन्तोष पोखिन् ।
“४० वर्षमा १०० खेल भनेको धेरै नै कम हो । मैले पछिल्लो १० वर्षमा ५० क्याप जितेको छु । त्यो पनि कम हो जस्तो लाग्छ मलाई,” कप्तान एन्जिलाले भनिन्, “तर, पछिल्लो समय हामी धेरै प्रतियोगिता खेल्ने मौका पाएका छौँ । विशेषगरी वाफ महिला च्याम्पियनसिपपछि । अहिलेको हाम्रो लक्ष्य यो छनोट प्रतियोगिता हो । यसमा राम्रो गर्यौँ भने हामीले अझ धेरै अवसर पाउन सक्छौँ ।”
विदेशी प्रशिक्षकको आगमनले थपेको उत्साह
मंगलबार साउदी अरेबिया हुँदै छनोटका निम्ति उज्वेकिस्तान पुग्ने नेपाली टिमको प्रशिक्षण जिम्मेवारीमा छन्, प्याट्रिक डी वाइल्ड । बेल्जियमका ६१ वर्षीय वाइल्डले यसअघि नेपाली घरेलु फुटबलमा भएको नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौं रेजर्सको जिम्मेवारी सम्हालेका थिए ।
यूईएफए प्रो लाइसेन्स प्राप्त वाइल्डको आगमनले नेपाली टिमको नयाँ युग सुरु भएको चर्चा छ । टिम पनि पहिलोपटक विदेशी प्रशिक्षकको आगमनले उत्साहित छ ।
“विदेशी प्रशिक्षक हामीलाई पहिलेदेखि नै आवश्यक थियो । उहाँको आगमनले प्रशिक्षणमा फरक परेको छ । रणनीति बेग्लै छ । अहिलेसम्म तयारी राम्रो छ । यो छनोट हाम्रो लागि अवसर हो । चार वर्षपछि खेल्न पाइने/नपाइने थाहा छैन । त्यसैले अहिलेको यो अवसरलाई हामीले सदुपयोग गर्नुपर्छ,” कप्तान एन्जिलाले थपिन् ।
छनोटमा नेपालले जुन २९ मा लाओससँग खेल्ने तालिका छ । यस्तै, जुलाई २ मा श्रीलंकासँग र जुलाई ५ मा उज्वेकिस्तानसँग खेल्ने छ ।