मानव–हात्ती द्वन्द्व घटाउन श्रीलङ्कामा सफल मानिएको तारबारको अवधारणाअनुसार एक दशक पहिले नै झापाका विभिन्न स्थानमा पनि ७६ किलोमिटर 'सौर्य तारबार' (अफसेट सोलार फेन्स' ) निर्माण गरिएको थियो । गत वर्षबाट डिभिजन वन कार्यालयले तारबार समुदायलाई हस्तान्तरण गरिसकेको छ । समुदायले जिम्मा लिएको तारबारको सुरक्षा र मर्मत राज्यको सहयोगविना सम्भव भने देखिँदैन ।
प्रकृति संरक्षण कोषको आर्थिक सहयोगमा झापामा पहिलोपटक बाहुनडाँगीमा २०७३ सालमा एक करोड २० लाखको लागतमा १८ किलोमिटर विद्युतीय तारबार निर्माण गरिएको थियो । त्यसपछि २०७४ सालबाट सुरू गरी २०७६ चैत सम्ममा जलथल वन क्षेत्रमा पहिलो चरणमा ३५ किलोमिटर सौर्य तारबार लगाइको थियो । हल्दिबारी, कचनकवल, बाह्रदशी र भद्रपुरसँग जोडिएको वन क्षेत्रमा निर्माण गरिएको सौर्य तारबारको लागत पाँच करोड ६५ लाख २७ हजार छ ।
विसं २०७८ चैतमा जलथल वन क्षेत्रमा दोस्रो चरणअन्तर्गत भद्रपुरमा एक करोड एक लाख ४४ हजार लागतमा ६.३९ किलोमिटर सौर्य तारबार लगाइसकिएको छ । मेचीनगर नगरपालिकाको चारआली–मागुरमाडी खण्डअन्तर्गत १६.९८ किलोमिटर सौर्य तारबार लगाइएको छ । दुई करोड ५३ लाख ९५ हजारको लागतमा उक्त खण्डमा विद्युतीय तारबार लगाइएको हो ।
तारबार लगाउन राज्यको कोषबाट करोडौं रकम खर्च भइसकेको छ । खर्च अनुसार मानव–हात्ती द्वन्द्व घटाउन भने सकिएको छैन । तारबार लगाएपछि धनजनको क्षतिमा केही कमी आए पनि लगानीअनुरूप प्रतिफलको लेखाजोखा गर्दा उत्साह जनक देखिँदैन ।
मानिसपछिको बुद्धिमान प्राणी मानिएको हात्तीले आफ्नो अनुकूलविपरीतका अवरोध हटाउन विभिन्न प्रयास गरिरहन्छ । हात्तीको आक्रमणको निसानामा परेका तारबारका खम्बाहरू ढलिरहेकै देखिन्छन् । तारबार त लगाइए तर रेखदेख र मर्मत संहारको उचित प्रबन्ध हुन सकेन । झन्डै एक दशकअगाडि लगाइएका केही स्थानका तारबार जीर्ण भएकाले मर्मत गर्नुपर्ने अवस्था छ । बाहुनडाँगीस्थित १८ किलोमिटर तारबार मर्मत गर्न करिब ३० लाख र जलथल क्षेत्रका लागि ४४ लाख ४७ हजार आवश्यक पर्ने वन डिभिजन झापाको अध्ययनले देखाउँछ । रकमको स्रोत निश्चित नहुँदा जीर्ण तारबारबाट हात्ती गाउँ बस्ती पस्ने, अन्न बाली खाइदिने तथा मानव जनधनको क्षति गराउने काम निरन्तर छ ।
यही मानव–हात्ती द्वन्द्वको दृश्य निरन्तर हेरिरहेका वन्यजन्तु तस्कर समूहले हात्तीलाई मारेर महत्त्वपूर्ण अंगहरू चोरी तस्करी गरिरहेका छन् । राज्य संयन्त्रले पनि हात्ती स्थानीयकै आक्रमणमा मरेको ठानेर आँखा चिम्लिँदा वन्यजन्तु तस्कर कानुनी कारबाहीमा पर्नसकेका छैनन् ।
विसं २०७५ अघि झापामा १३ वटाको संख्यामा रैथाने रूपमा हात्ती बस्ने गरेकामा ६ वर्षको अवधि पारगर्दै गर्दा बढेर ३५ पुगेको अनुमान छ । यसबीचमा झापाका विभिन्न स्थानमा चारवटा छावा जन्मेर हुर्केको प्रत्यक्षदर्शी स्थानीयको भनाइ छ । आगन्तुक हात्ती सयभन्दा बढी आवतजावत गर्ने झापामा रैथानेको संख्या नै ३५ पार हुँदै गर्दा आहारा व्यवस्थापन आफैँमा चुनौती बनेकाले पनि मानव–हात्ती द्वन्द्व घटाउन सहज छैन ।
