site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बंगलादेशमा पढेका मेडिकल विद्यार्थीलाई नेपालमै इन्टर्नसिप गराउन कति सम्भव ?

काठमाडौंबंगलादेशको असहज परिस्थितिका कारण नेपाल फर्किएका एमबीबीएस तथा बीडीएस अध्ययनरत विद्यार्थीहरूले नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग पटकपटक राख्दै आएका छन् । नेपालमै इन्टर्नसिप गरेर नेपाल मेडिकल काउन्सिलमा दर्ता हुन पाउनुपर्ने माग उनीहरूको जोड छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भने बंगलादेशमा अध्ययनरत कलेजले तोकेकै मेडिकल कलेजमा इन्टर्नसिप पूरा गर्नुपर्ने प्रस्ट पारिसकेको छ । 

शिक्षाले परराष्ट्र मन्त्रालयमार्फत बंगलादेशको सम्बन्धित निकायमा समन्वय गरेपछि त्यहीँ इन्टर्नसिप गर्नुपर्ने व्यवस्था रहेको जनाएको छ । मन्त्रालयले भदौ २६ गते सूचना जारी गर्दै यसबारे विद्यार्थीलाई जानकारी गराएको छ ।

mohp_page-0001-1726491427.jpg
बंगलादेशको कानुनी व्यवस्थाबारे जानकारी माग गरी नेपालबाट गरिएको पत्राचारमा बंगलादेशको परराष्ट्र मन्त्रालयले दिएको जवाफसमेत शिक्षाले सार्वजनिक गरेको छ ।

mohp_page-0004-1726491432.jpg
तर, नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन बंगलादेशले शिक्षा मन्त्रालयको जवाफले अन्योल थपेको भन्दै असन्तुष्टि जनाएको छ । एसोसिएसनले मन्त्रालयको अध्ययन समितिले समेत काम नगरेको आरोप लगाएको छ ।

नेपालमै इन्टर्नसिप र नेपालमै दर्ता हुने गरी बंगलादेशका सम्बन्धित निकायहरूको धारणा माग गर्न र यसको कानुनी प्रावधानबारे अध्ययन गर्न बनेको समितिले विद्यार्थी छल्ने काममात्रै गरेको एसोसिएसनको आरोप छ ।

भदौ २८ गते जारी एसोसिएसनको विज्ञप्तिमा भनिएको छ, "बंगलादेशको सुरक्षा संवेदनशीलताको कारण नेपालमै इन्टर्नसिप गराउन माग गरिएकामा सोभन्दा पृथक खालका जानकारी माग गरी प्रक्रियामा झन अन्योल थपेको छ ।"

dhaka-1726493609.jpgनेपालमै इन्टर्नसिप गर्ने वातावरण मिलाउन विद्यार्थीको माग छ । माग सम्बोधन नभए आन्दोलनमा उत्रिने उनीहरूले  चेतावनी दिएका छन् ।

नेपालमा इन्टर्नसिप गराउन सम्भव छ ?

नेपाल मेडिकल काउन्सिल अहिले शिक्षा मन्त्रालयकै निर्णयमा चलिरहेको छ । काउन्सिलका राजिस्ट्रार डा. सतिशकुमार देव नेपालमा इन्टर्नसिप गराउनै नमिल्ने प्रावधान नरहेको बताउँछन् ।

“विदेशमा पढेका विद्यार्थीलाई त्यहाँ विशेष परिस्थिति सिर्जना भएमा नेपालमै इन्टर्नसिप गराई दर्ता गर्न चाहिँ मिल्छ । हाम्रो कानुनले यो कुरामा रोक्दैन । तर, विशेष परिस्थिति रहेको पुष्टि चाहिँ हुनुपर्छ,” डा. देवले बाह्रखरीसित भने ।

उनका अनुसार, बंगलादेशबाट अध्ययन गरेर आएका विद्यार्थीको हकमा उनीहरू अध्ययन गरिरहेका कलेजले नै विशेष परिस्थितिका कारण नेपालमा इन्टर्नसिप गराउन अनुमति दिनुपर्ने हुन्छ ।

कोभिडकालमा यही विशेष परिस्थितिको प्रावधानमा रहेर दुईवटा ब्याचका विद्यार्थीलाई नेपालमै इन्टर्नसिप गर्ने व्यवस्था मिलाइएको थियो ।

बंगलादेशमा उनीहरू फर्किनै नसक्ने अवस्था छैन

बंगलादेशमा भड्किएको हिंसाका कारण त्यहाँ अध्ययन गरिरहेका झन्डै १५ सय नेपाली विद्यार्थी नेपाल फर्किएका थिए । तीमध्ये अधिकांश विद्यार्थी पुन: फिर्ता गइसकेका छन् ।

बाँकी रहेका विद्यार्थी पनि फर्किएर आफ्नै कलेजमा इन्टर्नसिप पूरा गर्न सक्ने अवस्था रहेको ढाकास्थित नेपाली दूतावासका एक अधिकारीले बताए ।

mohp_page-0003-1726491430.jpg“नेपाली विद्यार्थीलाई फर्किनै नसक्ने अवस्था छैन । कोभिडकालजस्तो होइन,” दूतावासका एक अधिकारीले बाह्रखरीसित भने ।

तर, इन्टर्नसिप गराउने/नगराउने सन्दर्भमा नेपाल सरकारकै निर्णय अन्तिम हुने उनको धारणा छ ।

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  ०७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro