site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओली भर्सेस बालेन : किन घटिरहेको छ ओलीको फेसबुक फलोअर्स संख्या ?
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेजका ‘फलोअर्स’ संख्या मंगलबार साँझबाट एकाएक घट्दै छ । त्यो क्रम अझै रोकिएको छैन । 

प्रधानमन्त्री ओलीका मंगलबारसम्म फेसबुक फलोअर्स ६ लाख ३२ हजार थिए । यो समाचार तयार पार्दासम्म फलोअर्स संख्या घटेर ५ लाख ९२ हजारमा झरेको छ । 

‘फलोअर्स’ घटाउने अभियान कसरी सुरु भयो ? यो प्रकरण जोडिन्छ, काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) शाहसँग । 

Dabur Nepal
NIC Asia

काठमाडौं महानगरले गत जेठ १४ गते एमाले नेतृ तथा लुम्बिनी प्रदेससभा सदस्य रेखा शर्माको काठमाडौंस्थित घरबाट एक बालिका उद्धार गरेको थियो । बालिकाको उद्धारपछि उनका अभिभावक बोलाएर महानगरले ती बालिकालाई कहाँ राख्ने छलफल गरेको थियो ।

महानगरले ती बालिकालाई शर्माको घरबाट उद्धार गरेर आफ्नो ‘सेफ सेल्टर’मा ल्यायो । तर, बालिकाका बुवाले महानगरपालिकाले गैरकानुनी तरिकाले आफ्नी छोरीलाई थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरे । सर्वोच्चले‍ उनको रिट खारेजमात्रै गरेन परिवारका सदस्यलाई भेट्न दिने गरी महानगरलाई नै ती बालिकाको पालनपोषण गर्ने जिम्मेवारी दियो ।

महानगरले शर्मालाई पक्राउ गरी अनुसन्धानको माग गरी काठमाडौं प्रहरी परिसरमा निवेदन दियो । तर, शर्मा फेरि बन्दी प्रत्यक्षीकरणको रिट लगेर उच्च अदालत पाटन पुगिन् । उच्च अदालतले समेत उनको रिट खारेज गर्‍यो । तर, शर्मामाथि कुनै कानुनी प्रक्रिया अघि नबढेपछि बालेनले सामाजिक सञ्जालबाट आक्रोश पोखेका थिए ।

मेयर बालेनले आइतबार फेसबुकमा रेखा शर्मालाई पक्राउ किन नगरेको भन्दै एउटा पोष्ट गरेका थिए । प्रदेश सांसद शर्माको फोटोसहितको पोस्ट गरेका बालेनले प्रधानमन्त्री ओलीमाथि आक्रोश पोखेका थिए ।

“(रेखा शर्मा)ले एकजना नाबालिकालाई आठ वर्षसम्म घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ । दैनिक रूपमा कुटपिट गर्दै आउनुभएको छ । महानगरले विगत दुई महिनादेखि कारबाही गर्न भन्दा पनि यो सरकारले समातेको छैन,” बालेनले लेखेका थिए ।

उनले अगाडि थपेका छन्, ‘‘सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू, सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईंका सांसद रेखा शर्मालाई बालशोषण गरेको मुद्दा समाउन भन्छ ? कहिले समाउने कि नसमाउने ?’’

बालेनको पोष्टपछि सामाजिक सञ्जालमा ‘एमाले भर्सेस बालेन’ देखियो । एमालेको भातृसंगठन अनेरास्ववियूका अध्यक्ष समिक बडाल बालेनको विरोधमा उत्रिए । बालेनले रेखा शर्माको विषयलाई तोडमोड गरेको उनले आरोप लगाए । 

एमाले समर्थकहरू शर्माको पक्षमा र बालेनको विपक्षमा सामाजिक सञ्जालमा उत्रिन थालेपछि बालेनले एउटा अर्को स्टाटस लेखे । मेयर बालेनले सोमबार रेखा शर्माले बालकालिकाको शोषण गरेको भन्दै आफ्नो फेसबुकमा लेखे, “बालिकाले त्यहाँ आएदेखि नै विगत आठ वर्षदेखि आफ्नो जैविक बाबुआमा नभेटेको, घरमा पोछा लगाउने, करेसाबारीमा काम गर्ने, खाना पकाउनेलगायत काम गर्नुपर्ने, केही काम बिगार्दा घरधनी रेखा कुमारी शर्माले लट्ठी र पाइपले पिट्ने गरेको, तेरो मुख जलाइदिन्छु भनी धम्की दिने गरेको भन्ने खुल्न आयो ।”

प्रदेशसभा सदस्य शर्माले नै बालिकाका बुवालाई उक्साएर सर्वोच्च र उच्च अदालतमा रिट हाल्न लगाएको आरोप लगाएका छन् । मेयर बालेनले प्रधानमन्त्री ओलीलाई सुझाव दिँदै लेखेका छन्, “प्रधानमन्त्री खडगप्रसाद ओलीज्यू, तपाईं आफ्ना कार्यकर्ताहरूलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनु होला । पछि यस्तै ज्ञानविहीन भएर देश चलाउने ठाउँमा पुग्दा तपाईंजस्तै अरुको इशारामा चल्ने हुनुपर्ला ।”

सोमबार आएको बालेनको यो पोष्टपछि एमाले समर्थकहरू झनै आक्रोशित भए । यहीबीचमा मंगलबार बालेनको फेसबुकबाट शर्मालाई किन पक्राउ नगरेको भन्दै ओलीलाई प्रश्न गरिएको पोष्ट हट्यो । 

बालेनको सचिवालयका अनुसार, धेरै व्यक्तिले बालेनको उक्त पोष्टलाई ‘रिपोर्ट’ गरेका कारण फेसबुकले पोष्ट हटायो । फेसबुकले विभिन्न दशवटा विकल्पसहित कुनै पनि पोष्टलाई यो गलत छ भनेर उजुरी गर्ने विकल्प दिएको हुन्छ । 

धेरै जनाले रिर्पोट गरेका कारण बालेनको पोष्ट फेसबुकले ‘रिमुभ’ गरेपछि बालेन समर्थकहरू झन् आक्रोशित बने । ‘पोष्ट उडाउने होइन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ,’ मंगलबार साँझ बालेनले फेसबुकमा यो भनाइ पोष्ट गरेपछि सामाजिक सञ्जालमा सुरु भयो ओलीको फेसबुकबाट फलोअर्स घटाउने अभियान ।

फेसबुकमा सक्रिय रहेको मेन्स रुम रिलोडेड (एमआरआर) ग्रुपमा बालेन भर्सेस ओलीको विषयले प्रवेश पायो । त्यसछि यो ग्रुपका सदस्यहरूले सुरु गरे, ‘सोत्तरीकरण ट्रेन्ड’ । 

अर्थात् प्रधानमन्त्री ओलीको ‘फलोअर्स’ घटाउने अभियान । एमआरआर त्यही ग्रुप हो, जसले बालेनलाई चुनावमा सहयोग गरेको थियो । फेसबुकका शर्तहरू उल्लंघन गरेको भन्दै २०७९ कात्तिकमा फेसबुकले यो ग्रुप निस्क्रिय पारेको थियो ।

सामाजिक सञ्जालकै शक्तिको भरमा बालेन चुनाव जित्दै काठमाडौं महानगरको मेयर पदमा निर्वाचित भएको धेरैको विश्लेषण छ । हाल परराष्ट्रमन्त्री रहेकी कांग्रेस नेतृ आरजु राणा देउवाले दुई वर्षअगाडि बालेनलाई रुटिन अफ नेपाल बन्द नामक फेसबुक पेजले सहयोग गरेको भन्दै सामाजिक सञ्जालको शक्तिको उदाहरण देखाएकी थिइन् ।

सामाजिक सञ्जालमा लोकप्रिय रहेका बालेनको ओलीसँग सामाजिक सञ्जालमा ‘बतासे वार’ चलेको यो पहिलो पटक होइन । बालेनले थापाथली किनारका सुकुम्बासी बस्ती हटाउन खोज्दा ओलीले बालेनको कदमको विरोध गरेका थिए । त्यसयता हरेकपटक खोला किनारका बस्तीको सन्दर्भ आउने बित्तिकै बालेन ओलीलक्षित कमेन्ट सामाजिक सञ्जालमा पोस्ट गर्छन् । 

६ जुलाईमा थापाथलीस्थित सुकुम्बासी बस्ती डुबानमा परेपछि बालेनले लेखे, “माननीय केपी ओलीज्यू, आज काठमाडौंमा केही घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे । खोला बस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो । आज एक दिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो ! अनि ठूलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० वर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० वर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?”

बालेन यत्तिमै रोकिएनन्, “काठमाडौंमा लगभग दुई हजार परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईंले पचाउन खोज्नुभएको गिरिबन्धु’मा यस्ता १५ हजार परिवार व्यवस्थापन हुनसक्छ । अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाइ बहुमतसहित । अब यो समस्याको समाधान गर्नुहुनेछ भन्ने आशा लिएको छु ।”

बालेनले भने– गलत भए मलाई समाऊ नभए दोषी 

यतिमात्र होइन गिरीबन्धु टि–स्टेटको जग्गाका विषयमा पनि बालेन सामाजिक सञ्जालबाट ओलीमाथि कटाक्ष गरिरहन्छन् । गिरीबन्धु टि–स्टेटको सन्दर्भ उप्काउँदै बालेनले सामाजिक सञ्जालमा कम्तीमा पनि आधा दर्जन ‘स्टाटस’ लेखेका छन् । 

गिरीबन्धुको विषय कोट्याउँदै बालेनले सामाजिक सञ्जालबाट ओलीमाथि कटाक्ष गरेको एमाले समर्थकलाई स्वीकार्य हुँदैन । त्यसमाथि प्रदेश सांसद रेखा शर्माले बालश्रम शोषण गरेको भन्दै बालेनले ओलीलाई समेत प्रश्न गरी लेखेपछि एमाले समर्थक सामाजिक सञ्जालमा बालेनको पोष्ट रिर्पोट गर्नेतर्फ लागे । बदलामा बालेन समर्थकहरू ओलीको फेसबुक फलोअर्स घटाउने अभियानमा लागे ।

ओली पनि बेला–बेला बालेनलक्षित टिप्पणी गरिरहन्छन् । गत वैशाख २० मा सुकुम्बासीमाथि ज्यादती नगर्न ओलीले बालेनलाई चुनौती दिएका थिए । गत जेठ १९ मा ओलीले बालेनको कार्यशैली अराजक भएको टिप्पणी गरेका थिए । सडक निर्माणको विषयमा महानगर र संघ सरकारबीच कुरा नमिलेपछि बालेनले १२ जेठमा सडक विभागको ढोकामा एक ट्रक धुलो खन्याएका थिए ।

उता, ओलीको फलोअर्स घटाउने ट्रेन्डबारे बालेनको सचिवालयले अनभिज्ञता प्रकट गरेको छ । “सामाजिक सञ्जालमा यो भइरहेको हामीले पनि देखेका छौँ,” सचिवालय स्रोत भन्छ, “तर, यस विषयमा हामीलाई केही थाहा छैन ।”

प्रधानमन्त्री ओलीका फलोअर्स घटिरहँदा मेयर बालेनका फलोअर भने बढिरहेका छन् । यो समाचार तयार पार्दासम्म प्रधानमन्त्री ओलीको फलोअर संख्या ६ लाख ३२ हजारबाट घटेर ५ लाख ९२ हजार पुगिसकेको छ भने मेयर बालेनको फेसबुक फलोअर संख्या २ मिलियनबाट बढेर २.१ मिलियन पुगिसकेको छ । 

मेयर बालेनका समर्थकले फेसबुक ‘फलोअर्स’ घटाउने अभियान चलाएको यो पहिलो पटक होइन । बालेन समर्थकले यसअघि एक अनलाइन न्युज पोर्टलको पनि फलोअर्स र फेसबुक रेटिङ घटाएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu