
अर्घाखाँची । पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ढुण्डिराज शास्त्री (पौडेल)को निधन भएको छ । उनको आज बिहान काठमाडौंको केएमसी अस्पतालमा उपचारका क्रममा ९० वर्षको उमेरमा निधन भएको हो ।
अर्घाखाँचीको साविक किमडाँडा पञ्चायत–८ हाल भूमिकास्थान नगरपालिका–८ निमडाँडामा बुबा खेमराज पौडेल र माता सावित्रा पौडेलका जेठो सन्तानका रूपमा विसं १९९३ सालमा जन्म भएको थियो ।
समाजवादी चिन्तक शास्त्रीका दुई श्रीमती, दुई छोरा र दुई छोरी छन् । एक श्रीमतीको भने निधन भइसकेको छ । उनका छोराहरू देश बाहिर रहेकाले उनीहरू आएपछि दाहसंस्कार गरिने उनका पारिवारिक सदस्य अशोक पौडेलले जानकारी दिए ।
शास्त्री विसं २०१० मा भारतको वाराणसीमा अध्ययन गर्दै गर्दा नेपाली कांग्रेसको राजनीतिमा जोडिएका थिए । उनले पढाइ पूरा भएपछि पार्टीका तर्फबाट भूमिगत राजनीति गरे । विसं २०१४ मा नेपाली कांग्रेसले सुरु गरिको भद्र अवज्ञा आन्दोलनमा अर्घाखाँची जिल्लाको अगुवाइ गर्दै उनले पाल्पाको तानसेनमा भाग लिएका थिए ।
विसं २०१५ को आमनिर्वाचनमा सक्रियरूपमा लागेका उनी विसं २०१७ पुस १ गते राजा महेन्द्रले संसद् भंग गरी नेताहरूलाई जेल हालेको समयमा गुल्मी र अर्घाखाँचीका युवालाई क्रान्तिमा संलग्न गराउने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
विसं २०१७ सालपछि उनी भारतमा निर्वासित जीवन बिताएका थिए । शास्त्रीले तत्कालीन समयमा भारतको गोरखपुरमा गोरखपुर महाविद्यालयमा केही समय अध्यापन गराएका थिए । उनी गोरखपुरमा छँदा प्रजातन्त्रको लडाइँका लागि पर्चा पम्प्लेट र पत्रिका प्रकाशित गरी नेपाल पठाउँथे ।
बीपी कोइरालाका कट्टर अनुयायी शास्त्री समाजवादका व्याख्याता थिए । भूमिगतरूपमा अर्घाखाँची र गुल्मीलगायत जिल्लामा नेपाली कांग्रेसको संगठन विस्तारमा उल्लेख्य भूमिका निर्वाह गरेका उनले विसं २०३६ र २०४६ सालको जनआन्दोलनमा पनि नेतृत्वदायी भूमिका खेलेका थिए ।
विसं २०४६ सालको जनआन्दोलनपछि भएको २०४८ सालको निर्वाचनमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट सांसदमा निर्वाचति भएका उनी पछि उद्योगमन्त्री बनेका थिए । उनी विसं २०५१ को मध्यावधि निर्वाचनमा पनि विजयी भएका थिए । त्यसपछिका निर्वाचनमा पार्टीले समानुपातिक सांसद बन्न गरेको आग्रह अस्वीकार गरेका थिए । रासस