site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
डा. शर्माको बचाउमा परराष्ट्रमन्त्री, सांसदको प्रश्न– राजदूत सिफारिसमा निर्देशिका किन मिचेको ?

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले डा. शंकरप्रसाद शर्मालाई सरकारले विधिसम्मत् नै भारतका निम्ति राजदूतमा सिफारिस गरेको जिकिर गरेकी छन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको मंगलबारको बैठकमा सांसदहरूले शर्माको सिफारिस राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ विपरीत भएको भन्दै आपत्ति जनाएका थिए । त्यसपछि परराष्ट्रमन्त्री राणा शर्माको बचाउमा उत्रिइन् ।

“एकजनाको पुनर्नियुक्तिभन्दा पनि एउटा सरकारले नियुक्ति गर्‍यो, दोस्रो सरकारले हटायो र तेस्रो सरकारले नियुक्ति गर्‍यो । त्यसमा निर्देशिका हेरेकै हो,’’ उनले भनिन्, ‘‘यो नयाँ नियुक्ति हो भनेर गरेको हो । सरकारी भाषा एकदमै कन्फ्युजिङ हुन्छ, त्यसरी लेखिएको छ । तर, उहाँलाई त्यही नै निरन्तरता दिइएको भने होइन ।”

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा ०७८ कात्तिक ११ गते बसेको मन्त्रिपरिषद् बैठकबाट डा. शर्मालाई भारतका निम्ति राजदूत सिफारिस गरिएको थियो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शर्मालाई ०७८ चैत ६ गते उक्त पदमा नियुक्त गरेकी थिइन् ।

त्यसपछि उनी जिम्मेवारी सम्हाल्न भारत गएका थिए । त्यति बेला सत्ता गठबन्धनबाट कांग्रेस बाहिरियो र नेकपा (एमाले)को प्रवेश भयो । त्यसपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले ०८१ जेठ २४ गते एकसाथ ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो । भारतका निम्ति नेपाली राजदूत डा. शर्मा पनि त्यो सूचीमा परेका थिए ।

उक्त निर्णयको केही दिनमै प्रचण्ड नेतृत्वको सरकारले भारतलगायत आठ देशका निम्ति राजदूत सिफारिस गर्‍यो । सरकारले ०८१ असार ७ गते भारतका निम्ति नेपाली राजदूतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीको नाम सिफारिस गरेको थियो ।

डा. शर्मा फर्कने तयारी गरिरहेका बेला नेपालमा सत्ता गठबन्धनमा फेरबदल भयो । सत्ताबाट माओवादी बाहिरियो, कांग्रेस र एमालेको संयुक्त सरकार बनाइयो ।

गएको असार ३१ गते एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गरियो । लगत्तै डा. शर्मालाई १५ दिन भारतमै रहन आग्रह गरिएको थियो । त्यसपछि साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकबाट डा. शर्मालाई पुनः भारतका निम्ति राजदूत सिफारिस गर्ने निर्णय गरियो ।

राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ मा पुनर्नियुक्ति दिन नमिल्ने स्पष्ट उल्लेख छ । निर्देशिकाको दफा २१ मा भनिएको छ– राजदूतको रूपमा हाल कार्यरत मुलुकमा अर्को पदावधिको निरन्तरता हुने गरी पुनर्नियुक्ति गरिने छैन ।

“उहाँको कार्यदक्षताकै कारण पुनः सिफारिस भएको हो कि जस्तो लाग्छ । उहाँले एकदम राम्रो काम गर्नुभएको छ, अघिल्लो कार्यकालमा । नेपाल र भारतको बीचमा डिजिटल पेमेन्टमा उहाँले एकदमै राम्रो काम गर्नुभएको भन्ने मलाई रिपोर्ट आएको छ । यसैकारण पनि प्रभावकारी मान्छे होला भनेर गरेको,” परराष्ट्रमन्त्री राणाले भनिन् ।

डा. शर्माको बचाउ गर्ने क्रममा उनले निर्देशिका परिमार्जन गर्नुपर्ने समेत बताइन् । उनले भनिन्, “उहाँले नेपाललाई राम्रोसँग प्रतिनिधित्व गर्न सक्नुहुन्छ भन्ने आधारमा नै नियुक्ति भएको जस्तो लाग्छ । निर्देशिका परिमार्जन गर्ने बेला भयो कि भन्ने मलाई पनि लागेको छ ।”

शर्मालाई सिफारिस गरिँदा निर्देशिका मिचिएको विषय समिति सदस्यहरूले चर्को रूपमा उठाएका थिए । त्यसपछि उनले निर्देशिका परिमार्जन गर्नेसम्मको विषय उल्लेख गरिन् ।

“भारतमा राजदूत शंकर शर्मालाई किन आफैँले बनाएको कार्यविधि मिचेर पुनः नियुक्ति गरेको ? आफैँले बनाएको नियमावली मिचेको ?,” समितिका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाप)का सांसद शिशिर खनालले प्रश्न गरेका थिए ।

संसदीय सुनुवाइ समिति बैठकमा डा. शर्माले कार्यविधि परिवर्तन गर्न मन्त्रालयले सक्ने भनी दिएको अभिव्यक्तिप्रति पनि उनले आपत्ति जनाए । “राजदूत नियुक्तिमा यति हलुका उहाँको जवाफ आयो, यसमा सरकारको के छ प्रतिक्रिया ?,” खनालको प्रश्न थियो ।

स्वतन्त्र सांसद प्रभु साहले पनि निर्देशिका मिचेर डा. शर्मालाई पुनर्नियुक्ति गर्ने प्रक्रिया अघि बढाइएको भन्दै असन्तुष्टि जनाए । “के कारणले भारतको राजदूत फिर्ता बोलायौँ र के कारणले उनलाई पुनः त्यहाँ नियुक्ति भयो ? खेलबाड किन गरियो ?,” साहले प्रश्न गरे ।

समितिका अर्का सदस्य एवं नेकपा (एमाले)का सांसद भीम आचार्यले क्षमता नहेरी राजदूतमा सिफारिस गरिएको आरोप लगाए । “राजदूत नियुक्ति रिजल्ट हेर्दा रिटायर्ड जीवन बिताएको देख्छु, नेपालका लागि केही गरेको देख्दिनँ । क्षमता के हो त्यो हेरिएन,” उनले भने ।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १५:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro