काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार परिवर्तनको कुरा निरर्थक र भ्रमपूर्ण भएको बताएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलहरूको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री लेखकले सरकार बदलिने कुरा निरर्थक र भ्रमपूर्ण हल्ला भएको बताए ।
उनले यस प्रकारको हल्लाका पछाडि कुनै तर्क र अर्थ नभएको बताए । उनले वर्तमान सरकार बहुमतका साथ अगाडि बढिरहेको भन्दै त्यस प्रकारको भ्रममा नपर्न आग्रह समेत गरे ।
"एउटा निरर्थक हल्ला, भ्रमपूर्ण हल्ला अब यो सरकार बदलिन्छ । आज बदलिन्छ । भोलि बदलिन्छ भन्ने खालका जुन कुराहरू छन् । त्यसका पछाडि कुनै तर्क, अर्थ केही पनि छैन । त्यो निरर्थक र भ्रमपूर्ण कुरा हो । अहिलेको सरकार अत्यन्त बहुमतका साथ अगाडि बढिराखेको छ । त्यो भ्रममा नपर्न पनि आजको बैठकले दृढ विश्वास व्यक्त गरेको छ," उनले भने ।
गृहमन्त्री लेखकले संविधान संशोधन राजनीतिक सहमती निर्माण गरेर गरिने बताए ।