site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस सांसद मोहन बस्नेतसहित १६ जना र २ कम्पनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । कांग्रेस सांसद मोहन बहादुर बस्नेतसहित १६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । तीन अर्ब बढी सार्वजनिक हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप छ ।

दायर गरिएको मुद्दामा ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो दाबी गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड  फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रक्रियामा उनीहरुले भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

१५ जना नेपाली र एक विदेशी नागरिकसहित दुई कम्पनी गरी १८ प्रतिवादी बनाइएको छ ।

टेरामक्स प्रकरणमा अख्तियारले मुद्दा दायर गरेका अन्यमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन सदस्यहरु धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक बिजयकुमार राय, उपनिर्देशक रेवती राम पन्थ, उपनिर्देशक सुरेश बस्नेत, उपनिर्देशक हिरण्यप्रसाद बस्ताकोटी र उपनिर्देशक अच्युतानन्द मिश्र, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडा, निर्देशक दिपेश आचार्य र उपनिर्देशक संदिप अधिकारी, परामर्शदाता भ्यानराइज सोलुसन साल र सोका मुख्य व्यक्ति सीइओ जमल अनउटी, भ्यानराइज सोलुसन सालका स्थानीय एजेन्ट भनिएका कनेक्सन ट्रेड लिंक प्रा.लि., काठमाडौं र सोका अध्यक्ष दिलिप कुमार गुरुङ तथा निर्देशक तेजप्रसाद खरेल छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १२:३७
प्रतिक्रिया दिनुहोस्