अर्कातिर, पर्यावरणीय सन्तुलनका लागि हात्तीको अस्तित्व पनि अपरिहार्य हुन्छ । यसका लागि हात्तीको चरण क्षेत्र, आहारा व्यवस्थापनको वातावरण बनाइनु जरूरी छ । नीति निर्माणको तहमा रहेका शासक प्रशासकहरूमा भने सकारात्मक सोचको प्रवेश हुन सकिरहेको छैन ।
पर्यावरणका लागि पनि झापाका रैथाने हात्तीले सहजरूपमा बाँच्न पाउनुपर्छ । यही मान्यतालाई स्थापित गर्न हुनसक्छ कोसी प्रदेशका तत्कालीन मुख्यमन्त्री केदार कार्कीले ‘जसको जंगल उसकै मङ्गल’ भन्ने नारासहित झापाको बाहुनडाँगीदेखि उदयपुरसम्म हात्तीमैत्री पैदलयात्रा गरेका थिए । उनले हात्ती हिँड्ने क्षेत्रलाई करिडोरको रूपमा विकास गरेर पर्यटन प्रवर्धन गर्नुपर्ने नयाँ अवधारणा अगाडि सारेका थिए । उनले झापाको बाहुनडाँगीदेखि उदयपुरको बेलकासम्मको हात्ती प्रभावित क्षेत्रको पैदलयात्रा गरी हात्ती मार्गमा पर्ने बस्ती हटाएर हात्ती आहारा व्यवस्थापन गर्ने घोषणासमेत गरेका थिए ।
मुख्यमन्त्री कार्की काम नथाल्दै पदबाट हट्नु परे पनि आफूले पदयात्रा गरेका वन क्षेत्रमा हात्तीका लागि आहारा व्यवस्थापन हुने फलफूल तथा घाँसे रूख उत्पादनका लागि वृक्षारोपणमा लागेको देखियो । कोसी प्रदेशको सत्तामा पुगेका अन्य शासकले पनि त्यहाँ रैथानेरूपमा रहेका हात्ती संरक्षणका लागि प्राकृतिक उपाय सोचिदिने हो भने यिनै हात्ती देखाएर धेरैको रोजगारी चल्न सक्थ्यो भने धेरैको व्यापार व्यवसाय फस्टाउने थियो । यसका लागि यस क्षेत्रमा रहेका वन प्राकृतिक चिडिया घरका रूपमा विकास हुनुपर्छ ।
विकास भनेको भौतिक संरचना बन्नुमात्र नभएर प्राकृतिक स्वरूपको समयानुकूल उपयोग गर्ने तरिकाको उचित प्रयोग हुनु पनि हो । रैथाने वन तथा वनस्पति हुर्काउने हो भने हात्तीलगायत जंगलमा आश्रित जनावरका लागि आहारा व्यवस्थापन सहज बन्न सक्थ्यो ।
झापाको उत्तर पूर्वी सीमा क्षेत्र बाहुनडाँगीको मेची किनारबाट प्रत्येक वर्ष भारतीय जंगली हात्ती अन्न पाक्ने र फल लाग्ने समय पारेर दुईपटक नेपालतिर प्रवेश गर्दैआएका छन् । भारतीय क्षेत्रबाट बैशाखको दोस्रो सातादेखि असारको तेस्रो सातासम्म र कात्तिकको दोस्रो सातादेखि पुस–माघतिरसम्म हात्ती झापातिर आउनेगरेका छन् । यसरी आउने हात्ती चरिचरन क्षेत्र सहज प्राप्त गर्न सके गाउँ बस्तीमा पसेर क्षति गर्ने थिएनन् ।
मेची किनारमा हात्तीले खान मनपराउने काँस पनि माँसिदै गएको छ । वन क्षेत्रमा वनमारा लहराले प्राकृतिक घाँस छोपिदिँदा चरण क्षेत्र खुम्चिएर हात्तीलगायत वन्य जन्तु आहारा नपाएर भौतारिनु परिरहेको छ । झापाबाट नेपाल पस्ने भारतीय जंगली हात्तीको यात्रा चितवनसम्म पुग्ने अनुमान गरिन्छ । पछिल्लो समय वन क्षेत्र घाँसविहीन हुँदैगएका कारण हात्तीले गाउँ बस्ती चाहारेर अन्न बाली नै आफ्नो आहारा बनाइरहेका हुन् । यस सत्यलाई राम्ररी नबुझेर हामी उल्टै हात्तीसित लडिरहेका छौँ ।
