
काठमाडौं । संघीय निजामती सेवा विधेयक असार १४ गतेसम्मको कार्यसूचीमा परेको छैन । मंगलबारको प्रतिनिधिसभा बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको विधेयक छलफल र पारित गर्ने कार्यसूची थियो । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अवरोधपछि सभामुख देवराज घिमिरे कार्यसूचीमा अघि बढेनन् ।
उक्त विधेयक असार १४ गतेसम्मको क्यालेन्डरमा परेको छैन । सभामुखको सचिवालयले जारी गरेको क्यालेन्डरअनुसार बिहीबारको बैठकमा नेपाल नागरिकता विधेयकसम्बन्धी राज्यव्यवस्था समितिको प्रतिवेदन पेस हुनेछ । जुन, मंगलबारको कार्यसूचीमा थियो । तर, सँगै रहेको निजामती विधेयक भने सम्भावित कार्यसूचीबाट हटाइएको छ । बिहीबार बजेटअन्तर्गत छलफल हुनेछ । असार ६ गते प्रत्यक्ष प्रश्नोत्तर राखिएको छ ।
त्यस्तै, ७, ८, ९, १० र १४ गते प्रतिनिधिसभा बैठक बस्नेगरी सम्भावित क्यालेन्डर तय भएको हो । १० गते विनियोजन विधेयक, १४ गते आर्थिक विधेयक र राष्ट्रऋण उठाउने विधेयक निर्णयार्थ पारितको प्रस्ताव राख्ने सम्भावित क्यालेन्डरमा उल्लेख छ ।
१४ गते नै नागरिकता विधेयक पारितका लागि निणयार्थ प्रस्तुत गरिने उल्लेख छ । तर, निजामती विधेयकमा राखिएको कुलिङ पिरियडको व्यवस्थाको विवादले उक्त विधेयक भने धकेलिएको नेताहरू बताउँछन् ।
निजामती कर्मचारीले अवकाश वा राजीनामा दिए पनि संवैधानिक नियुक्तिका लागि दुई वर्ष पर्खनुपर्ने प्रावधान हटाउन कर्मचारीहरूले दबाब दिइरहेका छन् । यसबारे सोमबारको मन्त्रिपरिषद्को बैठकमा समेत छलफल भएको थियो ।