site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विपीन जोशीको रिहाइका निम्ति विश्व समुदायको ध्यानाकर्षण

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको सकुशल रिहाइका निम्ति सहगोग गरिदिन विश्व समुदायसँग आग्रह गरेकी छन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन उनी हाल अमेरिकाको न्युयोर्कमा छिन् ।

असंलग्न राष्ट्रहरूको संगठन (नाम)को मन्त्रिस्तरीय बैठकमा उनले जोशीको रिहाइका निम्ति विश्व समुदायको ध्यानाकर्षण गराएकी हुन् । उनले नेपाल जोशीको स्वागतका निम्ति व्यग्र प्रतीक्षामा रहेको भन्दै सहयोग गर्न आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गत अक्टोबरमा लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणमा १० नेपालीको ज्यान गएको थियो । आक्रमणपछि हमास लडाकुले जोशीलाई अपहरण गरी लगेका थिए । उक्त हिंसात्मक आक्रमणमा परी अरू पनि कैयौँ मानिस मारिएका थिए ।

नेपाल सरकारले हमलाको निन्दा र जोशीको सकुशल रिहाइको माग गर्दै आएको मन्त्री डा. राणाले उक्त बैठकमा बताइन् । उनले विश्वमा हाल शान्ति स्थापनाका निम्ति सामूहिक पहलको खाँचो रहेको पनि औँल्याइन् ।

विभिन्न नाम र बहानामा विश्वका कैयौँ ठाउँमा हाल युद्व, विद्रोह र हिंसाजन्य कार्य भइरहेकाले त्यो अन्त्य र शान्ति स्थापनाका निम्ति विश्वले नै सामूहिक पहल गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो ।

“मलाई लाग्छ, दोस्रो विश्वयुद्धपछि अहिले विश्वका धेरै स्थानमा द्वन्द्व बढेको छ । त्यसैले इतिहासकै अत्यन्त जटिल मोडमा हामी उभिएका छौँ र सशस्त्र द्वन्द्वबाट नागरिकहरूको रक्षाको लागि उच्च प्राथमिकताका साथ काम गर्नु परिरहेको छ,” उनले भनिन् ।

विश्वका देशहरू यस्ता द्वन्द्व रोक्न, युद्धबाट सिर्जित समस्याको समाधान खोज्न र नागरिकमा शान्ति र अमनचयन कायम गर्न चुकेको अवस्था देखिएको उनले उल्लेख गरिन् । उनले हिंसाजन्य कार्य तत्कालै रोकी समस्याको शान्तिपूर्ण निकास खोज्न आग्रह गरिन् ।

मन्त्री राणाले इजरायल–प्यालेस्टाइन, रुस–युक्रेन वा यस्ता प्रकारका द्वन्द्वको समाधान रचनात्मक तरिकाबाट खोज्न र हिंसा अन्त्यका निम्ति दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध पनि गरिन् ।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  ११:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro