site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
जब आइफोन चकनाचुर भयो...

गएको महिना अर्थात् जुन १४ तारिखदेखि जुलाई १८ तारिखसम्म म अमेरिकाको पाँचहप्ते पारिवारिक भ्रमणमा थिएँ ।

अमेरिका जाने सजिलो र छिटो बाटो पछ्याउँदै अमेरिकन एयरलाइन्सको सिधा उडानमार्फÞत हानेदा विमानस्थलबाट स्थानीय समय ४ः४० मा टेक्ससका लागि रवाना भएँ ।

यतिखेर टेक्ससमा बस्दै आएकी बहिनीलाई भेट्ने व्यग्र प्रतीक्षा त छँदै थियो, यसका अलावा बहिनीको छोराको वैवाहिक कार्यक्रममा समेत सरिक हुनु थियो । अर्थात्, दोहोरो खुसी थियो ।

Dabur Nepal
NIC Asia

डालस जाने क्रममा एयरपोर्टमा भेट भएकी एकजना जापानी महिलासँग परिचय गर्दै इमिग्रेसनको काम सकाएर प्रतीÞक्षालयतर्फ बढेँ ।

फ्लाइटको टिकट चार महिनाअगाडि नै काटिएको थियो ।

निर्धारित समयानुसार विमान ३०७ यात्रु र १७ जना चालक दलका सदस्यलाई बोकेर लस–एन्जलसका लागि उड्यो ।

यसपल्टको १२ घण्टे लामो यात्रा सोचेजस्तो पट्यारलाग्दो भएन । जहाज उडेको केही समय सँगै बसेकी जापानी महिलासँग गफगाफ गरेँ ।

करिब एक घण्टापछि हवाईजहाजद्वारा सर्भ गरिएको खाना खाएर आराम गर्ने मुडमा आँखा चिम्लिएँ ।

निर्धारित समयमा नै विमान अमेरिकाको लस–एन्जलस अन्तर्राष्ट्रिय हवाईअड्डामा अवतरण गर्‍यो । 

यसपटक एउटा अनौठो अनुभव भयो मलाई । अनलाइनबाट काटेको हवाई टिकट सिधा उडानको भए पनि उड्ने सात दिनअगाडि मलाई मेलमार्फत लस–एन्जलस भएर जाने जानकारी गराइयो । यो जानकारी स्वीकार गर्नुको विकल्प पनि थिएन मसँग । जे भने पनि ‘हस् हजुर’ भन्दै लाग्नु थियो ।

जापानबाट उड्दासम्म यताको समयको सेकेन्डसेकेन्डको महत्त्व बुझेकी र बोकेकी म अमेरिका पुग्नासाथ लस–एन्जलसमा अड्किएँ । डालसका लागि उड्नुपर्ने जहाज प्राविधिक कारण तेर्स्याएर गेट नम्बर तोकिएपछि पनि ‘तीन घण्टा ढिला छ’ भन्ने उद्घोषण भयो ।

यति सुनेपछि मेरो रिसको पारो अलिकति माथि नै चढ्यो । तर, प्रतीक्षा गर्नुबाहेक मसँग अरू कुनै विकल्प पनि त थिएन ।

उडान ढिला भएको जानकारी फोनमार्फत बहिनीलाई गराएर म हवाईअड्डामा कफी र चमेनाको खोजीमा एकैछिन जुटेँ ।

यसरी १४ तारिखकै बेलुकी ८ः४० मा पुग्नुपर्ने मेरो उडान १५ तारिखको मध्यरात १२ बजेर २० मिनेटमा मात्रै फोर्ट–ओर्थ अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लियो ।

समयको अन्तर र अनिदोका कारण थकित मेरो मुटुको धड्कनले डालस पुगेर बहिनी र ज्वाइँलाई एयरपोर्टमा भेटेपछि मात्र आफ्नो गति समायो ।