तारबार प्रभावहीन हुँदैजाँदा ती हात्तीले मनव बस्ती र अन्न बाली लगाइएका कृषि क्षेत्रमा विनाश गर्ने अवस्था आएको हो । चरन क्षेत्रको अभाव भएकै कारण हात्ती आहाराका लागि मानव बस्ती पसिरहेका हुन् । मान्छेले जान्दाजान्दै पनि आफ्नो सुरक्षाका लागि हात्तीप्रति आक्रमक हुनुपर्दा हात्ती पनि मानिसलाई प्रधान शत्रु ठानेर मौका मिल्नेबित्तिकै ज्यान लिनपछि पर्दैन । यही दोहोरो भिडन्त रोक्न लगाइएको करोडौं लगानीको तारबार सोचेअनुरूप प्रभावकारी हुन सकेन ।
तारबार असफल हुनुका विभिन्न कारणमध्ये मर्मतसंभार तथा सुरक्षाको अभाव प्रमुख चुनौतीका रूपमा देखिने गरेको छ । राज्य र हात्ती प्रभावित क्षेत्रका समुदाय जिम्मेवार बन्न नसकुन्जेल तारबारले मानव–हात्ती द्वन्द्व घटाउन सक्दैन । पछिल्लो समय हात्तीमैत्री वातावरणको चर्चा पनि चल्न थालेको छ । हात्तीको आहारा व्यवस्थापन सहज भए मानव बस्तीमा हात्तीको प्रवेश घट्नेछ भने द्वन्द्व आफैं न्युन हुने विश्वास विज्ञहरूको छ ।
तारबारलेमात्र द्वन्द्व पक्कै घट्दैन । हात्तीका लागि आहारा व्यवस्थित हुन जंगल सुरक्षित हुनुपर्छ । जंगल पनि मानव अतिक्रमणमा पर्दा जंगली जनवारको पनि उठीवास लागेको छ । जंगल क्षेत्रमा घाँस, पानी र कोलाहलविहीन वातावरण निर्माण हुनसके जंगली जनवार वन छोडेर बस्ती पस्दैनन् ।
कोसी प्रदेशमा हात्ती र मानवबीचको द्वन्द्व रोक्न हात्तीमैत्री वातावण निर्माणका लागि वन तथा वातावरण सम्बद्ध संस्था लागिरहेका पनि देखिन्छन् । तर, उनीहरूको योजनाले वन र वन्यजन्तुको निकट सम्बन्ध जुटाउन नसकेको परिणाम नै हात्ती उपद्रोलाई मानिसले आतङ्कका रूपमा बुझेको हो । वन समितिका नाममा वनभोज स्थल, होटल, रेस्टुराँ, विभिन्न मनोरञ्जन स्थल बनाएर वनभित्र वातावरणीय शान्ति खलबल्याइएपछि जंगलमा बस्ने जनवार गाउँ बस्ती पसिरहेको सत्य बिर्सनु हुँदैन ।
हात्तीको बसोवासका लागि झापामा १५ हजार ८३१ दशमवल २४ हेक्टरमा ५९ वटा सामुदायिक वनरहेका छन् । दुईवटा कबुलियत वन (११३ दशमलव ६ हेक्टर), रतुवामाई वृक्षरोपण आयोजना (२ हजार ८५३), एग्रो फरेस्ट्री प्रमोसन (९८ दशमलव ६) र स्काउट वन (१५ हेक्टर) क्षेत्रमा हात्ती सहजरूपमा चर्न पाउँछन् ।
रैथानेभन्दा चार गुणा बढी पाहुना हात्ती प्रवेश गर्ने झापामा चरन क्षेत्र कम हुँदा गाउँ बस्तीका अन्न बालीको क्षति हुने गरेको हो । यी सबै समस्या हात्तीले होइन मानिसले नै पैखदागरेका हुन् । तारबार लगाएर समाधान हुनसक्ने देखिएन ।
समस्या कम वा न्यून पार्ने उपाय हात्तीमैत्री वातावरण निर्माण हो । वन क्षेत्रलाई खुल्ला चिडियाघरका रूपमा विकास गर्दै हात्ती जंगलमै रमाउने वातावरण नबनेसम्म समस्या समाधानतर्फ लाग्ने छैन । वन क्षेत्रमै चरिचरन सहज भए हात्ती गाउँ पस्ने छैनन् ।