शास्त्रभन्दा संस्कार मानिने भएकाले सांस्कृतिक परम्पराको अभिलेखनका लागि शास्त्र पछि लिपीबद्ध गरिएको हो । मस्टो संस्कृति पहाडी खस समुदायको लोकपरम्परा र संस्कृतिको एकमुष्ट रूप हो जुन प्राग्ऐतिहासिक कालदेखि नै निरन्तर रहेको मान्न सकिन्छ । वेद पुराण आदि ग्रन्थमा उल्लेख नभएकाले विद्वानहरूले मस्टो संस्कृतिलाई अवैदिक मानिएको छ । खस समुदायको कुलदेवता मस्टोको उद्गम स्थल खस प्रदेश मानिन्छ ।
योगी नरहरिनाथका अनुसार मस्तक (शिर) शब्दबाट मस्टो शब्द उत्पत्ति भएको हो । वैदिक सनातन धर्मको विकास हुनुपूर्व नै नेपालमा मस्टो परम्पराको विकास भइसकेको हुनुपर्छ । मस्टो देवतालाई कसैले शिवको रूप, कसैले ईन्द्रको रूप त कसैले ईन्द्रका छोरा जयन्तको सन्तान, कसैले पाण्डवको सन्तान, कसैले बालब्रह्मचारी महात्मा योगी मान्छन् ।
प्रकृतिपूजक संस्कारमा कतै ढुङ्गाको शीला, घण्ट, ध्वजापताका राखेर मस्टोको पूजाआराधना गरिन्छ । मस्टो शान्त, दयालु र चाँडै खुसी हुने देवता मानिन्छन् । मस्टो देवताको कुनै निश्चित मूर्ति हुँदैन । यद्यपि, मस्टो देवताको सामान र प्रतीक राख्नको लागि थान अथवा गबिरो बनाइएको हुन्छ । मस्टोको थान प्रायः रुखको फेद तथा ओडारमा पूर्वतर्फ बनाइएको हुन्छ । मस्टो देवता धामीको शरिरमा उत्पन्न हुने भएकाले मस्टोको प्रतिनिधित्व धामीले नै गर्छ्न र धामीकै माध्यमबाट डाङ्ग्रीले पूजा गर्छन् ।
बाह्र भाइ मस्टमध्ये कान्छो मस्टको रूपमा रहेका बाबिरा मस्टो तिब्बती भोट क्षेत्र हुँदै २२ पाटन घुम्दैफिर्दै आउँदा हाल जुम्लाको बादानाउला पाटनमा गहिरो कुवा र झुलाको एक्लो रुख रहेको ठाउँबाट सिधै हाल कालिकोटको तिलागुफा नगरपालिका-३ स्थित फोईमहादेवको रमणीय दहचौर, दहचौरको फूलबारी, गाईको बथान, पूर्वीया मुलो, दियारे डालो देखेर आकर्षित भई फोईमहादेवमा आफैँ उत्पत्ति भएका मानिन्छन् । फोईमहादेवमा महादेव, पुगेली माई, बाबिरा मस्टा, थार्पमस्टा, कालाशिल्ला मस्टा, महावै जगन्नाथलगायत थुप्रै देवीदेवताको बास रहेकोले यस स्थललाई देवभूमिको रूपमा चिन्ने गरिन्छ । फोईमा सबैभन्दा पहिला महादेव र पुगेली माई स्वयम् उत्पत्ति भएका हुन् । यहाँका कालाशिल्ला कालिकोटको बाँचकोटबाट, थार्पमस्टा मुगुको थार्पबाट, महावै जगन्नाथ डिल्लीकोटबाट आएका हुन् भने महादेव र पुगेली माई पछि बाबिरा मस्टो आफैँ उत्पत्ति भएर मूल थलो फोईलाई बनाई यहाँबाट विभिन्न ठाउँमा गएको हो ।
