site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जनमत–उन्मुक्ति एकता प्रयास : कसको चाहना विपरीत हुँदै थियो ?

काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचकोे एकता अनश्चित भएको छ । 

दुवै पार्टीका नेताहरु एकता प्रक्रिया अनिश्चित भए पनि टरिनसकेको भनेर आशा व्यक्त गर्छन् । तर, रेशम चौधरी एकतासभास्थलबाटै वैशाख १७ मा पक्राउ परेपछि वार्ता समेत हुन सकेको छैन । 

जनमत पार्टीका अध्यक्ष सीके राउत एकता टरेको नभएर पछि सरेको बताउँछन् । तर कहिलेसम्म एकता प्रक्रियाले पूर्णता पाउँछ भन्ने ठोकुवा गर्न सक्ने अवस्थामा राउत स्वयम् पनि देखिँदैनन् । 

रेशम पक्राउ पर्नुमा दुई पार्टीमध्ये कतैको पनि संलग्नता नरहेको राउतको भनाइ छ । त्यसो भए रेशम छुटेपछि एकता प्रक्रिया किन अघि बढेन त ? राउत भन्छन् –त्यसले दुवै पार्टीलाई ‘सक’ बनाइदियो । 

“रेशमजीको पक्राउ एकदमै ठूलो षडयन्त्र थियो । दुवै पार्टी तयार भएर नै अरु १० मिनेटमा एकता घोषणा हुँदै थियो,” राउतले भने, “त्यस्तो बेला षडयन्त्रपूर्वक पक्राउ गरिएपछि साँझ पुनः एकता गर्ने भन्ने पनि भयो । तर, दुवै पार्टी त्यसबाट ‘सक्ड’ भयौँ । त्यसैले एकता विस्तारै अघि बढाउँला भन्ने भयो ।” 

त्यसपछि वार्ता र एकता कार्यदलको बैठक समेत हुन सकेको छैन ।  राउतले संवादहीनताको अवस्था नरहेको बताए पनि बैठक भने बस्न नसकेको स्वीकार गर्छन् । 

“हामी संवादहीनताको अवस्थामा छैनौँ तर, पक्राउ परेर छुटेपछि रेशमजीले भेटघाटका कार्यक्रम अघि बढाउनुभयो । उहाँको व्यस्तताले कार्यदलको बैठक बस्न सकेको छैन । हामी चाँडै बैठक बसेर चरणबद्ध रुपमा एकता प्रक्रिया अघि बढाउँछौं । एकता टरेको छैन सरेको हो,” उनले भने । 

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी एकता सरेको कि टरेको भन्ने प्रश्नमा अहिलेलाई सरेकोमात्रै बताउँछिन् । तर, कहिले एकता हुन्छ भन्ने  जवाफ उनीसँग पनि छैन । 

“एकता टरिसकेको छैन । अहिलेलाई पछि सरेको हो,” अध्यक्ष रञ्जिताले बाह्रखरीसँग भनिन्, “सीकेजी र रेशमजीले वार्ता गरिराख्नुभएको छ । एकताको मिति उहाँहरुले नै निर्धारण गर्नु होला !”

तर, रेशम भने वार्ता नभइरहेको बताउँछन् । तत्काल एकता सम्भव नभएको धारणा पनि उनले सार्वजनिक गरिसकेका छन् ।  त्यति मात्र होइन नागरिक उन्मुक्तिका जिल्ला सम्मेलनसहितका गतिविधि पनि उनले सुरु गरेका छन् । 
यसको मतलब एकता टरेको मान्ने हो ? भन्ने प्रश्नलाई रेशम अस्वीकार गर्छन् । 

“हाम्रो एकता सरेको त १७ गते हुन नसकेकोबाट भन्न सकिने भयो । तर, वास्तवमा सरेको पनि छैन, टरेको पनि छैन,” चौधरीले बाह्रखरीसँग भने, “हाम्रो सहमतिका नौ बुँदा तयार छन् । त्यसमो सीकेजीले हस्ताक्षर गरिसक्नुभएको छ । मैले र रञ्जिताजीले हस्ताक्षर गर्ने कुरा कुनै ठुलो कुरा भएन ।” 

एकता सभामा पुगिसकेका पार्टीहरु तेस्रो पक्षले गरेको पक्राउ षडयन्त्रपूर्ण भएको भनेर त्यही दिन छुटिसकेपछि किन एकता प्रक्रिया अघि बढेन त ? एकताका लागि संवादको क्रम किन चलिरहेको छैन भन्ने प्रश्नमा उनले व्यक्तिगत व्यस्ततालाई कारणका रुपमा प्रस्तुत गरे । 

“म छुटेपछि एकता प्रक्रिया अघि बढाउन सकिन्थ्यो । तर, सीकेजी प्रदेशतिर लाग्नुभयो । सामाजिक सञ्जालका पोष्ट हेर्दा उहाँ त्यतातिर नै व्यस्त देखिनुहुन्थ्यो,” चौधरीले भने, “हाम्रो पार्टीको विधान त मैले लेखेको हो । मलाई गाऊँ नगर, जिल्ला प्रदेश समितिबाट फोन आउन थाल्यो । हामी केही समयमै अवैधानिक हुँदैछौँ गाउँ नगर, जिल्ला प्रदेश कहाँ सम्मेलन गर्ने कि नगर्ने भनेर । त्यसपछि पार्टी रहे न एकता हुन्छ भनेर म पनि यता (कैलाली) आएर पार्टीका कार्यक्रम अघि बढाउन भनेको हुँ ।”

एकताका लागि तयार भइसकेको थिएन नाउपा

नागरिक उमुक्ति पार्टी भने एकमुष्ट रुपमा एकताका लागि तयार नै भइनसकेको खुलेको छ । 

नागरिक उन्मुक्तिका सात मध्ये एक उपाध्यक्षका अनुसार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले गरेको हतारोले मात्र घोषणासभाको तयारी भएको थियो । हैन भने असार पछि मात्र एकता गर्ने विषयमा नागरिक उन्मुक्तिमा पर्याप्त छलफल हुँदा रेशमले नमानेको ती उपाध्यक्षको भनाई छ । उनका अनुसार अध्यक्ष रञ्जितासहितले रेशमसँग दुईवटा विषय उठाएका थिए । 

पहिलो रेशमको अदालतमा विचाराधीन मुद्दा अर्को पार्टी एकता हुँदा पदाधिकारीसहितको प्याकेज एकता । 

रेशमलाई निर्वाचन आयोगले अध्यक्ष अस्वीकार गरेको भन्दै जनमतसहित एकता पछि संरक्षकका रुपमा एक नम्बर ‘पोर्टफोलियो’ अदालतले नमानेमा के हुन्छ भन्ने प्रश्न उनीहरुको थियो । 

“पहिलो रेशमजीको सर्वोच्चमा रहेको मुद्दाको पेसी असारमा छ । राष्ट्रपतिले आममाफी दिएको हो कि आंशिक माफी भन्ने अदालतले बोल्नै बाँकी छ,” ती नेताले भने, “अदालतको फैसलामा सर्वश्वसहित जन्मकैद छ । राष्ट्रपतिले कैद माफी मात्र दिनुभएको छ ।” 

उनले त्यही कारण रञ्जितासहित आफूहरुले रेशमलाई हतार नगर्न भनेको बताए । 

तर, रेशमले भने आफूलाई थारुहरुको साथै मधेसीको समेत विश्वास हुने र अझ बलियो बन्ने रुपमा मात्र बुझेर एकताको एकोहोरो हतारो गरेको उनको भनाई छ ।  

ती नेताका अनुसार ०७९को चुनावअघि नै जनमत र नागरिक उन्मुक्ति एउटै पार्टी भएर चुनाव लड्ने तयारी रेशमले नै रोकेका थिए ।   त्यसबेला रेशमले आफू जेलबाट ननिस्कदासम्म एकता नगर्न भनेका थिए । 

“०७९को चुनावअघि नै पार्टी एकताको तयारी भएकै थियो । त्यसबेला रेशमजीले आफू जेलबाट बाहिर ननिस्कँदासम्म एकता नगर्न भनेर रोक्नुभयो,” ती नेताले बाह्रखरीसँग भने, “त्यसपछि चुनावी सहकार्य गर्ने विषयमा पनि छलफल भए पनि हुन सकेन । त्यो सहकार्यमा थारु र मधेसीमा रहेको ‘इगो’ले बाधा खडा गर्‍यो ।”

त्यसबेलै एकता भएको भए नागरिक उन्मुक्ति र जनमत एकतापछिको पार्टी संसद्को चैथो पार्टी बन्ने उनको दाबी छ । 

“चुनाव अघि हाम्रो एकता वा चुनावी सहकार्य मात्र भएको भए पनि धेरै सिट जित्ने अवस्था थियो । १४ सिटमा नागरिक उन्मुक्ति दोस्रो भएको ठाउँमा जनमत तेस्रो र जनमत दोस्रो भएको ठाउँमा नागरिक उन्मुक्ति तेस्रो भएका छन्,” नागरिक उन्मुक्तिका ती पदाधिकारीले भने, “त्यसबेला रेशमजीले नरोक्नुभएको भए संसदको चौथो दल पनि हामी हुने थियौं ।” 

रेशमको आक्रोश

चौधरी भने पार्टी एकताका लागि हतारो गरेको वा असारसम्म कुर्नु भन्ने आवाज पार्टीभित्र नउठेको भन्दै एकताका लागि सिंगो पार्टी तयार भएको बताउँछन् । 

त्यसरी अदालतको आदेश कुर्न भन्ने कोही पार्टीको सदस्य भए आफूलाई चिनाइदिन रेशमको आग्रह छ । 

“कसले असारसम्म कुर्नु भन्यो । अदालतको पेसी सर्ने सारिने हुँदासम्म हाम्रो पार्टीको एकता अनिश्चित राख्ने ?,” रेशमले आक्रोशित हुँदै भने, “यदि असारसम्म कुर्नुपर्थ्यो भन्ने कोही छ भने त्यही व्यक्ति मेरो पक्राउको षडयन्त्रकारी हो । तपाईंको समाचारमा उसको नाम लेखिदिनु होला ।” 

त्यसो भए पक्राउका पछि पार्टीकै कुनै पक्षको हात छ भन्ने प्रश्नमा चौधरीले आफ्नो आसय त्यस्तो नभएको बताए ।  तर,  सर्वोच्चमा विचाराधीन मुद्दामा छलफल गर्ने वा त्यसलाई देखाएर पार्टीलाई अवरोध गर्ने अधिकार कसैलाई नभएको उनको भनाइ छ ।  

“मैले पार्टीको कुनै पक्ष पक्रउ गराउनमा संलग्न थियो भनेर भन्न मिल्दैन, प्रमाणबिना मैले आरोप लगाउने पनि मिल्दैन,” उनले भने, “फेरि सर्वोच्चलाई प्रभावित पार्ने ल्याकत हाम्रो पार्टीभित्रका कसैमा छ भन्ने पनि लाग्दैन । अरुको षडयन्त्रमा सामेल भएको भए त्यो समयले प्रमाणित गर्छ र सजाय दिन्छ ।”

रेशमलाई प्रश्न साध्ने ती नेता निर्वाचन आयोगले पार्टी अध्यक्ष अस्वीकार गरेपछि सिन आफूहरुले संरक्षक मानिरहेको भन्दै भोलि कानुनी प्रश्न उठेमा रेशमलाइ नै संकट आउने बताउँछन् । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १०:०६
प्रतिक्रिया दिनुहोस्