काठमाडौं । नेपालकी प्रिया राईले एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा स्वर्ण जितेकी छन् । मलेसियाको सबाहमा भएको महिला ७८ किलोमिटर दुरी प्रियाले १० घण्टा ५९ मिनेट ४८ सेकेन्डमा पूरा गरिन् ।
सोही स्पर्धामा नेपालकी रशिला तामाङले कांस्य जितिन् । रशिलाले निर्धारित दुरी तय गर्न १३ घण्टा १५ मिनेट ०९ सेकेन्ड समय खर्चिन् । यस स्पर्धामा नेपालका छोकी शेर्पा सातौँ, पदमकुमारी सुनुवार आठौँ र आङ फुर्वा शेर्पा २२औँ स्थानमा रहे । ३५ खेलाडी सहभागी थिए ।
पुरुष ७८ किलोमिटर दुरीमा नेपालका चार खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पैँचालिस धावक सहभागी स्पर्धामा अर्जुन कुलुङ राईले १०औँ, लोकेन्द्र राईले १४औँ, फुर्पासिंह तामाङले २२औँ र मिलन राईले २७औँ स्थानमा दौड टुंग्याए ।
राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी समितिका सदस्यसमेत रहेका नेपाल एडभेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्र कुँवरले खेलाडीलाई बधाई दिँदै सफलताले नेपाल साहसिक दौडमा अब्बल छ भन्ने सन्देश प्रवाह भएको धारणा व्यक्त गरे । नेपाली टोली असोज १ गते स्वदेश फर्किने छ ।