भ्रमणको उद्देश्य छोराको वैवाहिक कार्यक्रम त थियो नै, त्यसअतिरिक्त परिवारसँगको भेटघाट, चिनजान र भलाकुसारी पनि त्यसमा जोडिन्थ्यो । स्वाभाविक थियो, त्यो समयमा हामी व्यस्त थियौँ ।

भरिभराउ घर, झकिझकाउ मान्छे, उत्सव कति हो कति रमाइलो । त्यसबीचमा पनि ‘कहिले आइपुगेको ?’ ‘यात्रा कस्तो रह्यो ?’ ‘कति दिन बस्ने ?’ जस्ता सवालको बेलीविस्तार लगाउँदैमा ठिक्क भयो ।

यात्राको थकावट र रमाइलोसँगै पूरा दिन उत्सवमय रह्यो । म यसैयसै दंग भएँ ।

भोलिपल्ट ‘मेस्सी मल’मा गएर केही किनमेल गर्दै बाहिर रेस्टुरेन्टमा खाना खाइयो । डालस स्टक यार्ड घुमघाम, काउ टाउन मार्केट र फोर्ट–ओर्थ वाटर पार्कको हाम्रो घुमघामले अन्ततः त्यस दिनका लागि विश्राम लियो ।

यसरी टेक्ससको पूरा गर्मी खाँदै गाडी चढेर बहिनीको घर फिर्दा बेलुकीको ९ बजिसकेको थियो । तर, जापानी समयको दिउँसो ४ बज्दाजस्तो झललल घामको अनुभव बोकेर ।

२० तारिख सखारै उठेर तयार भयौँ । यहाँबाट बिहेमा भाग लिन न्युजर्सी पुग्नु थियो । त्यसैले उडानका लागि ज्वाइँको ठूलो गाडीमा सुटकेस राख्दै फेरि लाग्यौँ डालस एयरपोर्टतर्फ ।

ठूलो समूह थियो हाम्रो, जुन स्वाभाविक थियो । न्युयोर्क लगौडिया एयरपोर्टमा दिउँसो साढे १ बजे ओर्लंदा दुइटा पजेरो जीप हामीलाई लिन तयार थियो । एकएक स्यान्डविच र एकएक बोतल पानी टिप्दै लाग्यौँ विवाहका लागि रिजÞर्भ होटेलतिर । त्यसै होटलमा चार दिन र तीन रातको बास बस्नु थियो हामीलाई ।

विवाहको पहिलो कार्यक्रम थियो केटापक्ष र केटीपक्षका बीच परिचयात्मक कार्यक्रम ‘मिट एन्ड ग्रिट’ । बहिनीको छोरा शाश्वतलाई १२ वर्षपछि भेटेर खुसीको सीमा नै छैन, ‘हावी’को (ठूलोममीको) ।

भोलिपल्ट बुकुवा (अहिलेको चलनानुसार हल्दी लगाउने) लगाउने कार्यक्रम सकाएर हामी न्युजर्सीमा रहेको सबैभन्दा ठूलो हिन्दु मन्दिर मानिएको स्वामीनारायण मन्दिर – अक्षराधामको दर्शन र घुमघामका लागि निस्कियौँ ।

वैवाहिक कार्यक्रम, रमाइलो गरिनु त स्वाभाविक नै थियो । बेलुकी गुजराती चलनको लट्ठी नाच र पार्टी ‘गरवा डान्स’मा सहभागी भइयो । किनकि, बुहारी गुजराती हुन् । त्यसैले चलन पनि आधाआधा हुँदै थियो ।

तेस्रो दिन बिहान नेपाली चलनानुसार मण्डपको विवाह र बेलुका रिसेप्सन सम्पन्न भयो । यसबीचमा धेरै आफन्तसँग भेटघाट भयो ।

पछि छोराबुहारीको मुख हेर्दै ठूलोममीको कर्तव्य पूरा गरेँ ।

अबको मेरो यात्रा न्युयोर्कतिरको रह्यो ।

२३ तारिख साँझ ५ बजे लगौडिया एयरपोर्टबाट बहिनीहरूसँग छुट्टिएर म भदाहा अतुल पौड्यालको बसोबास रहेको न्युयोर्कको क्विन्सतिर लागेँ, बहिनीहरू ब्याक होम टेक्ससतर्फ ।

अतुल व्यस्त भएर एयरपोर्टमा लिन आउन नपाएपछि म उभर चढेर एक्लै क्विन्सतर्फ हिँडे । दुरुस्त ठेगाना उल्लेख गरिनुपर्छ, उबरले तोकिएको ठेगानामा पुर्‍याउँछ । मलाई पनि उबरले भदाहा बस्ने अपार्टमेन्टकै तल लगेर ओराल्यो ।

बुहारी पुष्पा बाहिर आइपुगिन् । पुष्पा र म सुटकेस तान्दै घरको दोस्रो तलामा चढ्यौँ । उप्रान्त खाजा खाएर एकछिन आराम गरेँ । केही बेरमै भदाहा आइपुग्यो आफ्नो कामबाट ।

वर्षौँपछि फुपू र भदाको भेट थियो यो ।

मान्छेलाई खुसी यस्तै स–साना कुरामा मिल्ने रहेछ । आहा !

न्युयोर्कमा पनि नेपाली रेस्टुरेन्ट रहेछ । भोलिपल्ट सोही रेस्टुरेन्टमा लन्च खान जाँदा थाहा भयो । उप्रान्त हामी अतुलको गडीमा टाइम्स स्क्वाएर र ब्रुक्लिन ब्रिज हेर्न गयौँ । यो मेरो यसपटकको अमेरिका भ्रमणको उद्देश्य पनि थियो ।

न्युयोर्कस्थित ब्रुक्लिन ब्रिजको स्थापना सन् १८८३ को मे महिनामा भएको थियो रे ! तत्कालीन समयमा यो पुलको स्थापना ब्रुक्लिन सहर र म्यानह्याटन सहर जोड्नका लागि बनाइएको भनिन्छ ।

यो विकास, ‘सस्पेन्सन ब्रिज’ संसारको एक नमुना पुल मानिन्छ । यसलाई हेर्न मात्र देश–विदेशबाट दैनिक हजारौँ मान्छेको ओइरो लाग्छ । पुल म्यानह्याटन सहर र ब्रुक्लिनको बीचमा बग्ने पूर्वी नदी इस्ट रिभरमाथि फैलिएको छ ।

पुल बन्नुअधि यस नदीमाथि एक ठाउँमा मात्र निश्चित क्रसिङ थियो रे ! पुलको लम्बाइ जम्मा ४८६.३ मिटर लामो रहेको छ ।

यस पुलको मुख्य स्थानमा एउटा डेक रहेको छ, जसको उचाइ ३८.७ मिटर छ । उद्घाटन हुँदाको समयमा यो पुल संसारकै सबैभन्दा लामो झोलुंगे पुल मानिन्थ्यो ।

पहिला यो पुललाई इस्ट रिभर ब्रिज भनिन्थ्यो । तर, पछि यसलाई सन् १९१५ देखि ब्रुक्लिन ब्रिजको नाम दिइयो, जुन अहिले संसारभर प्रसिद्ध छ ।

यहाँको अवलोकनपछि हामी लाग्यौँ न्युयोर्कको साँढे (वालस्ट्रिट), ब्याट्री पार्क र मानवनिर्मित आइल्यान्ड तथा म्यानह्याटन सहर घुम्न ।

त्यस दिन दिनभर घुमघाम गरेर थकित भएर घर फर्कियौँ । ब्रुक्लिन ब्रिज हेर्ने मेरो सपना पनि साकार भएर होला, थकित भए पनि थकानको अनुभव थिएन ।

त्यसै दिन अतुलको जन्मदिन पनि परेको थियो । बेलुका जन्मदिनको सामान्य रमाइलो र खानपान गरी निद्रादेवीको शरणमा पर्‍यौँ ।

