site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बीपी, गणेशमान र महेन्द्रनारायण पुत्र भावी सभापतिमा एकल उमेदवार बनाउन खोज्दै

काठमाडौं । नेपाली कांग्रेसका नेताहरू डा. शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिबीच भेटवार्ता भयो, यही असोज ७ गते ।

कांग्रेसको महामन्त्री भइसकेका तीन नेताबीच व्यक्तिगत सद्भावका लागि मात्र भेट भएको हो वा राजनीतिक भन्ने विषयमा नेताहरूले औपचारिक धारणा खुलाएका थिएनन् ।

तीन नेताबीचको भेटवार्ताको आयोजक रहेका डा. शशांक कोइरालालाई सोधियो, ‘‘त्यो भेटवार्ता केका लागि हो ?’’

Argakhachi Cement Island Ad

जवाफमा कोइरालाले भेट राजनीति प्रेरित रहेको तर, त्यो व्यक्तिगत सदभावकै कारण सम्भव भएको बताएका छन् । उनका अनुसार, भेटवार्तामा कांग्रेसको आगामी नेतृत्व र कांग्रेस राम्रो बनाउने विषयमा छलफल भएको छ ।

कांग्रेसका संस्थापक सभापति बीपी कोइराला, संस्थापक नेता गणेशमान सिंह र तत्कालीन महामन्त्री महेन्द्रनारायण निधिका पुत्रहरूबीचको वार्ताको प्रयोजनबारे टिप्पणी भइरहेका छन् ।

तीन नेताबीच आउँदो महाधिवेशनमा ‘समझदारी’ गर्ने योजनानुरुप भेटघाट भएको देखिन्छ । “हामी ‘लार्जेष्ट’ पार्टी छौँ । तर, हाम्रो संगठन शिथिल अवस्थामा छ,” डा. शशांकले भने, “यसरी हुँदैन र यो पार्टी राम्रो बनाउनुपर्छ भन्नेमा हाम्रो समझदारी बनेको छ ।”

सिंह र निधि दुवै कांग्रेस सभापतिमा शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरिसकेका छन् । दुवै पराजित हुन् । भावी नेतृत्व निम्ति साझा समझदारी, सहकार्य र विश्वाससहित अन्त्यमा सहमति हुनसक्ने कोइरालाले बताए ।

डा. शशांकले भनाइमा, एउटा समझदारी बनाउँदै सहकार्य गर्ने हो । हामी कांग्रेसको राम्रो भविष्यका लागि मिलेर अघि बढौँ भन्ने समझदारी मात्र भएको छ । सम्भव भएसम्म एकसाथ नेता कार्यकर्तासँग भेटघाट गर्छौ, सँगसँगै जान्छौँ । ‘‘भावी सभापतिको उमेदवार चाहिँ को बन्छ र कसरी टुंगो लाग्छ त ?’’ जवाफमा कोइराला भन्छन्, “उमेदवार बन्न त मलाई पनि इच्छा छ, प्रकाशजी, विमलजीलाई पनि छ । तर, त्यो इच्छामा कार्यकर्ताको इच्छा मिलेपछि मात्र निर्णायक हुन्छ ।’’

उनले आफूहरूबीच उच्चस्तरको विश्वासको वातावरण र समझदारी निर्माण गर्ने प्रयत्न भइरहेको बताए ।

तीन नेताबीच यसरी नै १४औँ महाधिवेशनको संघारमा पनि भेटवार्ता भएको थियो । तत्कालीन उपसभापति विमलेन्द्र निधिले आफ्नो वैवाहिक वर्षगाँठमा ‘लञ्च मिटिङ’ राखेर सुरु भएको भेटवार्ताको श्रृंखला नै चलेको थियो ।

तर, सहमति नहुँदा निधि र सिंह दुवै सभापतिको उमेदवार बने । उता डा. शशांक महामन्त्रीबाट केन्द्रीय सदस्यमा चुनाव लडेर दोस्रो सर्वाधिक मत ल्याएका थिए । सिंह र निधि दुवैले दोस्रो चरणमा देउवालाई सहयोग गरेका थिए । तर, आउँदो महाधिवेशनमा तीनमध्ये एक मात्र उमेदवार हुने उनको भनाइ छ । “हिजोको अनुभवले पनि हामीलाई परिपक्व निर्णय गर्न सघाउने छ,” डा. शशांकले भने ।

उनी चुस्त र सशक्त संगठन र नागरिकसँग जोडिने कार्यक्रम अनिवर्य सर्त भएको बताउँछन् । कांग्रेस ‘मास वेस’ पार्टी भएकाले देशकोे ‘मुड’ बुझ्नु र नागरिककको ‘पल्स’ छाम्नु दुई अनिवार्य सर्त भएको उनको बुझाइ छ ।

“सर्वप्रथम त देशको ‘मुड’ के हो त्यो बुझ्नु पर्‍यो । मास बेस पार्टीले जनताको ‘पल्स’ छाम्न सक्नुपर्यो,” डा. शशांकले भने, “त्यसका लागि हाम्रो संगठनको स्वरुप त्यस ढंगले निर्माण गर्नुपर्‍यो । संगठन सशक्त पनि हुनुपर्‍यो ।”

उनले जनतासँग जोडिने संगठन नहुँदासम्म जनताको ‘पल्स’ छाम्न नसकिने बताए । कांग्रेसको संगठन लथालिंग भएको र मास बेस पार्टीका लागि नसुहाउँदो रहेको उनको बुझाइ छ । “हाम्रो पार्टी त मासबेस पार्टी हो । मास बेस पार्टीमा कार्यकर्ताभन्दा धेरै महत्त्व विचार र कार्यक्रमको हुन्छ,” डा. शशांकले भने ।

कांग्रेसमा ९ लाख क्रियाशील सदस्य छन् । उनी भन्छन्, “ती सदस्य त कांग्रेसको नेतृत्व निर्माणमा निर्णायक हुन् सिंगो कांग्रेस निर्माणका निर्णायक जनता हुन्,” डा. शशांकले भने ।

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १९:३८
प्रतिक्रिया दिनुहोस्