site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
खाना पकाउने ग्यास सिलिन्डर अनुगमन गरेर मात्र बजारमा पठाउन सांसदको माग

काठमाडौं । दैनिकजसो घरघरमा खाना पकाउने ग्यास सिलिन्डर लिक भएर आगलागीका घटना बढ्दै गएको छ । यस विषयमा सांसद सपना राजभण्डारीले संसद्मा सरकारको ध्यानाकर्षण गराएकी छिन् । 

वैशाख ३१ गते (बुधबार) मात्रै काठमाडौंको मखनटोलमा आगलागी हुँदा दयाराम श्रेष्ठको घर जलेर सखाप भएको थियो । आगलागी बेलैमा नियन्त्रण नहुँदा सँगैका तीन घर पनि क्षति भएका थिए । आगलागीबाट एक वृद्धाको निधन भएको थियो ।

यसबारे सांसद राजभण्डारीले भनिन्, “यो निकै पीडादायी घटना हो । यस्तो घटना फेरि नदोहोरियोस् भनी राज्यका सबै निकायले गम्भीर भई नियन्त्रणका उपायहरू बेलैमा अपनाउन म अनुरोध गर्छु ।” 

धेरैजसो आगलागीका घटना ग्यास लिक भएर हुने गरेको उनले बताइन् । “यसअघि नक्सालको एक रेस्टुरेन्टमा ग्यास सिलिन्डर पड्केर त्यहाँ काम गर्ने एकजनाको मृत्यु भएको थियो,” उनले भनिन्, “यस्ता दुर्घटनाबाट कसरी बच्ने ? महानगरपालिका र संघीय सरकारले समन्वय गरी तत्काल सुरक्षित उपाय खोजी गर्नु जरुरी छ ।”

ग्यास कम्पनीहरूले बजारमा पठाइरहेका ग्यास सिलिन्डरको कडाइसाथ अनुगमन गर्न उनले माग गरिन् । “कोर सहरी क्षेत्र, जहाँ साँघुरा गल्ली छन्, त्यहाँ जानसक्ने स–साना मोडलका दमकलको व्यवस्था गर्न सकिन्छ कि ? यसतर्फ पनि सोचियोस्,” उनको सुझाव छ । 

भित्री सहरका ठाउँ–ठाउँमा अग्नि नियन्त्रक (फायर एक्सटिङ्गुइसर) राख्न र दमकल पनि जान नसक्ने कोर सिटी एरियामा पानीका पाइप जडान गर्नाले पनि एक्कासि हुने आगलागीबाट बचाउन सकिने उनले सुझाएकी छिन् । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १३:०१
प्रतिक्रिया दिनुहोस्