फोईमहादेवको बदमबाडा र माथिल्लो रकलबाडाका टुवाटै (केटाकेटी) दहचौर हुँदै काँध देउरामा गोरु हेर्न सधैँ जाने खेल्ने गर्थे । एकदिन बदमबाडाका मेद्या र जाद्या दुई भाइ गोरु चराउन गएका बेला देउरामा एउटा रातो एउटा सेतो गरी दुईवटा कोइरा (स्थानीय सागको जरा) लाई देउताको घाँट (घण्ट) मानेर, कग्राँतो (स्थानीय जंगली झार) को बियाँलाई चामल मानेर धामी पतुरी खेल्दै थिए । जाद्याले कोइरालाई लुकाएपछि मेद्याले कोइरा कता हराए भनेर रोएछन् । संयोगले घुम्दैफिर्दै आएका बाबिरा मस्टाको उनीहरूमाथि दृष्टि परेछ । अनि देउरामा साँच्चिकै दुई कोइरे घाँट उत्पत्ति भए । कोइरा आकारकै, कोइराजस्तै दुईवटा कोइरे घाँट बाबिरा मस्टाको मुख्य प्रतीकको रूपमा रहेको आजसम्म पनि देख्न सकिन्छ । गोरु चराउने उक्त पाखालाई देउरा पाखा भनिन्छ ।
अर्को दिन मेद्या गज्जड्या भन्ने ठाउँमा चाखो (बारी) जोत्दै थिए । पानी तिर्खा लागेर पानी खोज्न गए । हलोजुवासहित हलगोरु तेहीँनिर नजिकैको तामाखानीमा (करिब ३ हजार १३० मिटर उचाइ, २९.१९२०°उत्तर, ८१.८५९१°पूर्व पुगेर त्यहीँबाट जमिनमुनि छिरेर दहचौरको पूर्वीया मुलो (पूर्व फर्किएको पानीको मुहान)बाट बाहिर निस्केर सिधा एक सियो बनाएर अघि बढ्दै करिब ५०० मिटर पूर्वपट्टि बाबिराले आफ्नो बाहन लाटी धामागाणी अवतार गरेर हलोजुवासहित हलगोरु रोक्न लगाए । त्यो बेलादेखि अहिलेसम्म पनि लाटी धामागाणीको हरेक वर्ष पूजा गरिन्छ । साथै तामाखानीमा अहिले पनि करिब १० वर्गमिटर क्षेत्रफल हलगोरु छिरेको प्वाल देख्न सकिन्छ र त्यहाँ ढुङ्गा खसाल्दा धेरैबेरसम्म प्रतिध्वनि आइरहन्छ ।
पानी खोज्न गएका मेद्या चाहिँ हलगोरु तामाखानीबाट छिरिसकेपछी त्यहाँबाट करिब ४ किमि पश्चिम मैभिड्न्या छहणो(छहरा/झरना) (करिब २७८५ मि.उचाइ, २९.१८४५°उत्तर, ८१.८५३०°पूर्वमा ७ दिन ७ रातसम्म पसे । अर्को दिन धरालीका बर्म्या जैसी भेडा चराउन गएको बेला मेद्याले मैभिड्न्या छहरो (झरना)मा बसेर पणेली(देउताले बोल्ने भाषा) बोलिरहेको देखेपछि गाउँमा खबर गरे । हरेक प्रयत्न गर्दा पनि मेद्या छहराबाट बाहिर निस्केनन् । उनी बसेको ठाउँ अलि अप्ठ्यारो भएकाले तेतिबेलाका बलिया सार्किबाडाका भान्या मुगुरा भन्ने व्यक्तिले तान्न खोज्दा हात नै बाँधिएर चल्न नसक्ने भएछन् । त्यसपछि देउता अवतार भएको हो भन्ने निचोडमा पुगेर फोई गाउँबाट सबै जना जम्मा भई बाजागाजासहित हुम गर्दै प्रसाद बनाउँदै पूजा गरिसकेपछि छहराबाट खुसी हुँदै बाबिरा अवतार भएका मेद्याले पणेली पढ्दै -
" धिउर्याका नगरा भुल्याँ
किरिन्याका कण्ठ भुल्याँ
मेद्याका पणेली भुल्याँ
जाद्याका पकवान भुल्याँ
बलजित्याका सिंदुरको सर्को र पगेणीको फुर्को भुल्याँ"
(धिउर्याले बजाएको बाजामा, किरिन्याले होम गरेको मन्त्रमा, मेद्या धामी डाङ्ग्रीमा, जाद्याले पकाएको प्रसादमा, बलजित्याले लगाएको सिंदुर र सेतो कपडामा आकर्षक भएँ) भनेर छहराबाटै उफ्रेर बलजित्याका काँधमा चढे । अनि दहचौरको पूर्वीया मुलोको करिब ४०० मिटर पुर्वपट्टिको दियार (देवदार) को झाडी भएको ठाउँलाई रोजेर बाबिरा मस्ट उत्पन्न भए । त्यही दिनबाट यो स्थानलाई बाबिरा झाण भनिन्छ र हरेक वर्ष श्रावण शुक्ल अष्टमीको दिन विशेषरूपमा जात्तु पैठ (पूजापाठ) गर्दै आइरहेका छौँ । यहाँ जुम्ला, दैलेख, जाजरकोट, कालिकोटका विभिन्न ठाउँबाट बाबिरा पुज्नको लागि आउनुका साथै अन्यत्र ठाउँमा बाबिरा लैजाने गर्छन् ।
पूर्वीया मुलोको पानी कुलो बनाएर उतिबेलाको जल्दोबल्दो चाँफ्या माल्या भन्ने व्यक्तिले हालको मेहेलसेरातिर लगेपछि पानीको अभाव र बिरोधमा बदमबाडा र माझबाडाकी बजैले कुलोमै आत्महत्या गरिन् । अनि पानीमा रगत परेर रातो पानी बगेपछि बिहान ७ बेलुका ७ महिला पुरुष रगत उखालेर चाँफ्याको सन्तान नष्ट भयो । किन यस्तो भयो भनी खोजी गर्दा पूर्वीया मुलोको पानी ल्याएको विरोधमा आत्महत्या गरेकी बजैहरूको सराप परेर भन्ने थाहा पाएपछि त्योबेलाबाट पूर्वीया मुलोको पानी कसैले कतै पनि लान आँट गरेनन् । साथै त्यो पानीको प्रयोग बाबिराले आफ्ना भारा नुहाउन र फोईकै मान्छे, गाईवस्तु र खेतीको लागि हुँदै आइरहेको छ । आत्महत्या गर्ने सासुबुहारी दुवैले देवीको रूप धारण गरेर माझबाडाको पूर्वपट्टि र महादेव थानको पश्चिमपट्टि आफ्नो स्थान थापना गरेर बस्न थालिन् । त्यतिबेलादेखि हालसम्म ऊनै देउतीको पूजा गरिरहेका छौँ ।
फोईको बाबिरा र जुम्लाको बाबिरा गुठीसम्बन्धी केही किंवदन्ती -
१.कुनै समयमा महामारी भएछ । सरकारबाट बाजा नबजाउने, मान्छे जम्मा नहुने, पैठ नगर्ने भन्ने आदेशको प्रचार र अनुगमनको लागि हिड्दै गर्दा सरकारी टोली हालको तिलागुफा-४, राँचुलिमा बास बसेछन् । बास बसिरहेकै बेला फोई बाबिरामा दमायाँ बजाएको, पैठ गरेको थाहा पाएपछि धामीलाई पक्राउ गर्न हाकिमले सिपाही पठाएछन् । सिपाहीले धामीलाई लिन खोज्दा सिपाहीलाई रोक्दै बाबिराका धामीले पतुर्दै भनेछ्न - "मकन लिनुभन्दा पहिला म तेरो हाकिमका घर पुगेर आउछु पख! तेरो हाकिमका घरको डिलपट्टी बिउराको रुख रहेछ त्यहाँ लुकेर बसेको थियेँ, तिथा भन्ने महिलाले मलाई रातीमाटोले हानिन मेरो पिन्डाँ (पिठ्युँ) मा रातीमाटोको छाप लागेकोछ" भनी बिउराको गेडा दिँदै सिपाहीलाई पठाएछ्न् । धामीका सबै कुरा पत्याएर टोली फर्कियो । त्यसपछि सरकारको तर्फबाट बाबिरा देउतालाई आसागुर्जा चढाउन र गुठी स्थापनाको लागि टोली पठाए । उक्त टोलीले बाबिरा खोज्दै जाँदा बाटोमा सोध्दा बाबिरा गाउँलाई सोधेको होला भनेर जुम्लाको बाबिरा गाउँको नाम र बाटो बताएछन् अनि टोली बाबिरा गाउँमा गएर बाबिरा गुठी स्थापना भएको रहेछ ।
२.फोईमहादेवको दहचौरमा बाबिरा मस्टो उत्पत्ति भएपछि यहाँबाट विभिन्न ठाउँमा गएको देखिन्छ । फोईको बाबिराबाट जुम्लाको बादानाउलामा सोझै स्पष्ट दृष्टि पर्छ, बादानाउलामा बाबिरा मस्टाको घाँट उत्पन्न भएपछि बाबियो (डोरि, कुचो बनाउन प्रयोग गरिने घाँस) को चुल्ठोमा बाबिराको धजाखुटो जुम्ला गएकाले फोईको बाबिरालाई जेठो मानिन्छ । त्यसैले पनि फोई बाबिराका धामी जुम्ला बाबिरा जाँदा जुम्लाको धामीले फोईका धामीलाई छाप बिदो नदिने रहेछन् ।
३.बादानाउलामा आफैँ उत्पत्ति भएको बाबिराको घाँट घुम्दैफिर्दै आएका एकजना योगीले राम्रो र अचम्म मान्दै काठमाडौं लिएर गएछन् । केही समयपछि बाबिराले आफ्नो बाहन लाटी धामागाणीलाई योगी बस्ने हनुमानढोकामा पठाएर बाबिराबाटै चामल छरिदिएपछी हनुमानढोकामा बाबिराको शक्तिले हलचल मच्चिएछ । किन कसरी येस्तो भयो भनी खोजी गर्दा बाबिराको घाँट र शक्तिको कारण भएको थाहा भएपछि बाबिरा देउतालाई सरकारी तर्फबाट बाबियो घण्टसहित कोसेली पठाइयो । बाटोमा हिँड्दै गर्दा बाबिराको खोजीगर्दै गर्दा फोईको बाबिरालाई नभनी जुम्लामात्र देखाइएकाले जुम्लामा मात्र बाबिरा गुठी कायम भएको र बाबिरा थान स्थापना गरिएको हो । जुम्लासँगै फोईमा पनि गुठी कायम हुनुपर्ने हो तर छुटाइयो । जुम्लामा बाबियो अन्यत्र ठाउँ पाइदैन तर बाबिरा थाननजिकै एकमात्र ठाउँमा पाइन्छ ।
४.बदमबाडाकै बाबिरा र बुडुका मस्टोका धामी डाङ्ग्रीको आन्तरिक मनमुटाव, गाउँमा मान्छेको कमी, जिम्मेवारी पाएका व्यक्तिको अनुपस्थितिजस्ता विविध कारण बाबिराका धामी ननिस्केर पहिलाजस्तो भव्य पूजापैठ केही समयदेखि हुन छोडेको छ ।
अलिखित संस्कृति भएकाले परम्परा र अनुभव अभिलेखन हुन सकेनन् । स्थानीय श्रुति परम्परालाईनै आधार मानेर गहिरो अध्ययन र अनुसन्धान हुन जरुरी देखिन्छ ।
(बाबिरा मस्टो हाम्रो कुलदेवता भएकाले यससम्बन्धी चासो भएर बाबिराकै पूजारी पालीहरु ८७ वर्षीय लक्ष्मीप्रसाद पाण्डे, ८६ वर्षीय धनप्रसाद पाण्डे, ७४ वर्षीय मणिचन्द्र पाण्डे, ७४ वर्षीय नन्दबहादुर शाही, ७४ वर्षीय बालाकृष्ण पाण्डे, ६२ वर्षीय कर्णाखर पाण्डे, हरिमाया उपाध्याय, बर्मा उपाध्याय स्थानीय ज्येष्ठ व्यक्तित्वहरूको भनाइसँगै सम्बन्धित विषय वस्तुको विस्तृत अध्ययनपछि तयार गरिएको लेख हो ।
तिलागुफा नगरपालिका-३, फोईमहादेव, कालिकोट
pandeypawan9844@gmail.com