अर्को दिन बिहानको खाना खाएर म र अतुल मेरिल्यान्ड जाने हाइवे बसपार्क पोर्ट अफ अथोरिटीतर्फ लाग्यौँ ।

मलाई बस चढाएर अतुल काममा फर्कियो । म चार दिनका लागि लामो हाइवे हुँदै मेरिल्यान्डतिर लागेँ । अब अर्को सपना पूरा गर्नु थियो, ह्वाइट हाउस हेर्ने । यो चाह मनभरि बोकेर म हिँडेको थिएँ ।

बाल्टिमोर हुँदै मेरिल्यान्ड पुगेँ । फुपूका छोराबुहारी  खुसी र नवीन नेपालकहाँ चारदिने शरणार्थी यात्रा हुँदै थियो । बसबाट ओर्लनासाथ बाहिर राम्रोसँग हेर्न पनि भ्याएको थिइनँ, कानमा आवाज ठाक्कियो, “दिज्जू, दर्शन ! राम्रोसँग आइपुगिस्यो नि !” आवाज थियो नवीनकी पत्नी खुसीको ।

यसरी न्युयोर्कबाट एक्लै बाल्टिमोर हुँदै मेरिल्यान्ड पुगेकी थिएँ । त्यहाँबाट नवीनको घर डेढ घण्टा परको ड्राइभमा थियो ।

लगत्तै लुट्यो चार हफ्ताको मेरो थरीथरीका फोटो र भिडियो खिच्ने सपना आइफोन १२ ले ! पुरानो तर थुप्रै सम्झनाहरूको सँगालोले भरिएको मेरो बाई–इन–जापान फोनले ।

हठात् दुर्घटना भयो ! मेरो आइफोन १२ खुसीश्रीको बीएमडब्ल्यू स्पोर्ट्स कारको तल खस्यो र झर्‍यामझुरुम भयो, सिमकार्ड पनि निकाल्न नसकिने गरी ।

करिब एक महिना फÞेसबुक र सोसल मिडियाबाट कतै टाढा, अर्कै ग्रहमा पुगेको भान भयो । तर, सबै फेसबुके र सोसल मिडियाको टेन्सनबाट कतै टाढा र खुसी नै खुसीको संसारमा रुमल्लिएको पनि अनुभूति भयो ।

भोलिपल्ट ह्वाइट हाउस हेर्न म, खुसीश्री र रिहानाश्री लाग्यौँ अमेरिकाको प्रेसिडेन्ट बस्ने सेतो घरको अगाडि ।

खुसीले चिच्याएँ म– वाउ, कति सुन्दर घर ! आई लभ ह्वाइट हाउस !

यसरी मेरा सपनाहरू साकार भयो । यो दुवै सपनाको अनुभूति अद्वितीय रह्यो मेरा लागि ।

केही दिनपछि म फर्किएँ डालसस्थित बहिनीज्वाइँको घर । र, त्यहाँ बसाइ अर्को १५ दिन लम्बियो ।

समय दिन नसकिने अमेरिकाजस्तो देशमा ज्वाइँले यसपटक सोचेभन्दा धेरै समय दिनुभयो । हरेक दिन के खाने, कहाँ घुम्न जाने, क–कसलाई भेट्ने भनेर सोध्नुभयो । र, ठाउँठाउँ पुर्‍याउनुभयो ।

मैले पनि उहाँको आग्रह स्वीकार्दै केही ऐतिहासिकस्थल, केनेडीलाई गोली हानेको ठाउँ, अस्टिनबाट खेदेर ल्याइएका गाई हेर्ने पार्क, डालस डाउनटाउनलगायत थुप्रै ठाउँ घुमे ।

अन्ततः जुलाईको १८ तारिख म सही सलामत जापान फर्किएँ, विनाफोन ! अमेरिकामा किनेको आइफोन १५ प्रो म्याक्स त हातमा थियो, तर कसैसँग सम्पर्क गर्न नसकिने रूपमा ।
(टोक्यो, जापान)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  ०६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro