site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘हिंसा’ ले ओली–प्रचण्डबीच निम्तिएको ‘वाकयुद्ध’

काठमाडौं । यसपालि प्रधानमन्त्री भएपछि केपी शर्मा ओली करिब ४० दिनसम्म सार्वजनिक रुपमा कुनै टिप्पणी वा सवाल–जवाफमा उत्रिएका थिएनन् ।  प्रधानमन्त्रीको चौथो कार्यकालमा ओली ‘सम्हालिएको’ बुझाइ राजनीतिक वृत्तमा छ । 

अघिल्लो कार्यकालयमा संसद् र बाहिरका सार्वजनिक कार्यक्रममा ओलीले उखान टुक्का मिश्रित कटाक्ष, टिप्पणी र सवाल–जवाफमा खरो रुपमा उत्रन्थे । 

तर, यसपालि उनी करिब केही समय मौन नै रहे । 

Dabur Nepal
NIC Asia

“प्रधानमन्त्रीले अघिल्लोपटक पनि केही भन्नुपर्ने विषयमा मात्रै जवाफ दिनुभएको थियो । प्रधानमन्त्रीलाई न सार्वजनिक कुरामा सधैँ बहस गर्ने फुर्सद हुन्छ न दायित्व हुन्छ । प्रश्नहरु उठेपछि कहिलेकाहीँ सार्वजनिक रुपमा भन्नुपर्ने हुन्छ,” एमाले उपमहासचिव प्रदीप ज्ञवाली भन्छन् । 

उनी मुलुकका चुनौती समाधान गर्न प्रधानमन्त्री लागि रहेको बताउँछन् । 

“मुलुकको परिस्थिति अझ बढी गम्भीर छ । परिणाम दिनुपर्ने छ, चुनौती छन् । चुनौती समाधान गर्न सरकार लागिपरेको छ । प्रधानमन्त्री लागिरहनुभएको छ’’, ज्ञवाली भन्छन् ।

तर, पछिल्ला दिनमा ओली र प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दोहोरी चल्न सुरु भएको छ ।  प्रचण्डले सरकारलाई ‘हनिमुन पिरियड’ मनाउन नदिइ सदनमा चर्कै अभिव्यक्ति दिएपछि ओलीले मौनता तोडेका हुन् ।

प्रचण्डले भदौ १२ गते सदनबाट आक्रोश पोख्दै सरकारमाथि प्रश्न तेर्साएका थिए । सदनमा प्रचण्ड बोलेपछि त्यसको जवाफमा उत्रिनु परेको एमाले नेताहरु बताउँछन् ।  “प्रचण्ड त्यति छिट्टै बोल्न आवश्यक थिएन । प्रचण्ड नै त्यसरी आक्रामक भएपछि जवाफ त दिनुपरि हाल्यो नि,” एमालेका एक सांसद भन्छन् । 

ओली र प्रचण्डलाई हाल ‘जनयुद्ध’ शब्दले दोहोरीको अवस्थामा पुयार्एको छ । एमाले ‘जनयुद्ध’ शब्द मान्न तयार छैन, माओवादी ‘हिंसा’ सुन्न पनि तयार छैन । 

त्यही विषयमा भदौ १२ गते सदनमा एमाले र माओवादबीच भनाभनको अवस्था सिर्जना भएको थियो ।  एमाले सांसद योगेश भट्टराईले सशस्त्र संघर्षलाई ‘हिंसा’ भनेपछि माओवादी सांसदहरुले आपत्ति जनाउँदा सदन तात्न पुगेको थियो ।

पछिल्ला दिनमा एमाले र माओवादीबीच ‘हिंसा’मा सवाल जवाफ चलिरहेको छ । प्रचण्डले सशस्त्र द्वन्द्वलाई संविधानले स्वीकार गरेको बताउँदै हिंसा भनेकामा आपत्ति प्रकट गर्दै आएका छन् ।  भदौ २० गते पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले ‘हिंसा’ भन्ने दुष्प्रयासको भण्डाफोर गर्नुपर्ने बताएका थिए । सहिदका बलिदानले प्राप्त उपलब्धिमाथि धावा नबोल्न पनि चेतावनी दिएका थिए । 

एमालेको पोलिट्ब्यूरो कमिटीको बैठकमा ओलीले प्रचण्डले समाज भड्काउन खोजे पनि सफल नहुने बताएका थिए । पोलिट्ब्यूरो बैठकमा ओलीले आफूप्रति राखेको भनाइप्रति आपत्ति जनाएका थिए । 

“प्रचण्डलाई राउन्ड किक हानेको भनेर पनि बोलेछन्, प्रधानमन्त्रीमा बसेका मान्छेले,” उनले भने, “अब जनताको राउन्ड किक कस्तो हुन्छ तिनले देख्नेछन् । उनले त मलाई राउन्ड किक हानेका रहेछन्, जनताको राउन्ड किक उनले देख्नेछन् भन्ने म ठान्छु ।”

टीआरसी विधेयक पारित भएपछि ‘जनयुद्ध’लाई राष्ट्रिय दिवसका रूपमा स्थापित गर्न रोक्न नहुने र अदालतले पनि पुनर्विचार गर्ने विश्वास उनको छ । प्रचण्ड प्रधानमन्त्री हुँदा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय भएको थियो । सर्वोच्च अदालतले उक्त बिदालाई असंवैधानिक ठहर गरेको थियो । 

प्रचण्डको अभिव्यक्तिप्रति प्रधानमन्त्री ओलीले शनिबार २१औँ निजामती सेवा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मार्फत प्रश्नमिश्रित जवाफ फर्काए ।
 
‘जनयुद्ध’ महान भए किन छाडेको भनी प्रश्न गरे । “हाम्रो देशमा हिंसा थियो, त्यसलाई व्यवस्थापन गर्नुपर्‍यो । केही मानिसहरूले त्यसलाई महिमा मण्डन गरेको सुन्छु । त्यस्तो महान थियो भने किन छोडेको त त्यो बाटो ? किन आउनुपर्‍यो शान्ति प्रक्रियामा ?,” ओलीले प्रश्न गरे । उनले ‘महान जनयुद्ध’ भएको भए सफल हुनुपर्ने भन्दै फेल भएको जिकिर गरे । 

झापा आन्दोलनताका आफूले लिएका नीतिहरू पनि सही नभएकाले बदलेर आएको सुनाए । माओवादीले पनि हिंसा गरेको र त्यो बाटो बदलेर शान्तिप्रक्रियामा आएको उल्लेख गरे । “त्यस्तो महान् जनयुद्धै थियो भने त सफल पार्नुपर्दथ्यो । जनयुद्ध भन्ने चिज जनयुद्ध हो भने त्यो फेल हुँदैन,” प्रधानमन्त्री ओलीले भने “जनआन्दोलन हो भने पनि त्यो फेल हुँदैन । जन भइसकेपछि त्यो फेल हुँदैन,” उनले भने । 

प्रधानमन्त्री ओलीले हिंसाको बाटोतिर पुनः जान नहुने पनि बताए । प्रचण्डले आइतबार ओलीलाई जवाफ दिएका छन् । पेरिसडाँडामा भएको सहिदद्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५ औं स्मृति दिवसको कार्यक्रममा प्रचण्डले प्रतिक्रान्तिका हर्कतहरु भइरहेको बताउँदै फेरि एउटा संघर्षको आवश्यकता औंल्याए ।

क्रान्तिकै बलमा स्थापित व्यवस्थाको उपभोग गरेकाहरुले नै क्रान्ति र क्रान्तिकारी आन्दोलनको अपमान गर्ने प्रयास गरिरहेको प्रचण्डको भनाइ छ ।

“हामीले गरेको परिवर्तनकारी र बलिदानीपूर्ण जनयुद्धलाई संविधानमा जनताको सशस्त्र संघर्ष र त्यसको ब्याख्यात्मक टिप्पणीमा माओवादी जनयुद्ध भनेर लेखेका छौं,” प्रचण्डले भने, “तर, जसको मुख्य कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो, त्यही व्यवस्थामा बसेर जनयुद्धलाई नै अपमान गर्ने काम भइरहेको छ । त्यसविरुद्ध संघर्षको संकल्प गर्नुको नै सहिदहरुप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।”

आरोप–प्रत्यारोपमा किन ? 

एमाले उपमहासचिव ज्ञवाली प्रचण्डले सदनमा असंसदीय ढंगले बोलेपछि प्रधानमन्त्रीले प्रतिक्रिया दिएको हुनसक्ने बताउँछन् । प्रधानमन्त्रीसँग सवाल–जवाफ गर्न समय नभए पनि सार्वजनिक रुपमा नै प्रतिक्रिया दिनुपर्ने हिसाबले धारणा आएको हुनसक्ने उनको भनाइ छ । 

“उहाँले जुन ढंगले संसद्मा बोल्नुभयो । असंसदीय र गैरजिम्मेवार अभिव्यक्ति थियो । त्यही विषयमा केही प्रतिक्रिया आएको होला,” उनले बाह्रखरीसँग भने, “त्यही विषयमा सवाल–जवाफ गरेर उहाँहरुसँग बहस गर्ने धेरै समय पनि छैन । देशका लागि काम गर्नुपर्नेछ ।”

माओवादीका प्रमुख सचेतक हितराज पाण्डे संविधानविपरीत आग्रहपूर्ण ढंगले आएको अभिव्यक्तिप्रति आफूहले आपत्ति जनाएको बताउँछन् । “यो शान्ति प्रक्रियासँग जोडिएको हो । संविधान बनाउने बेलामा नै व्यापक छलफल भएको थियो । त्यतिबेला सशस्त्र संघर्ष भनेर लेखिएको हो । हिंसा कि हिंसा भन्ने आग्रहपूर्ण रुपमा आएको छ ।”
 
प्रतिनिधिसभाको १२ गतेको बैठकमा एमालेका सांसदले प्रयोग गरेको शब्दप्रति माओवादीले नियमापत्ति जनाएको थियो । सभामुख देवराज घिमिरेले नियमानुसार के गर्नुपर्ने हो भनी पेश गर्न सचिवालयलाई निर्देशन पनि दिएका थिए । 

त्यसपछि भदौ १३ गते पनि पाण्डेले सभामुखसँग त्यसबारे के भयो भनी सोधेको सुनाए । “उहाँले हिजो अबेलासम्म सदन थियो आज आइहाल्यो । छलफल गर्न भ्याएको छैन भन्नुभयो,” उनले बाह्रखरीसँग भने । 

त्यसपछि १८ गतेको संसद्अघि कार्यव्यवस्थाको बैठक थियो । कार्यव्यवस्थाको बैठकमा नै त्यो विषय माओवादीले उठाएको थियो, सचिवालयको निचोड के हो ? सभामुखले त्यसबारे दलको सुझाव मागेका थिए । तर, त्यो दिन कुनै निर्णय नभएको पाण्डेले बताए । त्यसबारे एउटा निचोडमा पुग्नुपर्ने भनाइ माओवादीको छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro