site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एसिड आक्रमणको ११ वर्षपछि 'क्षतिपूर्ति', सांसद कंशाकार भन्छिन्– प्रस्ट कानून बनाउनुपर्छ

काठमाडौं । एघार वर्ष पहिले एसिड आक्रमणमा परेकी बिन्दबासिनी कंशाकारलाई सरकारले क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ । ९ वैशाख २०७० मा उनीमाथि एसिड प्रहार भएको थियो । त्यतिखेर कंशाकार १९ वर्षकी थिइन् ।

मकवानपुरको हेटौँडा बजारमा रहेको पसलमा बसिरहेको अवस्थामा उनीमाथि एसिड आक्रमण भएको थियो ।

यसरी भएको थियो एसिड आक्रमण

Dabur Nepal
NIC Asia

९ वैशाख २०७० मा पनि उनी कलेजबाट फर्केर घरको भुइँ तलामा रहेको पसलमा बसेकी थिइन् । उनको परिवारले भाँडा पसल चलाउँथ्यो । पसलमा चिनजानका दिलीपराज केशरी (राज) आइपुगे । केशरीले कंशाकारकी हजुरआमालाई दिनू भनेर सानो बट्टा थमाए । "त्यसपछि उसले बट्टा खोलेर मेरो मुखमा छ्याप्यो," कंशाकारले भनिन् ।

त्यो बट्टामा एसिड थियो । हातमुख सबैतिर असह्य हुने गरी पोल्यो, उनी चिच्याउँदै घरभित्र छिरिन् ।

नेपाल प्रहरीको रेकर्डअनुसार, नेपालमा एसिड आक्रमण भएको यो दोस्रो घटना थियो । त्यसअगाडि २०६३ मा सुनसरीमा सदिना खातुनमाथि एसिड छ्यापिएको थियो ।

एसिडले जलेकी कंशाकारलाई हेटौँडा अस्पतालले प्राथमिक उपचार मात्र गर्न सक्यो । हेटौँडामा उपचार सम्भव नभएपछि कंशाकारलाई काठमाडौं ल्याइयो । काठमाडौंको नेपाल मेडिकल कलेजमा तीन महिनासम्म उनको उपचार चल्यो । उनको उपचार अहिलेसम्म चलिरहेको छ । हरेक ६–६ महिनामा उनी उपचारका लागि भारत जान्छिन् ।

कंशाकारमाथि एसिड छ्यापिएकै दिन कंशाकारका बुबाले प्रहरीमा उजुरी दिएका थिए । तर, आक्रमणकारी भागेर भारत गएपछि प्रहरीले पक्राउ गर्न सकेन । १४ कार्तिम २०७६ मा प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट कंशाकारमाथि एसिड छ्याप्ने केशरीलाई पक्राउ गर्‍यो ।

प्रेम प्रस्ताव अस्वीकार गरेपछि केशरीले कंशाकारमाथि एसिड प्रहार गरेको थिए । "उसले मलाई प्रेम प्रस्ताव राखेको थियो । मैले नाइँ भनेँ," कंशाकार सुनाउँछिन् ।

कंशाकारको उपचारका लागि उनको परिवारले अहिलेसम्म करोडौँ रकम खर्च गरिसकेको छ । कंशाकारका अनुसार, एसिड आक्रमण भएको दिनदेखि आक्रमणकारी पक्राउ पर्दासम्म उनको परिवारको एक करोड १४ लाख ८५ हजार रुपैयाँ खर्च भइसकेको छ । "यो खर्चको सबै बिल हामीले त्यतिखेर अदालतमा बुझाएका छौँ," कंशाकारले भनिन् ।

कति हो कंशाकारले पाउने क्षतिपूर्ति ?

त्यतिखेर एसिड आक्रमणसँग सम्बन्धित कानून थिएन । त्यसैलाई कारण देखाएर मकवानपुर जिल्ला अदालतले केशरीलाई एक लाख रुपैयाँ जरिवाना र आठ वर्ष कैद सजाय सुनायो ।

कंशाकार परिवारले उपचार गर्दा लागेको एक करोड १४ लाख ८५ हजार रुपैयाँ क्षतिपूर्ति पनि माग गरेको थियो । मकवानपुर जिल्ला अदालतले यो रकम सके अपराधीबाट भराउनू, उसले तिर्न नसके नेपाल सरकारले उपलब्ध गराउनू भनेर आदेश दिएको थियो ।

मकवानपुर जिल्ला अदालतका न्यायाधीश कमलराज विष्टले फैसलामा लेखेका थिए, ‘निज प्रतिवादी विदेशी नागरिक हुँदा एवम् निजको बयान एवम् प्रमाणबाट निजले सहजै त्यतिका रकम क्षतिपूर्ति तिर्न सक्ने अवस्था नदेखिँदा, निज प्रतिवादीबाट उक्त रकम भराउन नसकिएमा निज पीडितलाई परेको पीडा र उपचारमा भएको खर्चका सम्बन्धमा मनासिब माफिकको क्षतिपूर्ति रकम नेपाल सरकारबाट स्थापना भएको अपराध पीडित क्षतिपूर्ति राहत कोषबाट भराइदिनू ।"

कंशाकारले यही आदेशअनुसार क्षतिपूर्ति माग्दै विभिन्न ठाउँमा हारगुहार गरिन् । पीडित कोषमा पनि उनी पुगिन् । कोषले उनलाई जवाफ दियो– 'यत्रो ठूलो रकम त हामी तिर्न सक्दैनौँ ।'

२५ वैशाख २०८० मा राष्ट्रिय स्वतन्त्र पार्टीले कंशाकारलाई प्रतिनिधिसभा सदस्य मनोनीत गर्‍यो । प्रतिनिधिसभा सदस्य भइसकेपछि कंशाकारले महिला तथा सामाजिक न्याय समितिमा आफूले क्षतिपूर्ति नपाएको विषय उठाइन् । उनी यस समितिको सदस्य पनि हुन् । "मैले यस विषय समितिमा निवेदन नै पेस गरेकी थिएँ," उनले भनिन् ।

समितिले कानूनमन्त्री र पीडित क्षतिपूर्ति कोषलाई बोलाएरै कंशाकारलाई अदालतले तोकेको क्षतिपूर्ति दिलाउन निर्देशन दियो । त्यही निर्देशन पालना गर्दै सरकारले आज उनलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

सांसद नहुँदासम्म उनलाई अदालतले दिन भनेको क्षतिपूर्ति कहाँबाट लिने भन्ने थाहा थिएन । कंशाकारले भनिन्, "अदालते फैसलामा भने पनि यो क्षतिपूर्ति कहाँबाट लिने थाहा थिएन । कोषले यति ठूलो रकम दिन सक्दिनँ भनिसकेको थियो ।"

अदालतले क्षतिपूर्ति दिन भनिसक्दा पनि सरकारले प्रस्ट कानूनी व्यवस्थाको अभावमा क्षतिपूर्ति दिन ढिला गरेको उनको बुझाइ छ । उनी भन्छिन्, "म पो संसद्‌मा थिएँ, आज थाहा पाएँ । यसभन्दा पहिला त मलाई पनि गाह्रै भएको थियो ।"

उनले क्षतिपूर्तिको विषयमा प्रस्ट कानून बनाउन आफूले संसद्‌मा आवाज उठाउने सुनाइन् । "एसिडको वा कुनै पनि प्रकारको जलको उपचार खर्च निकै महँगो छ," उनले भनिन, "यसको क्षतिपूर्ति पाउने व्यवस्था सहज बनाउन म आवाज उठाइरहेकी छु, अब पनि उठाउँछु ।"

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  २०:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro