site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पाकिस्तानले पाँच भारतीय लडाकु विमान खसालेको साँचो हो ?

काठमाडौं । भारत र पाकिस्तानबीच सैन्य द्वन्द्व तीव्र भएको चार दिनपछि युद्धविराम भए पनि दुवै देशले गरेका दाबीको भेद खुल्न अझै बाँकी छ । पाकिस्तानले मे ७मा भारतसँगको संघर्षको पहिलो दिन भारतले उसको भूभागमा गरेको आक्रमणको जवाफमा पाँच भारतीय लडाकु जहाज खसालेको दाबी गर्‍यो ।

वास्तविक लडाइँको सट्टामा कथाको युद्ध भइरहेको बेला यो समाचारमा पाकिस्तानको दाबीबारे के थाहा छ र सत्य भए के असर पर्छ भन्नेबारे जानकारी प्रस्तुत गरिएको छ ।

के भयो ?

भारतले पाकिस्तान र पाकिस्तान–नियन्त्रित कश्मीरका छ सहरका नौ स्थानमा मे ७ मा मिसाइल प्रहार गर्‍यो । भारतले उसको कश्मीरमा अप्रिल २२ मा पर्यटकहरूको हत्याको सन्दर्भमा आतंकवादी ठाउँहरूमा मात्र लक्ष्य गरेको दाबी गर्‍यो । 

भारतले यो हमलाको जिम्मेवार पाकिस्तानले समर्थन गरेको आतंकवादी समूहले गरेको आरोप लगायो जुन कुरा पाकिस्तानले अस्वीकार गर्‍यो । पाकिस्तानले भने मे ७मा भारतीय सेनाले पाकिस्तान–नियन्त्रित कश्मीरका दुई सहर र पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त पन्जाबका चार स्थानमा आक्रमण गरेको बतायो । 

उक्त आक्रमणमा नागरिकहरूको मृत्यु भएको दाबी गर्‍यो । भारतका रक्षामन्त्री राजनाथ सिंहले पाकिस्तानी दाबी खारेज गर्दै भारतीय सेनाले निर्दोषलाई मार्नेलाई मात्र आक्रमण गरेको दाबी गरेका छन् । 

अर्को चार दिनसम्म यी दुई परमाणु शक्तिसम्पन्न छिमेकीहरूले एकअर्काको वायुसेना अड्डामा प्रतिशोधात्मक आक्रमण गरे । साथै एकअर्काको भूभागमा ड्रोन पनि प्रहार गरे ।

परमाणु युद्धको डरले संयुक्त राज्य अमेरिकाका शीर्ष अधिकारीहरूले भारत र पाकिस्तानी अधिकारीलाई द्वन्द्व समाप्त गर्न आग्रह गरे ।

मे १० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परमाणु शक्तिसम्पन्न छिमेकीहरूबीच युद्धविराम कायम गराउन सफल भएको घोषणा गरे । दुवै पक्षले सुरुमा युद्धविराम उल्लंघनको आरोप लगाए पनि अहिलेसम्म यो युद्धविराम कायम छ ।

पाकिस्तानले बताएअनुसार भारतीय आक्रमणमा ११ जना जवान र धेरै बच्चासहित कम्तीमा ५१ जनाको मृत्यु भएको बतायो । भारतले भने कम्तीमा पाँच सैनिक र १६ नागरिकको मृत्यु भएको बताएको छ ।

के छ पाकिस्तानको दाबी ?

मे ७को आक्रमणपछि अल जजिरालाई जानकारी दिँदै पाकिस्तानका सूचनामन्त्री अत्ताउल्लाह तरारले इस्लामाबादले प्रतिशोधात्मक कारबाही गर्दै पाँच भारतीय जेट, एक ड्रोन र धेरै क्वाडकप्टर खसालेको बताए ।

एक दिनपछि, पाकिस्तानी सेनाका प्रवक्ता अहमद शरीफ चौधरीले सबै युद्धक विमानहरू भारतीय भूभागभित्र खसालिएको र आक्रमणको क्रममा कुनै पक्षले एकअर्काको भूभाग ननाघेको बताए । यसलाई भारतले पनि पुष्टि गर्‍यो ।

“भारत र पाकिस्तान कुनै पनि देशले आफ्नो राष्ट्रिय हवाई सीमाभन्दा बाहिर आफ्ना विमानहरू पठाउने आवश्यकता थिएन,” ब्रिटिस रक्षा विश्लेषक माइकल क्लार्कले अल जजिरालाई भने ।

“उनीहरूका लामो दूरीका हतियारहरूले आफ्नै हवाई सीमामा बसेर पनि सत्रुको लक्ष्यमा आक्रमण गर्न सक्थे,” लन्डनको किंग्स कलेजमा युद्ध अध्ययन विभागमा अतिथि प्राध्यापक क्लार्कले भने ।

शुक्रबार, पाकिस्तानी एयर भाइस मार्सल औरंगजेब अहमदले खसालिएका पाँच विमानमा तीन राफेल, एक मिग–२९ र एक एसयू–३० समावेश रहेको दाबी गरेका थिए । उनले विमानहरूको इलेक्ट्रोनिक सिग्नेचर र विमानहरूलाई कुन ठाउँमा प्रहार गरिएको थियो भन्ने सटिक स्थान पनि प्रस्तुत गरे ।

“पाकिस्तानी र भारतीय जेटहरू बीचको लडाइँ एक घण्टाभन्दा केही बढी समय चलेको थियो,” अपरेसन डेप्युटी प्रमुख अहमदले पत्रकारहरूलाई बताए ।

उनले यो टकरावमा कम्तीमा ६० भारतीय विमानहरू संलग्न रहेको बताए । जसमा १४ फ्रान्समा निर्मित राफेल पनि समावेश थिए जब कि पाकिस्तानका ४२ हाइ–टेक विमानहरू तैनाथ गरेको थियो । यसमा अमेरिकी एफ–१६ र चिनियाँ जेएफ–१७ र जे–१० थिए ।

भारतले के प्रतिक्रिया दिएको छ ?

चिनियाँ राज्यनियन्त्रित समाचार आउटलेट ‘द ग्लोबल टाइम्स’ले पाकिस्तानले भारतीय लडाकु विमान खसालेको पोस्ट गरेपछि, चीनमा भारतीय दूतावासले यस विषयलाई गलत सूचना भनेर प्रतिवाद गर्‍यो । तर, यसबाहेक, भारतले औपचारिक रूपमा उक्त विषयलाई स्वीकार वा अस्वीकार केही पनि गरेको छैन ।

पाकिस्तानले भारतीय जेट खसालेको हो भन्ने विशेष प्रश्न सोध्दा भारतीय एयर मार्सल महानिर्देशक एके भारतीले सिधा उत्तर दिएनन् ।

“हामी युद्धको परिस्थितिमा छौँ र यसमा हानि–नोक्सान त भएकै हुन्छन्,” उनले भने, “विवरणको बारेमा अहिले म यहाँ टिप्पणी गर्न चाहन्न किनभने हामी अझै युद्धरत छौँ र विपक्षीलाई फाइदा दिने होइन । हाम्रा सबै पाइलटहरू घर फर्किइसकेका छन् ।”

अरू के थाहा छ ?

आधिकारिक वक्तव्यबाहेक स्थानीय र अन्तर्राष्ट्रिय मिडिया आउटलेटहरूले पाकिस्तानले जेट खसालेको दाबीको बारेमा फरक–फरक तथ्यहरू प्रकाशित गरेका छन् । अल जजिरासँग कुरा गर्ने भारतीय सुरक्षा स्रोतहरूले तीन लडाकु विमान भारत–नियन्त्रित क्षेत्रभित्र खसेको बताएका छन् । 

उनीहरूले यी विमान कसका थिए भन्ने पुष्टि गरेनन् । तर, कुनै पक्षले पाकिस्तानी विमानले भारतीय हवाईसीमा ननाघेको दाबी गरेपछि, भारत–नियन्त्रित क्षेत्रमा फेला परेका अवशेष सम्भवतः भारतीय विमानकै हुन सक्छ ।

रोयटर्स समाचार एजेन्सीले पनि भारत–नियन्त्रित कश्मीरका चार सरकारी स्रोतहरूलाई उद्धृत गर्र्दै तीन लडाकु विमानहरू यस क्षेत्रमा खसालिएको रिपोर्ट गरेको छ ।  सीएनएनले कम्तीमा दुई विमान खसालिएको बताएको छ भने फ्रान्सको एक स्रोतले अमेरिकी आउटलेटलाई कम्तीमा एक राफेल जेट खसालिएको बताएको छ ।

एपी समाचार एजेन्सीका फोटो पत्रकारहरूले लिएका तस्बिरहरूमा भारतनियन्त्रित कश्मीरको पुलवामा जिल्लामा विमानको अवशेष देखिएको छ ।

घटनाबारे दुवै पक्षको एकमत रहला ?

रक्षा विश्लेषक क्लार्कले भने, “यदि भारतले वास्तवमै राफेल गुमाएको हो भने, यो निश्चय नै लाजमर्दो हुनेछ ।”

“यदि यो भारतीय भूभागभित्र खसेको हो भने भारतले यसलाई अझ धेरै समयसम्म अफवाहको रूपमा राख्न चाहनेछ,” उनले थपे, “भारतले युद्धमा क्षति हुने कुरा सामान्य हुने भनेको छ र यो सम्भवतः उनीहरूले केही समयसम्म कुनै विशेष विमान गुमाएको स्वीकार गर्न नजिक पुगेको हुन सक्छ ।” अलजजिरा
 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  ०९:०५
प्रतिक्रिया दिनुहोस्