site stats
बाह्रखरी :: Baahrakhari
खेल
एभरेस्ट महिला भलिबल लिगको ट्रफी सार्वजनिक, ट्रफी टुर पनि हुने

काठमाडौं । नेपालमा पहिलोपटक आयोजना हुन लागेको एभरेस्ट महिला भलिबल लिगको पहिलो संस्करणको ट्रफी सार्वजनिक भएको छ । आइतबार आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले एक कार्यक्रम आयोजना गर्दै ट्रफी सार्वजनिक गरेको हो ।

ट्रफीलाई नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, लिगका प्रमुख कार्यकारी अधिकृत स्नेभी चापागाईं, भलिबल संघका महासचिव रोशन श्रेष्ठ र मुख्य प्रायोजक वात्सल्य नेचुरल आईभीएफका प्रबन्ध निर्देशक प्रशान्त सुवेदीले संयुक्तरूपमा सार्वजनिक गरे ।

Argakhachi Cement Island Ad

प्रतियोगिता आगामी असोज १४ देखि १९ गतेसम्म हुँदै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्ने छन् । लिगमा मधेस युनाइटेड, काठमाडौं स्पाइकर्स, चितवन शक्ति, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र कर्णाली यसभिसले प्रतिस्पर्धा गर्नेछन् ।

सहभागी सबै ६ टोलीले आफ्ना मार्की खेलाडी पनि घोषणा गरिसकेका छन् । गण्डकीले सरस्वती चौधरीलाई आफ्नो मार्की खेलाडीका रूपमा अनुबन्ध गर्दा काठमाडौंले उषा भण्डारी, मधेसले निरुता ठगुन्ना, ललितपुरले सलिना श्रेष्ठ, कर्णालीले सुमित्रा रेग्मी तथा चितवनले राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीलाई मार्की खेलाडी बनाएको छ ।

प्रतियोगिताका लागि सबै फ्रेन्चाइज टिमले तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ ।

आयोजकका अनुसार, प्रतियोगिताअघि ट्रफी टुरसमेत हुनेछ । टुर यही असोज १ देखि १२ गतेसम्म चल्ने तय भएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १९:१९
प्रतिक्रिया दिनुहोस्