site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस सांसद बस्नेतको पद स्वतः निलम्बन

काठमाडौं । कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि उनको पद स्वतः निलम्बनमा परेको छ ।

उनीसहित १५ नेपाली, एक विदेशी र दुई कम्पनीविरुद्ध टेरामक्स खरिद प्रकरणमा तीन अर्ब बढी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बिहीबार मुद्दा दायर गरेको हो । मुद्दा दायर हुनासाथ उनको पद स्वतः निलम्बनमा परेको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ मा सार्वजनिक पद धारण गरेका व्यक्तिविरुद्ध स्वतः निलम्बन हुने व्यवस्था रहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको सूचना आयोगले संघीय संसद् सचिवालयमा पठाउँदै छ । 

“भ्रष्टाचार मुद्दा दर्ता भएको सूचना सम्बन्धित निकायममा पठाउने प्रक्रियाअन्तर्गत संघीय संसद् सचिवालयमा पत्र जाँदै छ,” प्रवक्ता पौडेलले बाह्रखरीसँग भने, “पत्र पुगेपछि संसद्ले नै आवश्यक प्रक्रिया अघि बढाउनेछ ।”

नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड  फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) खरिद प्रक्रियामा भ्रष्टाचार गरेको दाबीसहित अख्तियारले बिहीबार मुद्दा दायर गरेको छ । तत्कालीन मन्त्रीको रूपमा बस्नेतसमेत दोषी रहेको दाबीसहित उनलाई पनि प्रतिवादी बनाइएको छ ।

अख्तियारले टेरामक्स प्रकरणमा बस्नेतसहित १५ नेपाली नागरिक, एक विदेशी नागरिक र अन्य दुई कम्पनी गरी १८ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । प्रतिवादीबाट तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको दाबी छ ।
CIAA-1747293025.JPG
 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १२:५५
प्रतिक्रिया दिनुहोस्